धनगढी- प्रदेश ७ को स्थायी राजधानी र नामाकरणको टुंगो लगाउन गठित विशेष समितिले दोस्रो पटक थपिएको समयावधी भित्र पनि प्रतिवेदन बुझाउन सकेन । पछिल्लो पटक एक हप्ताका लागि थपिएको समय पनि आइतबार सकिएको छ ।
सुझाव समितिका संयोजक प्रदेश सांसद तारा लामा तामाङले जिम्मेवारी पाएको एक हप्ताको समय पुरै काठमाडौंमा गएर बिताएका थिए । उनी एक हप्ताको समय धनगढीमै बिताएर नेताको सुझाव लिन पुनः काठमाण्डौ गएका छन् । केन्द्रिय नेताहरुको सुझाव लिन यस अघि करिव एक हप्ता काठमाडौंमै बिताएका तामाङले केहि सांसदहरुको सुझाव लिन बाँकी रहेकाले आफू काठमाडौं गएको प्रतिक्रिया दिए ।
भीम रावल, लेखराज भट्ट लगायतका नेताहरुको चाहाना अनुसार नै प्रदेशको स्थायी राजधानी तोकिने भन्ने बारेमा जनस्तरमा कुरा चलिरहेकै बेला संयोजक तामाङ पटक–पटक काठमाडौं धाउनाले उक्त कुरामा थप बल पुगेको छ ।
स्थायी राजधानी र नामाकरणको टुंगो लगाउने जस्तो महत्वपूर्ण बिषयमा सुझाव दिने बिशेष समितिको संयोजकको जिम्मेवारी पाएका तामाङले यस पटक आफू पार्टीको कामले काठमाडा गएको बताए । ‘अघिल्लो पटक सुझाव लिन बाँकी सांसदहरुसँग सुझाव लिने काम पनि हो तर खासमा पार्टी एकीकरणको शिलशिलामा काठमाडांै आएको हु’ तामाङले भने–‘धनगढीमा हल्ला चले जस्तो कुरा भने सहि होइन ।’
अहिलेको सूचना प्रविधिको युगमा केन्द्रिय नेताहरुको सल्लाह लिनकै लागि काठमाडौं आउनु नपर्ने उनले सुनाए । स्थान र नामाकरण बारे सुझाव संकलनको काम लगभग अन्तिम चरणमा पुगेको सुनाउँदै तामाङले निष्कर्ष निकाल्ने काम मात्रै बाँकी रहेको प्रतिक्रिया दिए । ‘भरसख समितिले दिएको सुझाव सर्वसमितिले स्वीकृत होस् भन्ने हाम्रो चाहाना हो’ तामाङले भने–‘सबैलाई पायक पर्ने, राम्रो र सजिलो ठाउँमा राजधानी र सबैले स्वीकार्ने खालको नाम प्रस्ताव गर्ने तयारीमा समिति लागेको छ ।’
राजपाकी सांसद मालामती रानाले पनि प्रदेशको राजधानी केन्द्रिय नेताहरुकै चाहानामा हुने बताईन् । प्रदेशमै व्यापक छलफल र बहस हुनुपर्नेमा संयोजक एक्लै पटक–पटककाठमाडौं जानुले पनि त्यहि कुरालाई पुष्टि गरेको उनको भनाई छ ।
सुझाव समितिकी सदस्य सांसद चुनकुमारी चौधरीले प्रदेशको राजधानी तोक्ने र नामाकरण गर्ने काम क्षणिक समयका लागि नभएर युगौयुगसम्म रहने भएकाले समितिलाई तयारीका लागि दिने समयमा कञ्जुसाई गर्न नहुने बताईन् । बिभिन्न क्षेत्रबाट फरक–फरक सुझाव आएकाले समितिलाई प्रतिवेदन तयार गर्न केहि समय लागेको भन्दै उनले सबै जातजाती भाषाभाषी क्षेत्र भूूगोलका मानिसको बसोबास रहेको प्रदेश भएकाले सबैको भावना समेटिनेगरी प्रतिवेदन तयार हुने बताईन् ।
दशरथ चन्द बनाउन माग
प्रदेश ७ को राजधानी तथा नामाङ्करणका लागी प्रदेशसभाले सुझाव संकलन समिति गठन गरेसंगै राजधानी र नामाङ्करणका लागी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने क्रमपनि बढेको छ ।
डोटीका जनप्रतिनिधीले दिपायल राजधानीको माग गरिरहँदा बैतडीका जनप्रतिनिधीहरुले भने शहिदको नामबाट प्रदेश ७ को नाम राख्न माग गरेका छन् । देश र जनताका लागि बलिदान दिने प्रदेश ७ का ज्येष्ठ शहिद दशरथ चन्द भएकाले प्रदेशको नाम दशरथ चन्दनै राख्न बैतडीका जनप्रतिनिधिहरुले माग गरेका छन् ।
बैतडीबाट आएको स्थानीय तहका जनप्रतिनिधीको टोलीले भौतिक पुर्वाधार बिकास मन्त्री पठान सिहं बोहरा लगायत प्रदेशसभा सदस्यहरुलाई प्रदेशको नाम दशरथचन्द राख्नुपर्ने भन्दै सोमबार ज्ञापनपत्र बुझाएका छन् । बैतडीका स्थानीय तहका प्रमख उप प्रमुख सहितको टोलीले मुख्यमन्त्रीको अनुपस्थितीमा भौतिक पुर्वाधार मन्त्रीलाई नामाङ्करणका लागि ज्ञापनपत्र बुझाएका हुन् ।
भूगोललाई आधार मान्दा उपयुक्त
थारु इतिहासकार तथा पूर्व राज्यमन्त्री महेश चौधरीले प्रदेश ७ को राजधानी भूगोलको आधारमा बनाउन सबैभन्दा उपयुक्त हुने सुझाब दिएका छन् ।
सोमबार धनगढीमा थारु नागरिक समाजले आयोजना गरेको थारु अगुवाहरुसँगको छलफलमा उनले राजधानी दिपायल राखे तराईलगायत पहाडी जिल्लालाई पायक पर्ने बताए । उनले राजधानी सबैले पायक पर्ने ठाँउमा हुनुपर्ने पनि बताए । राजधानी पहाड भए पहाडको भौतिक विकाससंगै मानविय विकसमा टेवा पुग्ने तर्क दिँदै उनले प्रदेश ७ को राजधानी पहाड तिर राख्न उपयुक्त हुनेमा जोड दिए ।
छलफल कार्यक्रममा उनले थारुहरुको इतिहासको बारेमा जानकारी दिँदै उनले आदिमकालमा थारुहरुले तराई जोगाए तर राज्यले मधेशको संज्ञा दिएको भन्दै आपत्ति जनाए । छलफल कार्यक्रममा थारु अगुवा, भल्मन्सा, बुद्धिजिबी पत्रकारहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४