२१ महिनाका दूधे बालक 'रिहान' छटपटाइरहन्छन्। छोरा रिहानलाई बोतलको पाउडर दूध खुवाउन कोसिस गरिरहेकी थिइन्, १९ वर्षीय आमा निहारिका। तर रिहान बोतल फाल्दै रोइरहन्छन्, आमा निहारिका फकाउन प्रयास गर्छिन्।
थकित स्वरमा बोलिन्- पहिलो दिन माइतीघर मण्डलमा अनशन बस्दा प्रहरीले मेरो बच्चालाई दुई-तीन झापड हान्यो। त्यो दिनदेखि मेरो बच्चाले केही खान मान्दैन। ज्वरो आएको छ।’
छोराको अवस्थाबारे कमजोर भएको बताइरहेकी निहारिका स्वयंको स्वास्थ्य अवस्था पनि खस्कँदै गएको छ। अनुहारमा कोतारिएको दाग प्रष्ट देखिन्छ। शरीरका ठाँउठाँउमा प्रहरीको प्रहारबाट बसेको दाग अझै मेटिएको छैन।
'मलाई पक्राउ गर्ने क्रममा मेरो छोरो खोसे। त्यस दिनदेखि छोरा डराइरहन्छ। मेरो शरीर पनि गलेको छ। म बोल्न सकिरहेकी छैन। कृपया जस्मिन दिदीसँग कुरा गर्नुस् है,' कुराकानी गर्न पुगेकाहरूलाई निहारिकाले आग्रह गरिन्।
उनी यति बोल्दै गर्दा पनि छोरा रिहान बालकलह गरिरहेका थिए। उनलाई भुल्याउन राष्ट्रिय मानव अधिकार आयोगका महिला कर्मचारीले अनशनका लागि बनाइएको पालबाहिर निकाले। उनको अवस्था देखेर महिला पत्रकार र अधिकारकर्मीले छोरा रिहानलाई डाइपर र दूध किनेर ल्याइदिए। 'न्याय नपाएपछि म त्यहाँ (गृहजिल्ला धनुषा) मर्नुभन्दा काठमाडौंमा मर्न तयार भएर आएकी छु,' उनले भनिन्।
न्यायका लागि माइतीघरमा अनशन बसेको दिनमै उनीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि उनलाई अनामनगर लगियो। नियन्त्रण लिने क्रममा बच्चालाई प्रहरीले कुटपिट गरेको र आमाबाट छुट्याएर भ्यानमा फ्याँकिदिएको उनको गुनासो छ। त्यसले बालकको मनोविज्ञानमा गम्भीर असर परेको उनको भनाइ छ।
नियन्त्रणमा लिएपछि प्रहरीले राती १ बजे 'जहाँ जानु छ, जानू' भन्दै छोडिदिएको थियो। आगामी दिनमा माइतीघर मण्डलामा धर्ना नदिन प्रहरीले उनलाई चेतावनी दियो। यसपछि उनको अनशन बसन्तपुर डबलीमा सरेको छ।
000
१७ वर्षको उमेरमा जनकपुरका शिवराज श्रेष्ठ नामक युवकले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको निहारिकाको आरोप छ। बलात्कारपछि कोखमा गर्भ रह्यो। आफ्नै साथीले बोलाएकाले गएको बेला साथीका दाजुले नशालु पदार्थको सेवन गरेर आफूमाथि बलात्कार आरोप उनको छ।
आफू बलात्कृत भएको १४ दिनमा उनी पुलिस केस गर्न गएकी थिइनन्। तर त्यसपछि डेढ महिनामा मात्र केस दर्ता भयो। उजुरी हाल्न जाँदा महिला सेलका महिला अधिकारीलाई सब कुरा बताए पनि आफनो कुरा सुनुवाई नभएको उनको दाबी छ, 'तिम्रो बलात्कार भयो त हामी के गरौँ? भनेर मलाई फर्काइदिनु भयो।’
जनकपुरमा उनले आफ्नो न्यायका लागि संघसंस्थाको ढोका ढकढक्याइन्। तर उनले अपेक्षाअनुसार कहीँबाट पनि सहयोग पाइनन्। अनेक हन्डर ठक्कर खाएपछि बल्ल उनी राष्ट्रिय महिला आयोगसम्म पुगेकी हुन्।
सुरुमा आयोगमा फोन गरेकी आयोगले उनलाई काठमाडौं बोलायो। काठमाडौं आएकी उनले त्यहाँ पनि अपेक्षाअनुसारको सेवा पाइनन्। न्याय पाउने कुरै भएन। 'आयोगका कर्मचारीले पुलिसको केस रहेछ। हामीले तत्काल केही गर्न मिल्दैन भन्नुभयो। म निराश भएर फर्किन बाध्य भए,' उनले विगत सम्झिन्।
न्याय माग्दै जाँदा प्रत्येक ठाउँमा ठेस लागेपनि आफ्नो लक्ष्यमा उनी दृढ थिइन्। राष्ट्रिय मानव अधिकार आयोग र ओरेक नेपालमा समेत आफू अन्यायमा परेको कुरा सुनाउन पुगिन्। ती दुवै ठाउँमा लामो समयसम्म पनि आफूलाई कुनै प्रतिक्रिया नै नगरेको उनको दाबी छ। बलात्कारमा परेको १४ दिनपछि सुरु भएको उनी गर्भवती अवस्थामा पटकपटक काठमाडौं धाइन्। तर न्याय पाइनन्।