काठमाडौं- सामाजिक सञ्जालमा नाबालिका तथा महिलाको भिडियो/तस्बिर सम्प्रेषण गरी चरित्रहत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-६ चोच्छे बस्ने २० वर्षीय बिकेश सोजुँ र खोटाङ ऐसेलुखर्क गाउँपालिका-१ स्थायी वतन भई हाल काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने २० वर्षीया भोजकुमारी दाहाल रहेका छन्।
अश्लील भिडियो बनाई पीडित नाबालिकाको आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाई चरित्रहत्या गरेकोले बिकेशलाई धुलिखेल नगरपालिका-६ बाट बुधबार पक्राउ गरिएको हो।
महिलाको तस्बिर दुरुपयोग गरी पीडितको चरित्र हत्या गरेकोले भोजकुमारीलाई बिहीबार विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनीहरूउपर जिल्ला अदालत काठमाडौंको आदेशले ५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ।