काठमाडौं- नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) मा उमेर विवाद चर्किरहँदा अधिकांश नेताले उमेर ढल्किएर तीर्थाटन जाने बेलामा नेतृत्वको दाबी गर्न नहुने बताएका छन्।
उमेर विवाद र गुटगत स्वार्थका कारण कांग्रेसको सबैभन्दा जनाधार भएको मानिएको संगठन नेविसंघको वर्तमान नेतृत्वको कार्यकाल यही साता समाप्त हुँदैछ। विधानबमोजिम हरेक दुई वर्षमा महाधिवेशन हुनुपर्छ तर नैनसिंह महर नेतृत्वको नेविसंघमा विवादका कारण बैठकसमेत बस्न सकेको छैन।
पार्टी विधानले आगामी १२ औं महाधिवेशनबाट लागू हुने गरी नेविसंघको नेतृत्व लिन ३२ वर्ष उमेर नकटेको हुनुपर्ने बाध्यात्मक प्रावधान राखेपछि केही नेताले उमेरको सीमा तोक्न नहुने माग राख्दै आएका छन्। पार्टीमा देखिएको गुटगत प्रभाव नेविसंघमा समेत देखिन थालेको छ।
पार्टीका पूर्वसभापति सुशील कोइरालाको जन्मोत्सवका अवसरमा ‘हाम्रो नेविसंघ, संगठित र प्रशिक्षित नेविसंघ अभियान’ले सोमबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेविसंघका पूर्वनेता तथा कांग्रेस केन्द्रीय सदस्यहरूले नेतृत्व पाउने लोभमा उमेरले नेटो काट्दासमेत पद नछाड्ने संस्कार त्याग्न आग्रह गरेका छन्।
नेविसंघका पूर्वअध्यक्ष गुरुराज घिमिरेले कांग्रेसका नेता बीपी कोइरालाले २३ वर्षमा क्रान्तिको नेतृत्व गरेको, ३६ वर्षमा गृहमन्त्री भएको र ४६ वर्षमा प्रधानमन्त्री बनेको दृष्टान्त प्रस्तुत गर्दै नेविसंघको नेतृत्व लिन ४६ वर्ष कटेकाले मरिहत्ते गर्नु दर्दनाक अवस्था भएको बताए।
‘जुनसुकै ठाउँमा क्रियाशील हुने निश्चित उमेर हुन्छ,’ घिमिरेले भने, ‘उमेर कटेपछि धर्मकर्म र तीर्थाटन गर्ने बेलासम्म नेविसंघमा बस्छु भन्ने अडानले पार्टीसमेत झन कमजोर हुने देखिन्छ।’ स्वामी विवेकानन्द, जिसस क्राइस्ट वा गौतम बुद्धले समेत ३५ वर्षअघि नै आ-आफ्नो क्षेत्रमा नाम कमाएको उनले दाबी गरे।
नेविसंघमा उमेर विवाद र अन्य विषय झिकेर कांग्रेसका नेताहरू रमाउने गरेको तर्क गर्दै घिमिरेले नेविसंघ मिल्दा निराश भएर आँसु झार्ने नेताका कारण संगठनमा विवाद बढेको आरोप लगाए।
उनले भने, ‘जीवन र आयुमाथिको अन्याय गरेर सदावहार एउटै संगठन वा पदमा बस्छु भन्नु हुँदैन। अब हाम्रा अहिलेका नेताहरूले पनि उमेर पुगेपछि तीर्थाटन गर्न जानुपर्छ। राजनीतिको खेलमा मैदानमा सधैं म्याराडोना र पेले हुन सकिँदैन। अब दर्शक बन्नूस्।’
अर्का केन्द्रीय सदस्य तथा सांसद डा. मिनेन्द्रप्रसाद रिजालले पार्टीको नेतृत्वमा समेत ७० वर्ष पुगेपछि विश्राम लिनुपर्ने प्रावधान राख्ने पक्षमा आफू रहेको बताए। ‘नेविसंघमा ५० वर्षसम्म बस्ने प्रवृत्तिले कांग्रेसलाई पनि सुधार गर्न सक्दैन,’ डा. रिजालले भने, ‘तपाईंहरू जस्ता युवा पार्टीमा नआए अहिलेका ७० कटेका नेताहरूलाई बिदाइ गर्न सकिँदैन।’
पार्टीको भातृ, भगिनी र शुभेच्छुक संस्थामा बस्नेले पार्टीको कुनै पनि पदमा बस्न नहुने र महाधिवेशन प्रतिनिधि हुने प्रवाधान खारेज गर्नुपर्ने धारणा उनको थियो।
‘कांग्रेस सभापति देउवाले मलेसियाका प्रधानमन्त्रीको उमेर ९२ वर्ष भएको बताएर आफू नेतृत्वबाट नहट्ने संकेत गर्नुभएको छ,’ डा. रिजालले भने, ‘महाथिर मोहम्मदले लगातार नेतृत्व सम्हालेका होइनन्, उनी ९२ वर्षमा मलेसियाको प्रधानमन्त्री बन्नु र गिरिजाप्रसाद कोइराला नेपालको राजनीतिको केन्द्रविन्दुमा रहनु अपवाद हो।’
केन्द्रीय सदस्य दीपक गिरीले नेविसंघ र तरुण दलका नेताले पार्टीका नेताको घर–घर धाएर नराम्रो संस्कृतिको विकास गरेको बताए। ‘नेविसंघ र तरुण दलमा ४५ वर्षसम्म बसेर कांग्रेसमा युवाले कहिले नेतृत्व लिने?’ गिरीले भने, ‘आमन्त्रित केन्द्रीय सदस्यले पार्टीमा भीड बढाएजस्तै नेविसंघमा पनि आमन्त्रितको भीड लगाउन हुँदैन।’
नेविसंघका उपाध्यक्षद्वय उर्मिला थपलिया र नीलकण्ठ रिजालको सक्रियतामा आयोजित कार्यक्रममा नेविसंघका पूर्वमहामन्त्री गजेन्द्र कार्की, पूर्वउपाध्यक्ष टेकराज पौडेललगायत उपस्थिति थिए। कार्यक्रममा महामन्त्री डा. शशांक कोइराला निकटका केन्द्रीय सदस्यहरूको मात्र उपस्थिति थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४