बैतडी- बैतडीको सूर्नया गाउँपालिकामा चितुवाको त्रास छाएको छ। गाउँपालिकाको वडा नं ८ को ढोले क्षेत्रमा चितुवाले आतङ्क मच्चाएको छ। राति गाउँमा पसेर चितुवाले आक्रमणको प्रयास गर्ने गरेको स्थानीयवासीले बताए।
चितुवाले बथानसहित गाउँमा पसेर आतङ्क मच्चाएको स्थानीय तेजन बोहराले बताए। रातिको समयमा चितुवा गाउँमा पस्न थालेपछि स्थानीय जाग्राम बस्न थालेका छन्।
चितुवाबाट घरपालुवा जनावर जोगाउन रातिको समयमा पहरा दिनुपर्ने अवस्था आएको छ। गोठबाटै खसीबाख्रा चितुवाले आक्रमण गरेर लैजान थालेपछि गाउँमा त्रास फैलिएको बोहराले बताए।
स्थानीय प्रजापति मडैका अनुसार चितुवाले दुई महिनाको अवधिमा दुई दर्जनभन्दा खसीबाख्रा खाइसकेको छ।