काठमाडौं। यतिबेला कतै दशैंको रौनक छ, कतै सुनसान छ त कतै मिलनको खुसी र विछोडको पीडा। कतै परदेशिएका आफन्त घर फर्किरहेका छन् भने कतै आफ्नै थातथलो छाडेर परदेशिने यात्रामा छन्। कतिका घरआँगन दशैंको स्वागतमा सिँगारिएका छन् भने कतिका घरआँगन गत भदौ १० गतेको भोटेकोशी बाढीले बगाएर उराठलाग्दो बगर बनेका छन्।
दशैंको रौनकले गाउँबस्ती छपक्कै छोपेका बेला गोरखाको पालुङटार नगरपालिका–५ को परिवेश भने फरक छ। यहाँ विगतका वर्षमाझैं दशैंको चहलपहल छैन, न त आफन्त भेटघाटको उल्लास नै। गाउँमा दशैं त आएको छ तर त्यसको कुनै रौनक छैन। विगतमा खुसी र उमङ्ग लिएर भित्रिने दशैं यस वर्ष पीडा बोकेर आएको छ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले यहाँका ३० जना छिमेकीलाई एकै पटक बेपत्ता बनायो। त्यसपछि गाउँको खुसी पनि त्यही बाढीसँगै बगे जस्तै भएको छ। कतिका आफन्तको न लाश भेटियो, न श्वास। आफन्तले कुशको प्रतिमा बनाएर काजकिरिया समेत गरिसकेका छन्।
गत भदौ १० गते बिहान करिब ४ः३० बजे पालुङटार नगरपालिका–५ बाट ३६ यात्रु बोकेको पृथ्वी यातायातको ग२ख ११५२ नम्बरको बस रसुवाको गोसाइँकुण्ड यात्राका लागि निस्किएको थियो। धार्मिक यात्रामा निस्किएका ती यात्रुका परिवारले आफ्ना मान्छे सकुशल फर्किने अपेक्षा गरेका थिए। तर, भोटेकोशीमा आएको बाढीले ३० जनाको जीवनयात्रा टुङ्ग्याइदियो।
गाउँका ३६ जनालाई सुरक्षित यात्रामा लैजाने लक्ष्यसहित हिँडेका चालक सागर देवकोटा आफै पनि सकुशल रहन पाएनन्। त्यस दिनदेखि भावविह्वल बनेका उनका बुबा टीकाराम देवकोटालाई दशैंले झन् पीडा थपेको छ। टीकारामले छोरा मात्रै होइन, श्रीमती राममाया देवकोटालाई पनि गुमाए।
“हाम्रो त्यही एउटा गाडी थियो। छोरा आफैले चलाउँथ्यो। त्यस दिन बिहानै हिँडेको छोरा र श्रीमतीलाई पनि बाढीले बगायो। अरू आफन्त पनि मैले गुमाएँ,” टीकारामले भने, “यो दशैं सुरु भएदेखि नै विगतका सम्झनाले झन् झस्काउँछ। अरूका घरमा रमझम छ, हाम्रो घरमा तनाव छ। कहिले सकिएला जस्तो लाग्छ।”
अहिले घरमा ८० वर्ष नाघेका बुबा, सुस्त मनस्थितिकी एउटी छोरी, बुहारी र पाँच वर्षीया नातिनी छन्। छोराकै भरमा परिवारको खर्च चल्थ्यो। अहिले कसरी जीवन चलाउने भन्ने अनिश्चितता छ।
एउटै डोकोमा सुख–दुःख बुन्दै जीवनका हरेक उतारचढावमा सँगै हिँडेका बुबा रामहरि र आमा कमला भोटेकोशी बाढीमा परेदेखि छोरा सागर देवकोटाका आँखा ओभाएका छैनन्। परदेशबाट कहिले दशैं आउला र बुबा–आमासँगै चाड मनाउन गाउँ जान पाइएला भनेर हतारिने सागरले अब कहिल्यै पनि बुबाआमाको हातबाट टीका लगाउन पाउने छैनन्।
आमाले रातो माटोले घर पोतेर सजाएपछि र बुबाले दशैंका लागि खसीको जोहो गरेपछि दशैं आएको महसुस गर्ने सागरका लागि अब बुबाआमाको साथ छैन। उनीसँग सम्झना मात्रै बाँकी छ। बुबाआमा अब फर्केर आउँदैनन् भन्ने यथार्थ पत्याउन पनि उनको मन मानिरहेको छैन। अझै बुबाआमा फर्केर आइहाल्नु हुन्छ कि भन्ने झल्कोले उनलाई सताउन छाडेको छैन।
“जीवनभर एकअर्काको छहारी बनेर बाँच्नु भएका बुबाआमाले जाँदा पनि कसैलाई एक्लै छाड्न रुचाउनु भएन। जिउँदा पनि सँगै, मर्दा पनि सँगै भन्ने बोलीलाई उहाँहरूले आफ्नै जीवनको अन्तिम सत्य बनाइदिनु भयो,” उनले सामाजिक सञ्जालमा लेखेका छन्। उनको यो भावुक अभिव्यक्तिले जोकोहीको मन भारी बनाउँछ।
एउटै आँगनमा हुर्किएको माया, एउटै चुलोमा पाकेको सम्बन्ध र वर्षौंसम्म जोडिएको मुटुको धड्कन अन्तिम श्वासमा पुगेर पनि अलग्गिन नमानेको सागरको बुझाइ छ। “एउटै चितामा आमाको पार्थिव शरीर र बुबाको कुशको शव लहरै राखेर दागबत्ती दिँदा पञ्चतत्त्वमा बिलाउँदै गरेको त्यो आगोले शरीरलाई मात्र होइन, उहाँहरूको अटुट प्रेम र समर्पणलाई पनि अमर बनाइदिँदो रहेछ,” उनले भने।
बुबाको सामीप्य र आमाको न्यानो काख एकै पटक गुमाउनुको पीडा सन्तानका लागि पहाड खसे सरह हुन्छ। घरको मूल खम्बा र ममताको खानी दुवै अचानक ढल्दा सागरलाई सिङ्गो संसार नै रित्तो लागिरहेको छ।
“विगतमा दशैं आउँदा गाउँमा बेग्लै रौनक हुन्थ्यो। परदेश गएकाहरू घर फर्किन्थे, आफन्त जम्मा हुन्थे, भेटघाट र रमाइलो हुन्थ्यो। तर, यस वर्ष गाउँमा दशैंको कुनै उल्लास छैन,” पालुङटार नगरपालिका–५ का वडाध्यक्ष दीपक पाण्डेले भने।
उनका अनुसार उक्त गाडीमा ३६ जना यात्रु सवार थिए। तीमध्ये ६ जना सकुशल सम्पर्कमा आएका छन् भने ३० जना अझै बेपत्ता छन्। तीमध्ये कमला देवकोटा, केदार पण्डित, सुजता कौडाल, तारा रानाभाट र सुमी कुमालको सनाखत भएर काजक्रिया सकिएको छ।
भोटेकोशीको बाढीमा आफ्ना ३० जना छिमेकी बेपत्ता भएपछि गाउँ शोकमा डुबेको पाण्डेले बताए। चाडपर्वको समय भए पनि कसैको मन रमाउन सकेको छैन। अरू गाउँमा दशैंको चहलपहल बढिरहेका बेला यहाँका परिवार भने आफ्ना मान्छे फर्किने प्रतीक्षामा छन्। त्यसयता गाउँका कतिपय घरमा चुलो त बल्छ तर मनमा खुसी बल्न सकेको छैन।
दशैंका लागि आवश्यक सामान किनमेल गर्ने, घर सफा गर्ने, आफन्तको स्वागत गर्ने र परिवारसँगै बसेर चाड मनाउने तयारीमा जुट्नुपर्ने बेला गाउँ नै प्रियजनको सम्झनामा टोलाइरहेको छ।
“दशैंमा घर फर्किनेहरूको लर्को लाग्दा यहाँ भने आफ्ना प्रियजन कहीँकतैबाट फर्किहाल्छन् कि भनेर झुक्किन्छन्। चाडपर्वले परिवारसँगको सामीप्य र मिलनको खुसी बाँड्ने भए पनि यही समय कसैका लागि पीडा सम्झाउने क्षण बनेको छ,” पाण्डेले भने।
दशैंलाई मीठा परिकार खाने, टीका र जमरा लगाउने, परिवार तथा आफन्तसँग भेटघाट गर्ने, दुःखसुख साट्ने र वर्षभरिका थकान बिर्सिने अवसरका रूपमा लिइन्छ। तर, यस पटक भोटेकोशी बाढीले आफन्त गुमाउनेहरूका लागि भने दशैं आएको भन्दा नआएकै भए हुन्थ्यो जस्तो लाग्छ।
मृत्यु दर्ताको प्रतीक्षामा परियार
भोटेकोशीमा आएको विनाशकारी बाढीले कसैको घर बगायो, कसैको गाउँ उजाड्यो। कसैले आफन्त गुमाए त कसैले आफ्नो जीवनको आधार नै। बाढीले खोसेको त्यो संसार फर्किने सम्भावना छैन। तर, बाढीमा परेर ज्यान गुमाएका वा बेपत्ता भएका आफन्तको कानुनी पहिचान अब टुङ्गिए हुन्थ्यो भन्ने टीकारामलाई लागेको छ।
“छोरा र श्रीमती त अब फर्केर आउँदैनन्। बाँच्नेको जीवन केही सहज बनाउन राज्यले अब उनीहरूको मृत्यु दर्ताको प्रमाणपत्र दिए हुन्थ्यो। बीमालगायतका सुविधा पाइन्थ्यो कि भन्ने आशा छ,” उनले भने।
बाढीमा परी मृत्यु भएका तथा बेपत्ता भएका बुबाआमाको मृत्यु दर्ता, कानुनी हकदाबी, राहत र क्षतिपूर्तिको प्रक्रिया सहज नहुँदा प्रभावित परिवार दोहोरो पीडा भोग्न बाध्य भएको सागर देवकोटाले बताए। एकातिर आफन्त गुमाउनुको असह्य पीडा छ भने अर्कातिर कानुनी कागजातको अभावमा पाउनु पर्ने राहत र सेवा–सुविधाका लागि भौँतारिनु पर्ने बाध्यता छ।
“बाढीमा परी मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक मृत्यु दर्ता, हकदाबी, क्षतिपूर्ति र राहतका लागि आवश्यक कानुनी प्रक्रिया सुल्झिन नसक्दा हामी पीडितहरू झन् मारमा परेका छौं,” सागरले भने।
मृत्यु दर्ताको प्रमाणपत्रसँग राहत, क्षतिपूर्ति, सम्पत्तिको हक र पारिवारिक अधिकार समेत जोडिएका छन्। तर, बेपत्ता भएका व्यक्तिको कानुनी अवस्था स्पष्ट नहुँदा परिवारका सदस्यले सामान्य अवस्थामा प्राप्त गर्नुपर्ने सेवा समेत लिन नसकेको पीडितहरूको गुनासो छ।
मृत्यु दर्ता प्रमाणपत्र र बेपत्तासम्बन्धी कानुनी कागजातको अभावमा गण्डकी प्रदेश सरकारले घोषणा गरेको राहत रकम प्राप्त गर्न कठिनाइ भएको उनीहरूको भनाइ छ। वडाध्यक्ष पाण्डेले मृतकका नाममा रहेको सम्पत्तिको हकदाबी, बैंक तथा बीमासम्बन्धी प्रक्रिया र अन्य सरकारी निकायबाट प्राप्त हुने सेवा–सुविधामा समेत अवरोध पुगेको बताए।
अझै बाँकी छ मानसिक सन्त्रास
त्यस दिन उक्त गाडीका सहचालक थिए गोरखा, सिरानचोक गाउँपालिका खमारीका निरज भण्डारी। बिहान झिसमिसे उज्यालो नहुँदै हिँडेको उक्त गाडी गल्छीमा नास्ता खान रोकिएपछि नुवाकोटतर्फ अघि बढ्यो। गल्छीमा हुँदा नै रसुवाबाट बाढी आएको हल्ला सुनिएको थियो। तर, त्यस्तो महाविपत्ति आउला भनेर कसैले अनुमान गरेका थिएनन्।
यात्रुहरू आ–आफ्नै कुराकानीमा व्यस्त थिए। बाहिर घाम लागिरहेको थियो। त्रिशूली नदी पनि सधैँझैं आफ्नै गतिमा सुस्तरी बगिरहेको देखिन्थ्यो। नुवाकोटको भैँसे भन्ने स्थानमा पुगेपछि कसैले अचानक भन्यो, “बाढी आइरहेको छ, भागौं–भागौं।” तर, त्यो आवाजलाई कसैले गम्भीरतापूर्वक लिएनन्।
केही क्षणअघिसम्म सामान्य देखिएको वातावरण एकाएक बदलियो। गड्याङगुडुङको आवाज सुनियो। त्यो आवाज सामान्य थिएन। मानौँ, कुनै ठूलो प्रलय आउनुअघि प्रकृतिले दिएको अन्तिम संकेत थियो।
“गाडी रोक, गाडी रोक !”
अचानक चर्को आवाज आयो।
ढोका नजिकै बसेका सहचालक निरजले माथिबाट माटो, ढुङ्गा र लेदो मिसिएको ठूलो बाढीको छाल आउँदै गरेको देखे। उनी भागेर माथि पुगे र तल फर्केर हेर्दा गाडी बगिरहेको थियो। भेलसँगै बगिसकेको गाडीलाई निरज चाहेर पनि केही गर्न सक्ने अवस्थामा थिएनन्।
“आफू बाँचेको खुसीभन्दा पनि आफूलाई माया गर्ने सागर दाइलगायत आफूसँगै आएका ३० जनाभन्दा बढीलाई बाढीले बगाएको सम्झँदा धेरै दुःख लाग्छ,” निरजले भने, “त्यो दिन सम्झँदा अझै डर लागिरहेको छ।”
बाँचेर फर्किएका अन्य रविन्द्र देवकोटा, तुलराम देवकोटा, बाबुराम देवकोटा र पार्वती न्यौपानेका लागि पनि उक्त घटना सम्झँदा अझै मन तर्सिरहेको छ।