काठमाडौं- नेकपा एमालेका सांसद विशाल भट्टराईले संसदमा विनियोजन विधेयकमाथिको छलफल स्थगन हुनुपर्ने माग राखेका छन्। प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै अर्थमन्त्रीको काम र क्रियाकलापमाथि गम्भीरता पूर्वक प्रश्न उठिसकेपछि अर्थमन्त्रीको जवाफ सुन्न र यो विषयमा उनीसँग छलफल गर्न एमाले तयार नरहेको बताए।
उनले संसदको आजको कार्यसूचीको नौ नम्बरमा अर्थ मन्त्रीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची राखेकाले त्यो हटाउनुपर्ने माग गरेका हुन्।
'जब मन्त्रीज्युको काम, क्रियाकलापमाथि यति गम्भीरतापूर्वक प्रश्न उठिसकेपछि नेकपा एमालेका तर्फबाट उहाँका जवाफ सुन्न र छलफल गर्न बिलकुलै तयार छैनौं,' उनले भने, 'आजको कार्यसूचीबाट यो हटाइयोस्। त्यसपछि मात्र हामी अरु मन्त्रालयसँग सम्बन्धित कुरामा बस्छौं। छलफल गर्छौं। त्यसपछि हामी सभामुखको आग्रह स्वीकार्न तयारछौं।'
भट्टराईले धारणा राख्दै गर्दा उठेर विरोध जनाइरहेका एमालेका सांसदहरूले यो विषयमा आफ्नो ध्याकर्षण भएको भन्दै पटक-पटक बसिदिन आग्रह गरेपछि एमालेका सांसदहरूले बसेर छलफलमा भाग लिएका छन्।