काठमाडौं– अव्यवस्थित सडक र सवारीसाधनको अचाक्ली वृद्धिका कारण विगत पाँच वर्षमा १४ हजार १०३ जनाले अकालमा ज्यान गुमाएको तथ्यांक सडक विभागले सार्वजनिक गरेको छ। सवारी दुर्घटनामा परी २७ हजार ८ सय ७० जना गम्भीर घाइते भएका छन् भने तिनमा कति अपांग छन्, तथ्यांकमा खुलाइएको छैन।
सवारीसाधन चलाउँदा सडक अनुशासनको बर्खिलाप गर्ने क्रम बढ्दै जाँदा सवारी दुर्घटनाको संख्या दिनहुँ बढिरहेको विभागले निष्कर्ष निकालेको हो।
पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ स्थायी घर भई काठमाडौं काडाँघारी बस्दै आएकी ३२ वर्षीया सम्झना राई परिवारसँगै तिनकुनेमा होटल व्यवसाय गर्दै आएकी थिइन्। बेलुकी पसल बन्द गरेपछि अन्य दिनझैं तीनकुनेको आप्mनो पसलबाट भाइ तेजन राई र आफन्त पर्ने महिला घर फर्र्किए।
९ बजेतिर सम्झना पठाओमा घर फर्किंदै थिइन्। कोटेश्वरबाट जडीबुटीतर्फ जाने क्रममा उनी सवार बा७१प ३०५४ नम्बरको मोटरसाइकललाई ना५ख २८१९ नम्बरको मिनीट्रकले ठक्कर दियो। दुर्घटनालगत्तै नजिकैको प्रहरी प्रभाग कोटेश्वरको प्रहरी आइपुग्यो। दुवै सवारीसाधन र चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लियो।
यता, परिवारका अन्य सदस्यसँगै पाँच वर्षको बच्चा उनको पखाईमा बसिरहेका थिए। सँगै निस्किएकी दिदी अबेरसम्म घर नफर्किएपछि भाइ खोजीमा जुटे। दुर्घटनास्थलमा राईको अवस्था देखेपछि सडकका धेरै यात्रु अत्तालिए। कानेखुसी गर्दै कतै आफन्त त परेनन् भन्दै त्रसित भए।
त्यही भीडमा कार्यालयबाट स्कुटरमा काँडाघारीको डेरा फर्किंदै गरेकी थिइन्, हेमशिखा लिम्बू। यो सडक खण्डमा पटक–पटक हुने दुर्घटनाबाट त्रसित हुन्छिन्, उनी। लिम्बू त्रसित भावमा भन्छिन्, ‘काठमाडौंमा निजी सवारीबिना काम गर्नै मुस्किल छ। निजी सवारी चलायो बिहान घरबाट सकुशल निस्केको मान्छे घर फर्किने–नफर्किने टुंगो हुन्न।’
सवारीसाधन चलाउँदा सडक अनुशासनको बर्खिलाप गर्ने क्रम बढ्दै जाँदा सवारी दुर्घटनाको संख्या दिनहुँ बढिरहेको विभागले निष्कर्ष निकालेको हो।
संघीय राजधानी काठमाडौं उपत्यकामा सवारी चाप अधिक छ। सवारी चाप बढेको छ, तर सडकको स्तर उही पुरानै।
सोही दिन मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरमा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोरीको ज्यान गयो।
शुक्रबार पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरनी गाउँपालिका–४ मा सडक भासिँदा दुई युवकको ज्यान गयो। सोही दिन जाजरकोट जुनीचाँदे गाउँपालिका–५ मा जिप दुर्घटनामा तीन जनाले ज्यान गुमाए।
केही दिनअघि चितवनमा कार, मोटरसाइकल र ट्यांकर एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गयो। भक्तपुरमा दूध टं्याकरले स्कुटरललाई ठक्कर दिँदा एक युवकले अकालमा ज्यान गुमाउनुपर्यो। गत आइतबार रुपन्देहीको रोहिणी खोलामा रात्रिबस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको थियो। यी हालै घटेका दुर्घटनाका उदाहरण हुन्।
यसरी हेर्दा एक सातामा एक दिन सवारी दुर्घटना नभएको दिनै छैन भने पनि हुन्छ। नेपाल प्रहरीको तथ्यांकले वैशाखमा मात्रै देशभर ३ हजार ३७६ सवारी दुर्घटना भएको देखाउँछ। दुर्घटनामा २६४ जनाले ज्यान गुमाएका छन् भने ६८७ जना गम्भीर घाइते भएका छन्।
तथ्यांकअनुसार सबैभन्दा बढी मधेस प्रदेशमा सवारी दुर्घटना हुने गरेको छ। सबैभन्दा कम दुर्घटना हुने कर्णाली प्रदेशमा पनि वैशाखमा मात्रै १५२ जनाको अकाल मृत्यु सवारी दुर्घटनाकै कारण बन्यो।
आर्थिक वर्ष २०७८–७९ सुरु भएदेखि वैशाखसम्मको तथ्यांकअनुसार ३२ हजार ५४९ सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परेर २ हजार ४०८ को मृत्यु भएको छ भने ६ हजार ६२ जना गम्भीर घाइते भएका छन्।
महानगरीय ट्राफिक महाशाखाको तथ्यांकअनुसार आर्थिक वर्षको वैशाखसम्म १४७ ले सडक दुर्घटनामा परी अकालमा ज्यान गुमाएका छन्। सबैभन्दा सवारी दुर्घटना हुने मधेस प्रदेशमा वैशाखसम्म ५ सय ५ जनाको मृत्यु भएको छ। लुम्बिनी प्रदेशमा ४ सय ४५ र प्रदेश १ मा ४४४ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन्।
यस्तै, बागमती प्रदेशमा ३२८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्। ट्राफिक प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै दुर्घटना गत वर्षको असोज, कात्तिक र मंसिरमा भएका छन्। चालू आव जेठको पूर्ण तथ्यांक संकलन हुन भने बाँकी छ। सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या महिलाको भन्दा पुरुष ६ गुणाले बढी छन्। नेपाल प्रहरीको विगत पाँच वर्षसम्मको तथ्यांकअनुसार सवारी दुर्घटना दोब्बरले बढेको छ।
आर्थिक वर्ष २०७३–७४ मा जम्मा १६ हजार ५१५ सवारी दुर्घटना भएका थिए, जसमा २ हजार ३८४ जनाको ज्यान गएको थियो भने आर्थिक वर्ष २०७७–७८ मा ३३ हजार १३५ दुर्घटना भएका छन् भने त्यसमा परेर ज्यान गुमाउनेको संख्या २ हजार ५०० रहेको छ।
आर्थिक वर्ष २०७८–७९ सुरु भएदेखि वैशाखसम्मको तथ्यांकअनुसार ३२ हजार ५४९ सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परेर २ हजार ४०८ को मृत्यु भएको छ भने ६ हजार ६२ जना गम्भीर घाइते भएका छन्।
ट्राफिकको तथ्यांकलाई आधार मान्ने हो भने आर्थिक वर्ष २०७३–७४ मा कार र जिप दुर्घटना धेरै हुन्थे। तर पछिल्ला वर्षमा मोटरसाइकल र स्कुटर दुर्घटना हुने क्रम ह्वात्तै बढेको देखिन्छ। मोटरसाइकल, स्कुटर, जिप, कार, बस, ट्रक, टं्याकर, टिपर, ट्रयाक्टर, टेम्पो, माइक्रो, डोजर, स्काभेटर धेरै दुर्घटना हुने सवारीसाधनमा परेका छन्।
नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसी भन्छन्, ‘नेपालमा प्रतिवर्ष औषतमा ३० हजार बढी सवारी साधन थपिन्छन्। सवारी साधन बढेसँगै सडक मर्मत, सुधार र विस्तारको काम नहुँदा दुर्घटनाको आँकडा उक्लिन थालेको हो।’
जीर्ण सडक र सडक नियमको पालना नगरिनु र लामो रुटको सवारी एउटै चालकले मात्र चलाउने हुँदा पनि दुर्घटना हुने गरेको केसीको बुझाइ छ।
प्रहरीका अनुसार अनुभव नभएका व्यक्तिले सवारी चलाउने, जीर्ण सडक, ओभर स्पिड, चालकले मादक पदार्थ सेवन गर्नु आदि कारणले पनि सडक दुर्घटना बढाएको हो। सडक विभागले आवश्यकताअनुसार सडकमा संकेत चिह्न वा सूचना नराख्नु दुर्घटनाको कारण भएको प्रहरीको ठम्याइ छ।
सवारी साधनको अनुगमन गर्ने निकाय सडक विभागले सीमित स्रोत–साधनका कारण अव्यवस्थित सडक निर्माणको अवलोकन र नियन्त्रण सोचेजति हुन नसकेको बताउँदै आएको छ।
विभागका महानिर्देशक इन्जिनियर अर्जुनजंग थापा भन्छन्, ‘स्थानीय तहको सरकारको लापर्वाहीका परिणाम हामी सबैले भोगिरहेका छौं। हामीले सबै ठाउँमा तिनले अन्धाधुन्द सडक निर्माण गर्ने कामलाई रोक्न सकेका छैनौं।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेपाल सडक सुरक्षा कार्ययोजना सन् २०१३ देखि २०२० का अनुसार यी तथ्यांकले भौतिक क्षतिको प्रतिनिधित्व गर्न नसक्ने र वास्तविक दुर्घटनाको अभिलेख कम हुने गरेको छ। त्यसमा पनि घाइतेको अभिलेख कम हुने उल्लेख छ।
पुरानो तथ्यांकलाई आधार मानिएर गरिएको सरकारी अध्ययनले नेपालमा हरेक वर्ष १० हजार सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन्, जसमा ट्राफिक दुर्घटना मृत्युदर १७ भन्दा बढी हुने गरेको छ। यो तथ्यांक एसिया र विश्वकै तुलनामा सबैभन्दा धेरै हो।