काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले तत्काल वाम एकता र सहकार्यको सम्भावना नरहेको बताएका छन्। सोमबार बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकका निर्णयबारे जानकारी दिँदै ज्ञवालीले तत्काल वामपन्थी दलहरूबीच एकता सम्भव नभएको बताएका हुन्।
'नेकपा एमाले मूलत: बलियो राष्ट्रिय शक्तिका रूपमा थप सुदृढ बनाउने अभियानमा छ। यसमा वामपन्थी र अरू दलहरू पनि एजेन्डाका रूपमा जोडिन सक्छन्। निर्वाचनअगाडि तत्काल एकता र सहकार्य हुने सम्भावना छैन,' उनले भने।
एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीचको भेटवार्ता मुलुकको पछिल्लो राजनीतिक अवस्थामा केन्द्रित रहेको उपमहासचिव ज्ञवालीको भनाइ थियो। 'हाम्रो विभिन्न दलहरूमाथि इस्युबेस्ड समर्थन र आलोचना हो। मुलुकका सामु देखिएका केही निश्चित मुद्दामा छलफल गरिरहेका छौँ। तत्काल वामपन्थी तालमेल र गठबन्धनको सम्भावना छैन,' उनले भने।
त्यस्तै एमालेले कसैलाई पनि प्रधानमन्त्रीको अफर नगरेको ज्ञवालीको भनाइ छ। 'हामीले कसैलाई प्रधानमन्त्री अफर गरेका छैनौँ । नेकपा एमाले अहिले कसैलाई प्रधानमन्त्री अफर गर्ने मूडमा छैन, अफर गर्न चाहँदैन आवश्यक ठान्दैन,' ज्ञवालीले थपे, 'यो नेपाली कांग्रेससँग बार्गेनिङ बढाउने कुरा मात्र हो। चुनावमा ५० प्रतिशत सिट दिने कि नदिने भनेर बार्गेनिङ बढाउने सुनियोजित प्रचारबाजी मात्रै हो। एमाले यस्ता धन्दामा छैन।'