काठमाडौं– किसानलाई रासायनिक मल उपलब्ध गराउन सबै उपाय अपनाउन र अविलम्ब मल उपलब्ध गराउन प्रतिनिधिसभाले सरकारलाई निर्देशन दिएको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकले सर्वसम्मतिबाट सरकारलाई यस्तो निर्देशन दिएको हो। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईलगायत सांसदले दर्ता गराएको स्थगन प्रस्तावमाथिको छलफल र कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले दिएको जवाफपछि उक्त विशेष प्रस्तावका रूपमा निर्देशन पारित भएको हो।
सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिने क्रममा भने, ‘रासायनिक मल कृषि उत्पादन वृद्धिको लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीको रुपमा रहेको धान बाली लगाउने समयमा समेत रासायनिक मल उपलब्ध नभएको विषयमा यस सदनको गम्भीर ध्यानाकर्षण भएको छ। कुल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहज रुपमा उपलव्ध गराउनका लागि सम्भाव्य सबै उपाय अवलम्बन गरी कार्यसम्पादन गर्न प्रतिनिधिसभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ।’
सभामुख सापकोटाले सांसद भटृराईसमेतले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७८ बमोजिम दर्ता गरेको अत्यन्त जरुरी सार्वजनिक महत्वको स्थगन प्रस्तावमा ४८ सांसदले सहभागिता जनाएको पनि जानकारी दिए । सांसदहरूले छलफलका क्रममा उठाएका प्रश्न र मन्त्रीले दिएको जवाफका आधारमा प्रतिनिधिसभाले उक्त निर्देशन दिएको हो।