सोमबार, वैशाख २४, २०८१

नि:शुल्क पाइने रेबिजको सुई लगाउनै आनाकानी, बेवास्ताका कारण मृत्युदर बढ्दो

मानिसहरुले सामान्य अवस्थामा बेवास्ता गर्ने, टिटानसको सुई अथवा सामान्य उपचारबाहेकमा ध्यान नदिने र लक्षण देखिएपछि मात्रै अस्पताल पुग्‍ने गरेका कारण समस्या थपिएको शर्मा चालिसे बताउँछन्।
 |  शनिबार, जेठ २८, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

शनिबार, जेठ २८, २०७९

काठमाडौं- गत वैशाखमा ३८ वर्षीय एक पुरुष शुक्रराज अस्पताल टेकु पुगे। अस्पता पुग्दा उनको अवस्था गम्भीर भइसकेको थियो। उनले चिकित्सकलाई सुनाउँदा आफूलाई अघिल्लो महिना मात्रै कुकुरले टोकेको बताए। कुकुरले टोकेपछि सामान्य घाउ देखेपछि उनले रेविजविरुद्धको सुइ लगाएनन्। विस्तारै बिरामी हुन थालेपछि उनी अस्पतला पुगेर सुई लगाए तर सुइले पनि काम गरेन र उनको वैशाखमा मृत्यु भयो। 

triton college

५२ वर्षीय अर्का पुरुष पनि गत चैतमा शुक्रराज अस्पताल पुगे। घरमै पालेको कुकुरले टोकेकाले उनले सामान्य रुपमा लिए। तर पछि रेबिजको लक्षण देखिएपछि अस्पताल पुगेका उनको अवस्था गम्भीर हुँदै गयो र केही दिनपछि उनको मृत्यु भयो। 

घरमै पालेको कुकुरले टोक्दा रेबिज लाग्दैन भन्‍ने भ्रम अझै पनि समुदायमा छ। अस्पतालका कन्सल्टेन्ट डा. विमल शर्मा चालिसे  रेबिजविरुद्धको खोप नि:शुल्क पाउँदा पनि नेपालीहरु सुई लगाउनका लागि आनाकानी गरेकाले यो परिणाम देखिएको बताउँछन्। उनका अनुसार अझै मानिसहरुमा रेबिजका बारेमा धेरै भ्रमहरु देखिएका छन्।  

पछिल्लो तीन महिनामा मात्रै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्तपलामा १० जनाको रेबिजका कारण मृत्यु भएको अस्पतालका सूचना अधिकारी नवराज गौतम बताउँछन्। गौतमका अनुसार दैनिक रेबिजविरुद्धको सुई लगाउनका लागि अस्तपालमा ३ सयभन्दा बढी मानिसहरु आउने गरेका छन्। अस्पतलामा चैत र वैशाखमा मात्रै १ हजार १२६ जना मानिसहरु अस्पताल पुगेका थिए। 

नेपालले सन् २०३० सम्ममा कुकुरबाट सर्ने रेबिजलाई शून्यमा झार्ने लक्ष्य तथा प्रतिबद्धता जनाएको छ। तर हरेक वर्ष रेविजका कारण मृत्यु हुनेको संख्या बढ्न थालेपछि त्यो लक्ष्य हासिल गर्न कठिन हुने देखिएको छ।  

corrent noodles
Metro Mart

नेपालमा रेबिजविरुद्धको खोप सहज र पर्याप्त भए पनि मानिसहरुले बेवास्ता गर्दा लक्ष्य हासिल गर्न कठिन हुने चिकित्सकहरु नै बताउँछन्। निःशुल्क पाउने खोपसमेत नलगाउँदा चुनौती देखिएको चिकित्सकहरु बताउँछन। शर्माका अनुसार कुकुरले टोकेपछि सुई लगाउन आउँदासमेत मानिसहरुमा भ्रम देखिएको छ। 

डा. विमल शर्मा चालिसे भन्छन्, ‘जनावरले टोकेपछि मानिसहरुले सुरुमा बेवास्ता गर्छन्। कोही मानिसहरु घाउ सानो छ, केही हुँदैन होला भन्छन्, कोही सानो कुकुरले टोकेको हो रेबिज लाग्दैन होला भन्छन्, कोही घरपालुवा कुकुर हो केही हुँदैन होला भन्छन्, मानिसहरुमा यस्ता-यस्ता भ्रमहरु छन्। यसलाई चिर्न जरुरी छ।’

शर्माका अनुसार जनावरले टोकेपछि घाउ सानो होस् की ठूलो रेबिजविरुद्धको सुई लगाउनुपर्छ।  साथै घरपालुवा जनावर भनेर मात्रै हुँदैन उक्त जनावरलाई रेबिज नभएको ग्यारेन्टी गर्न सक्नुपर्छ, होइन भने घरपालुवा जनावरले टोकेमा पनि सुई लगाउनुपर्छ। 

मानिसहरुले सामान्य अवस्थामा  बेवास्ता गर्ने, टिटानसको सुई अथवा सामान्य उपचारबाहेकमा ध्यान नदिने र लक्षण देखिएपछि मात्रै अस्पताल पुग्‍ने गरेका कारण समस्या थपिएको शर्मा चालिसे बताउँछन्। 

अस्पतलाको रिसर्च युनिटका संयोजक शेरबहादुर पुन पनि मानिसहरुमा रेबिजको बारेमा भ्रम चिर्न आवश्यक रहेको बताउँछन्। पुन भन्छन्, ‘मानिसहरु रेबिजको लक्षण देखिएपछि अस्पताल पुग्‍ने दर बढेको छ। खोप लगाउनबाट चुकिरहेका छन्। त्यसको समाधान खोज्नुपर्ने समय आएको छ, होइन भने सन् २०३० को दिगो विकास लक्ष्य पूरा गर्न सहज हुने छैन।’ 

सरुवा रोग विशेषज्ञ डा. पुनका अनुसार रेबिज स्तनधारी र मांसाहारी जनावरको टोकाइबाट लाग्छ। त्यस्ता जनावरले टोक्दा उनीहरुमा भएको रेबिजको भाइरस मानिसमा पर्छ। नेपालमा सहरी क्षेत्रहरुमा छाडा छाडिएका कुकुरको टोकाइबाट रेविज लाग्‍नेको संख्या धेरै भएको उनी बताउँछन्। 

पुन भन्छन्, ‘कुनै पनि जनावरले टोकेपछि रेबिजविरुद्धको खोप र इम्युनोग्लोबिनको प्रयोग गरेमा  शतप्रतिशत बच्‍न सकिन्छ। जनावरले टोकेपछि तीन डोज खोप लगाएपछि रेबिजको संक्रमणबाट बचाउन सकिन्छ। तर पनि मानिसहरु खोप लगाउनका लागि आनाकानी गर्दा समस्या देखिएको छ।’ 

बहुला कुकुरको टोकाइबाट मानिसमा सर्ने रेविज रोग बिरालो, न्याउरीमुसा र स्यालको टोकाइबाट यो रोग सर्ने गर्दछ। रेबिज रोग लागिसकेपछि उसको उपचार सम्भव छैन। तर रोग नर्सदै रेबिजविरुद्धको सुई लगाएमा यो रोग लाग्‍नबाट बच्‍न सकिन्छ। नेपालमा रेबिजविरुद्धको खोप नि:शुल्क भए पनि मानिसहरुले खोप लगाउन आनाकानी गर्दा मृत्युदर बढिरहेकोप्रति चिकित्सकहरुको चिन्ता छ। सरकारले रेविजविरुद्धको सुई नि:शुल्क रुपमा उपलब्ध गराएको छ। तर पनि रेबिजका कारण मानिसहरुको मृत्यु भने अझै रोकिएको छैन।  

शुक्रराज अस्पतालकै तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष २०७७-०७८ मा दुई दर्जनभन्दा बढीको ज्यान गएको छ। पछिल्लो तीन महिनामा मात्रै १० जनाको रेबिजकै कारण ज्यान गएको अस्पतालको तथ्यांकले देखाउँछ। यसको कारण घरपालुवा जनावरले टोक्दा बेवास्ता गरेकाले मृत्युकै सिकार हुनुपरेको चिकित्सकहरु बताउँछन्। 

नेपालमा अर्थिक वर्ष ०७४-०७५ मा ३५ हजार ६८१ जना, आर्थिक वर्ष ०७५-०७६ मा ३५ हजार दुई सय ५० जना र ०७६-०७७ मा ५६ हजार ६१९ जना जनावरको टोकाइबाट प्रभावित भएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ। त्यस्तै अर्थिक वर्ष २०७७-०७८ मा २ लाख ९५ हजार भाइल रेबिजविरुद्धको खोप लगाइएको महाशाखाले जनाएको छ। नेपालका सबै जिल्ला अस्पताल र सरुवा रोग अस्पतालहरुबाट रेबिजविरुद्धको खोप उपलब्ध रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

रेबिज लागेमा यस्ता लक्षण देखिन्छन्:

- पानी र हावादेखि डराउने ।

- ज्वरो आउने ।

- घाउ भएको स्थानमा दुख्ने ।

- शरीर झम्झमाउने ।

- अत्यधिक उत्तेजित व्यवहार गर्ने ।

- रस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायु नसाहरू सुन्निने।


प्रकाशित: Jun 11, 2022| 06:00 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्