काठमाडौं- हाइटेन्सन तारमा हिँडिरहेका प्रेम विकको उद्धार भएको छ। नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको नुवाकोट प्रहरीले जानकारी दिएको हो। उनलाई सेनाको हेलिकोप्टरले उद्धार गरेपछि प्रहरीलाई जिम्मा लगाएको थियो। उनलाई आफन्तको जिम्मा लगाउने तयारी प्रहरीले गरिरहेको छ।
ककनी छिचोलेर लिखु पुगेका थिए
करिब १० घण्टादेखि बिजुलीको हाइ भोल्टेज प्रवाह हुने तारमा रहेका प्रेमबहादुर विक प्रसारण लाइनको हाइटेन्सन तारैतार हिँडेर प्रेम विक नुवाकोटको ककनी गाउँपालिका छिचोलेर लिखु गाउँपालिका पुगेका थिए। ककनी-७ बाट हाइटेन्सन पोलबाट चढेर हाइटेन्सन तारसम्म पहुँच बनाएका प्रेम लिखु गाउँपालिकासम्म पुगेको स्थानीय बताएका हुन्। उनी गाउँपालिकाहरूको सीमाना नजिकैको पोलबाट चढेका थिए। बिहान १० बजे बिजुलीको पोलमा चढेर तारैतार यात्रा थालेका उनले दिनभर सबैको ध्यान खिचेका थिए। यसले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमको ध्यान खिचेको थियो।
१ करोड घाटा
प्रेम पोलमा चढेपछि नेपाल विद्युत प्राधिकरणले त्रिशुली-३ए को उत्पादन नै बन्द गरेको थियो। उत्पादन बन्द हुँदा देशका विभिन्न स्थानको विद्युत आपूर्ति बन्द भएको प्राधिकरणले जानकारी दिएको छ। यसका साथै प्रतिघण्टा १० लाख घाटा भएको बताइएको छ। १० घण्टामा करिब १ करोड रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणको भनाइ छ। प्रेमबहादुर बिक शनिबार बिहान १० बजेदेखि साँझ सवा ७ बजेसम्म बिजुलीको तारमा थिए। प्रसारण लाइनमा गएर उनले तार हल्लाउने र हिँड्ने गरेका थिए। उनी चढेका कारण ६० मेगावाटको त्रिशुली थ्री-ए आयोजना नै बन्द गरिएको थियो। ती व्यक्ति चढेको पोलमा त्रिशुली थ्री–ए आयोजनाबाट काठमाडौंमा विद्युत ल्याइएको २२० केभी प्रसारण लाइन जडान भएको उक्त प्रसारण लाइनमा डबल सर्किट थियो।
फकाउने प्रयास विफल
प्रेमबहादुर शनिबार बिहान ककनीको चतुराले भन्ने ठाउँबाट विद्युतको पोलमा चढेपछि स्थानीयले उनलाई विभिन्न प्रलोभन देखाएर फकाउन प्रयास गरेका थिए। तर उनले कसैलाई विश्वास गरेनन्। ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार उनी पोलमा चढेपछि प्रसारण लाइन बन्द गर्न लगाइएको थियो।
'बिहान १० बजेतिर पोलमा चढिरहेको देखेपछि विद्युत प्रसारण बन्द गर्न लगाएका थियौं। अहिलेसम्म विद्युत अवरुद्ध भएको छ। उनलाई बियर, मासु र पैसा दिएर फकाउने प्रयास गरेका थियौँ। तर मानेनन्।'
पैसा मासु र मदिरा देखाएपछि आधा पोलसम्म ओर्लिए पनि फेरि माथि नै उक्लिएको गाउँपालिका अध्यक्ष तामाङले बताए। उनले थपे, 'मासु, पैसा र रक्सी देखाएपछि आधाबाटोसम्म आए। तर, उल्टै आधा पोलसम्म पुगेर तिमीहरुले आफ्नै छोराछोरीलाई पाल्न सकेका छैनौं, मलाई के दिन्थ्यौं भनेर फेरि फर्किए।'
प्रकाशित: Jun 11, 2022| 19:36 शनिबार, जेठ २८, २०७९