काठमाडौं- नयाँ दिल्ली हुँदै बिहीबार दिउँसो १२:३० बजे काठमाडौं ओर्लिएका अमेरिकी सेनाका इण्डो-प्यासिफिक सैनिक कमाण्डर जनरल चार्ल्स ए फ्लिन करिब ८१ घण्टाको नेपाल भ्रमण सकेर आइतबार ९:०० बजे स्वदेश फिर्ता भएका छन्। प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा नेपाल आएका जनरल फ्लिनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति शर्मासँग द्विपक्षीय भेटवार्ता गरेका थिए।
उनले नेपालमा रहँदा हेलिकप्टरबाट माउन्टेन फ्लाइट गर्नेदेखि पाँचखालको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेका छन्। उनले अमेरिकाले नेपाली सेनासँगको सहकार्यलाई बढाउन चाहेको र इन्डो प्यासिफिक क्षेत्रमा नेपालसँग सहकार्य गर्न चाहेको र मानवीय सहायता तथा विपद् व्यवस्थापनमा अमेरिकाको सहयोगलाई वृद्धि गर्न चाहेको कुरा व्यक्त गरेका थिए।
कहिले के-के गरे?
बिहीबार : नयाँ दिल्लीबाट काठमाडौं ल्यान्ड
चार दिने भारत भ्रमण सकेर बिहीबार दिउँसो २:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका फ्लिनलाई नेपाली सेनाका उच्च अधिकारीले स्वागत गरेका थिए।नेपाल आउनुअघि उनले बिहीबारै बिहान कोलकातास्थित भारतीय सेनाको पूर्वी कमान्डको अवलोकन भ्रमण गरेका थिए।

अमेरिकी सेनाको विशेष विमानबाट नेपाल ओर्लिएका फ्लिनको यस भ्रमणलाई नेपाली सेनाले 'सद्भावना भ्रमण' भएको बताएको छ। बिहीबार उनी नेपाल आइपुगे पनि उनले आफ्नो भेटवार्तालाई भने शुक्रबारबाट मात्रै अघि बढाएका हुन्।
शुक्रबार : उच्चस्तरीय भेटवार्ता
जनरल फ्लिनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता गरेका हुन्। भेटवार्तामा नेपाल-अमेरिका सुरक्षा सहकार्य तथा द्विपक्षीय हित र मानवीय सहायता तथा विपद् व्यवस्थापनलगायतका विषयमा छलफल भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको थियो।
त्यस अवसरमा फ्लिनले राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा पनि गरेका थिए। भेटमा नेपालस्थित अमेरिकी दूतावासका उपप्रमुख म्यानुअल मिकलर पनि सहभागी थिए।
प्रधानमन्त्री देउवालाई भेटेलगत्तै फ्लिन राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका हुन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका थिए। नेपाली सेनाकी परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीसँगको भेटमा जनरल फ्लिनले नेपाली सेनाका प्रधानसेनापतिको अमेरिका भ्रमणको पूर्वतयारीका लागि आएको जानकारी गराएको राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टीका ढकालले बताएका छन्।
-1654856211.jpg?p=1200&s=4ba242376ea36b8b473aea9c14ef551f)
उनका अनुसार राष्ट्रपति भण्डारीले नेपाल शान्तिको पक्षमा रहेको तथा शान्तिका अग्रदूत गौतम बुद्ध नेपालमा जन्मेको अवगत गराउँदै नेपाली सेनाले विश्व शान्ति स्थापना कार्यमा काम गरिरहेको बताएकी थिइन्।
उनलाई शुक्रबार दिउँसो नै सैनिक मुख्यालय जंगी अड्डा भ्रमण गरेका हुन्। उनलाई नेपाली सेनाले जंगी अड्डा परिसरमा सम्मानगारत अर्पण गरेको छ। यस्तै नेपाली सेनाको अपरेशनल गतिविधिका बारेमा प्रस्तुतीकरण गरेको थियो। शुक्रबार नै चार्ल्स ए फ्लिन र प्रधान सेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको हो।
प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको थियो। शुक्रबार बेलुका नै जनरल फ्लिन प्रधानसेनापति शर्माले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए।
शनिबार : हिमालको दृश्यावलोकन गर्न 'माउन्टेन फ्लाइट'
चारदिने औपचारिक भ्रमणको तेस्रो दिन जनरल फ्लिन शनिबार हिमाल दृश्यावलोकनका लागि माउन्टेन फ्लाइटमा सहभागी भएका थिए। शनिबार बिहान हिमालतर्फ लागेका उनी दिउँसो फर्किएपछि काठमाडौंको कान्तिपथस्थित फोरा दरबारमा अमेरिकी दूतावासले आयोजना गरेको अन्तरक्रियामा सहभागी भएका थिए।
उक्त कार्यक्रममा जनरल फ्लिनले अमेरिकाका लागि इन्डो प्यासिफिक क्षेत्र महत्वपूर्ण रहेको उल्लेख गर्दै यस क्षेत्रको शान्ति, स्थिरता र समृद्धिका लागि अमेरिकी सेनाले नेपाल लगायत मुलुकसँग सहकार्य गर्न चाहेको बताएका थिए। प्रतिस्पर्धी चीनलाई काउन्टर दिन अमेरिकाले इन्डो प्यासिफिक क्षेत्रका भारत लगायत मुलुकसँग रणनीतिक सम्बन्ध विस्तार गर्दै आएको अवस्थामा नेपाल आएर पनि उनले इन्डो प्यासिफिक क्षेत्रमा नेपालसँग सहकार्य गर्न चाहेको बताएका हुन्।
आइतबार : सैन्य तालिम केन्द्रको अवलोकन
आफ्नो नेपाल भ्रमणको अन्तिम दिन अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डर फ्लिनले आइतबार नेपाली सेनाका दुई कार्यालयमा पुगे। उनले शनिबार पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेको हुन्। नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका केन्द्रपति सहायक रथी सन्तोष बल्लव पौडेलले फ्लिनसहितको भ्रमण टोलीलाई तालिम केन्द्रको बारेमा जानकारी गराएका थिए।

भ्रमण दलले शान्ति स्थापना कार्यको दौरान आवश्यक पर्ने विभिन्न प्रदर्शनीको अवलोकन समेत गरेका थिए। पाँचखालबाट टोली शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा पुगेको थियो। त्यहाँ फ्लिनले कलेजका शिक्षाध्यक्षसँग भेटघाट तथा तालिमरत शिक्षार्थी अधिकृतहरुसँग अन्तरक्रिया गरेका थिए।
फ्लिनले कलेज परिसरमा वृक्षारोपण समेत गरेका छन्। कलेजमा सम्बोधन गर्दै फ्लिनले नेपाली सेनाको प्रशंसा गर्दै भरपर्दो जमिनी शक्ति भएको बताएका थिए। उनले भनेका थिए, 'नेपाली सेना संसारकै पूराना सेनाहरुमध्ये एक हो।' उनले पाँचखाल र शिवपुरीको भ्रमणपछि शनिबार राति ९ बजे स्वदेश फिर्ता भएका हुन्।
७५ औं वर्षगाँठमा नेपाल-अमेरिका भ्रमण आदानप्रदान
नेपाल-अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औं वर्षगाँठको अवसरमा नेपालमा अमेरिकी प्रतिनिधहरुको भ्रमण बाक्लिएको छ। नेपालबाट पनि प्रधानसेनापतिको अमेरिका भ्रमण तय भएको छ भने प्रधानमन्त्री शेरबहादुर देउवाले पनि अमेरिका भ्रमण गर्ने तयारी भइरहेको छ।
यसअघि वैशाख अन्तिम साता अमेरिकी सेनाको नेसनल गार्डका वरिष्ठ अधिकारी माइकल जे टर्लीले नेपाल भ्रमण गरेका थिए। उनले जंगी अड्डास्थित प्रधान सेनापतिको कार्यकक्षमा प्रधानसेनापति शर्मासँगको भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल गरेका थिए।

यसअघि जेठ पहिलो साता अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले नेपाल भ्रमण गरेकी थिइन्। वैशाखको ९ देखि ११ सम्म सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा ५ सदस्यीय सांसदहरूको टोलीले नेपालको भ्रमण गरेको थियो।
वैशाख ६ देखि ८ सम्म दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङले नेपालको भ्रमण गरेकी थिइन्। त्यसअघि नेपालले फागुन १५ मा एमसीसी अनुमोदन गर्नु अघि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेश मन्त्री डोनाल्ड लुले नेपालको भ्रमण गरेका थिए।