जनकपुरधाम- पूर्नवहालीको माग राख्दै प्रदेश २ का सामाजिक परिचालकहरु आन्दोलमा उत्रिएका छन्। लामो समयदेखि सेवा दिँदै आइरहेका उनीहरुलाई गत अषाढदेखि केन्द्र सरकारले कामबाट हटाएपछि नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेश २ आवद्ध सामाजिक परिचालकहरु आन्दोलनमा उत्रिएका हुन्।
प्रदेश २ को सरकारले पनि सामाजिक परिचालकहरुको समस्या समाधान गर्न पहलगर्ने आश्वासन दिएपनि चासो नदेखाएको उनीहरुको आरोप छ । आन्दोलनमा उत्रिएका सामाजिक परिचालकहरु केन्द्र र प्रदेश सरकारको विरोधमा नाराबाजी गरेका थिए।
नेपाल सरकारले कार्यालय सहायकमा म्याद थप गरी निरन्तरता दिनुपर्ने उनीहरुले माग राखेका छन्। साथै योग्यताको आधारमा एकपटक उमेर हद नलाग्ने गरी दरबन्दी कायम गर्दै स्थानीय तह कर्मचारीमा समायोजन गर्नुपर्ने माग सामाजिक परिचालकहरुले अगाडी सारेका छन्।
सरकारले आफूहरुको मागमाथि सुनवाइ नगरे संघका अध्यक्ष शिवशंकर मेहताले आमरण अनशनमा बस्ने चेतावनी दिएका छन्। १९ साउनमा माग पुरा गर्न पाँचदिने अल्टिमेटम दिँदा पनि सुनवाइ नभएपछि आन्दोलनमा उत्रिएको मेहताले बताए।
सरकारले कामबाट हटाएपछि उमेर हद लगायतका कारण अन्य रोजगारी पाउन समेत समस्या रहेको उनीहरुको भनाइ छ । प्रदेश २ मा मात्रै ८ सय ५४ जना सामाजिक परिचालकहरु कार्यरत थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४