नुवाकोट- हाइटेन्सन तारैतार हिँडेर प्रेम विक नुवाकोटको ककनी गाउँपालिका छिचोलेर लिखु गाउँपालिका पुगेका छन्।
ककनी-७ बाट हाइटेन्सन लाइनमा चढेका प्रेम विक लिखु गाउँपालिका प्रवेश गरेको स्थानीयले बताएका छन्। उनी तारैतार हिँडेको भिडियोमा देख्न सकिन्छ। उनी बिहान १० बजे नै बिजुलीको पोलमा चढेर तारैतार यात्रा गरेका हुन्।
प्रेम पोलमा चढेपछि नेपाल विद्युत प्राधिकरणले त्रिशुली-३ए को उत्पादन नै बन्द गरेको छ। उत्पादन बन्द हुँदा देशका विभिन्न स्थानको विद्युत आपूर्ति बन्द भएको प्राधिकरणले जानकारी दिएको छ। यसका साथै प्रतिघण्टा १० लाख घाटा भएको बताइएको छ। झन्डै ८ घण्टादेखि विक विद्युत तारमा बस्ने तथा हिँड्ने गरिरहेका छन्। उक्त प्रसारण लाइन २ सय २० केभीको हो।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसा रिसाल उद्धारका विषयमा छलफल भइरहेको बताए। ‘उनी तारमा झुन्डिएको स्थानमा बाटो नभएकोले क्रेन लगेर उद्धार गर्न सम्भव छैन, हामी पोलमा गएर बोलायौं भने पनि तारैतार दगुर्छ। उद्धार गर्न समस्या भइरहेको छ,' उनले भने।
उनको उद्धार प्रयास भइरहेको र हेलिकोप्टर मगाइएको नुवाकोट प्रहरीले जानकारी दिएको छ। यसैबीच ऊर्जामन्त्री पम्फा भुसालले उनको उद्धार गर्न नेपाली सेनालाई आग्रह गरेकी छन्। 'नुवाकोटमा त्रिशुली ‘थ्री ए’ को प्रशारण लाइनमा रहेका ब्यक्तिको उद्धार गर्न मैले नेपाली सेनालाई आग्रह गरेको छु। विद्युत लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गरौँ । उद्धारमा साथ दिन सम्बन्धित सबैलाई आग्रह गर्दछु,' उनले ट्विटरमा लेखेकी छन्।