जंगबहादुर राणाबारे लेख्नुअघि मेरो आफ्नै बाउको कथालाई जोडेर लेखन सुरु गर्छु। यो इतिहासमा आधारित लेख हो। भनिन्छ, ठूला मानिसको जीवन इतिहास बन्छ, साना मानिसको जीवन कथामा सकिन्छ।
मेरो बाउ हुनु र नहुनुसँग नेपालगञ्ज सहरलाई खास कुनै अर्थ छैन। किनकी यो सहरमा धेरैका बाउ छैनन्। तर दिवंगत मेरो बाउको जीवनमा भने नेपालगञ्ज सहरको ठूलो अर्थ छ। नेपालगञ्ज नभएको भए मेरो बाउको जीवनले फरक बदलाव लिन्थ्यो, जस्तो कि यतिबेला म नेपालगञ्जमा बसेर नेपालगञ्ज सहरबारे लेखिरहेको हुँदैनथें।
रातभर तरुनीसँग दोहोरी गाउने र बिहान उठेर परीक्षामा प्रश्नहरुको सामना गर्ने। यसरी अन्ततः एसएलसी फेल भएपछि मेरो बाउले धर्मेन्द्र स्टाइलमा पालेको कपाल काटेछन्। गाउँमा गरिखाने बाटो नभएपछि तरुनीबाट तर्किएर बाउ भारत पसेछन्। लनखउका चोकहरुमा कुकुरले सुँघेर छोडेका नदोब्रिने रोटी र गन्हाउने तरकारीले पेट भरेको कथाहरु बाउले पछिसम्म हास्य रसमा सुनाइरहन्थे।
न तरुनी हेर्नु, न भाषा बुझ्नु। भाँडा माझेर त के बस्नु भन्ने लागेपछि आधा महिनामै देश फर्किएछन्। फर्किदै गर्दा नेपालगञ्जमा मेरो बाउका पाइलाहरु टक्क अडिए। मानिसहरुको लाइन देखेपछि चासो जाग्यो, केको लाइन हो यो? त्यहि लाइनको अन्तिममा उभिएका मेरो बाउको नाम पनि कसैले लेखेर लग्यो– धर्मेन्द्र नेपाली। खास नाम धनबहादुर थियो। खाईपाई आएको आफ्नै नामविरुद्ध विद्रोह गरेका बाउले नयाँ नामसँगै नयाँ जीवनको सुरुवात गरे।
केहि घण्टापछि थाहा भयो, त्यो लाइन नेपाल प्रहरीमा भर्ना हुनेहरुको थियो। बासी र गन्हाउने रोटी–तरकारी खाँदा झाडापखालाले टुटेको शरीरकै भरमा दौडेर बाउले नेपाल प्रहरीमा नाम लेखाए। सरकारको सिम्रिक लगाउनु खानदानमै त्यो यति ठूलो उपलब्धि थियो कि त्यो कल्पना भन्दा बाहिरको कुरा थियो।
आज म त्यहि सहरको जन्मकुण्डली पढ्न खोज्दैछु। झण्डै पौने दुई सय वर्षअघिको नेपालगञ्जको इतिहास र विकासक्रम कम रोचक छैन। हालका भव्य भौतिक संरचना, फराकिला सडक, बजारीकरण र घना आवादी मात्र नेपालगञ्जको अनुहार होइन। ढाका टोपी लगाएर नमाज पढ्ने नेपालगञ्ज र भाइटीका थापिरहेको कुनै मुस्लिम अनुहारको सद्भाव पनि नेपालगञ्जको विशेषता हो।
बस्ती विकासका आफ्नै मान्यता र सिद्धान्तहरु छन्। दुई सय वर्षअघि विश्वप्रसिद्ध चारकोशे झाडीभित्र रहेको यो भूगोल अहिले एउटा गुल्जार सहरको रुपमा कसरी रुपान्तरण भयो? यसको कथा लामो हुन जान्छ, मैले क्रमशः लेख्दै जानेछु। मेरो लेखनको स्रोत हुनेछन् विभिन्न पुस्तक, विषयगत जानकारहरु।
नेपालगञ्ज सहरको औपचारिक स्थापनाबारे लेख्नुअघि भारतको गदर आन्दोलन र त्यससँग जोडिएका ऐतिहासिक घटनाहरुबारे सारसंक्षेपमा चर्चा गर्नु जरुरी होला।
सन् १६०० डिसेम्बर ३१ बाट औपचारिक रुपमा भारतमा शासन गरिरहेको इष्ट इण्डिया कम्पनीको सरकार विरुद्ध मंगल पाण्डेहरु जागे। सन् १८५७ मा भारतका सिपाहीहरु, राजा–रजौटा र जनताले सुरुवात गरेको विद्रोहको आकार बढ्दै गयो। जुलाई १८५७ मा भारतीय अन्दोलनकारीले गोरखपुरदेखि लखनऊ सहितका सहरहरु नियन्त्रणमा लिन थालेपछि अंग्रेजहरु आत्तिए। जनआन्दोलन दबाउन असफल भएपछि नेपालका तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणासँग अंग्रेज सरकारबाट सैन्य सहायताको माग भयो। जंगबहादुरले पहलवान सिंह बस्नेतको नेतृत्वमा सर्वप्रथम तीन सय सेना भारत पठाएको इतिहास छ। त्यसपछि पनि जंगबहादुरले ३ देखि ४ सयको दरले सेनाहरु भारत पठाए तर आन्दोलन दबाउन अंग्रेजलाई त्यति सहज भएन।
अन्ततः १० डिसेम्बर १८५७ मा जंगबहादुर राणाले आफ्नै कमाण्डमा ९ हजार सेनाको विशाल फौज लिई गोरखपुरका लागि प्रस्थान गरे। ६ जनवरीमा गोरखपुर पुगेका जंगबहादुरले ११ मार्चसम्म लखनऊमा नेपाली–अंग्रेज सेनाको संयुक्त फौज मार्फत विद्रोहीलाई लखेट्न सफल भएको भनेर जंगबहादुरपुत्र पद्मजंग राणाले ‘लाइफ अफ सर महाराज जंगबहादुर राणा’मा लेखेका छन्।
यो विजयबाट खुशी भएको ब्रिटिस सरकारले जंगबहादुरलाई ‘ग्राण्ड क्रस अफ दि अर्डर’ नामको सम्मान र तक्मा मात्र दिएन, सन् १८१६ को मार्चमा भएको सुगौली सन्धिद्वारा नेपालले गुमाएको भूगोलमध्ये ४ जिल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता दिने निर्णय गर्यो। फिर्ता आएको भूमिलाई जंगबहादुरले ‘नयाँ मुलुक’ नामकरण गर्दै त्यसको केन्द्र बाँकेलाई बनाउने भनेर घोषणा गरेको साहित्यकार सनत रेग्मीले ‘सद्भावको सहर नेपालगञ्ज’ नामक पुस्तकमा लेखेका छन्। रेग्मी थप लेख्छन्, ‘एउटा बाँकी नाम गरेको किल्ला। त्यसै किल्ला वरिपरि केहि घरधुरी र त्यसका कारिन्दाहरुको दैनिकीलाई आवश्यक दुईचार ससाना पसल। त्यसैको नाम थियो– बाँकी बजार।’ यसबाट बाँके वा आधुनिक नेपालगञ्जको संरचना निर्माणको सुरुवात हुनुपूर्व प्राचिन बाँकी बजार थियो।
उखनउका विभिन्न सहरबाट जंगबहादुर प्रभावित थिए। अलिगन्ज, हुसैनगन्ज, रकाबगन्ज, निसादगन्ज, ख्यालीगन्ज, हजरतगन्ज जस्ता सहरहरु अत्याधिक मन परेपछि नेपालमा पनि त्यही गन्जहरुको मोडलमा नयाँ सहर बनाउने जंगबहादुरले रहर गरे। त्यहि बाँकी बजारलाई विकास गरेर नयाँ सहर निर्माण गर्ने अख्तियारी दिएर बडाहाकिम सिद्धिमानसिंह राजभण्डारी र सुब्बा पद्मनाभ जोशीलाई पठाएको इतिहास छ। यहिँबाट नेपालगञ्जको औपचारिक विकासको इतिहास सुरु हुन्छ।
काठमाडौंमा महाराजगन्ज र उपत्यका बाहिर नेपालगन्ज सहर जंगबहादुरले बसाएको भन्ने विषयमा धेरै इतिहासकार तथा जानकारहरु सहमत भए पनि विजय वर्मा सहमत छैनन्। ‘नेपालगञ्जः उहिले र अहिले’ शिर्षकको अनुसन्धानमूलक आलेखमा वर्माले भनेका छन्, ‘राणाकालमा नेपालगञ्ज बसाइयो भन्नेहरुका लागि यो सहरको अस्तित्व कुन जगमाथि टेकेर निर्माण भएको हो?’ बाँकी गाउँको विस्तार नै अहिलेको नेपालगञ्ज भएको वर्माको मत छ।
बाँकीमा सहर संरचना निर्माण हुनुअघि नेपाल–भारत सीमामा जयसपुर बजार थियो। जहाँ लखनउ, रायबरेली, कानपुरसम्मका व्यापारी बयलगाडामा नेपाल आएर पहाडबाट नेपालीहरुले झारेको जडिबुटी, घिउहरु खरिद लैजाने गरेको साहित्यकार सच्चिदानन्द चौवेले बताउँछन्। पछि जंगबहादुरको निर्देशनमा दुई वर्षको म्याद तोकी तत्कालिन भन्सार रहेको अहिलेको नगर भवनदेखि सदरलाइनसम्म र त्रिभुवन चोकदेखि रानी तलाउको साथै पश्चिम क्षेत्रमा समेत ३ सय ६५ कोठीहरु निर्माण गरियो। त्यो सरकारी कोठीहरु लखनउको अमिनावादको चोकबाट प्रभावित भएर बनाइएको थियो।
फराकिला चोकहरु र ३६ फिट चौडा सडक त्यति बेलै बनाइएको थियो। तत्कालिन कर्नेल लोकबहादुर थापाले भारततर्फ काठ निकासीका लागि निर्माण गरिएको कठमहलमा यज्ञ गरेर लोक भत्तेश्वर महादेवको मन्दिर बनाएका थिए भने त्यसको दक्षिणमा आफ्नो रानीको नाममा निर्माण गरेको घाटलाई हाल रानी तलाउको नामले चिन्ने गरिएको छ।
काठमाडौंमा महाराजगन्ज र उपत्यका बाहिर नेपालगन्ज सहर जंगबहादुरले बसाएको भन्ने विषयमा धेरै इतिहासकार तथा जानकारहरु सहमत भए पनि विजय वर्मा सहमत छैनन्। ‘नेपालगञ्जः उहिले र अहिले’ शिर्षकको अनुसन्धानमूलक आलेखमा वर्माले भनेका छन्, ‘राणाकालमा नेपालगञ्ज बसाइयो भन्नेहरुका लागि यो सहरको अस्तित्व कुन जगमाथि टेकेर निर्माण भएको हो?’ बाँकी गाउँको विस्तार नै अहिलेको नेपालगञ्ज भएको वर्माको मत छ।
विक्रम सम्वत् १९१६ मा नेपालगञ्ज सहर निर्माण गर्न सुरु गरिएको इतिहासमा भेट्न सकिन्छ। बस्ती बसाल्ने अभियान भने १९३८ सालमा पूरा भएको थियो।
पहिलो चरणको नेपालगञ्ज विकासको काम सिध्याएर अचानक सुब्बा पद्यनाभ जोशी बनारस गए। उनको उतै मृत्यु भयो। सरकारी हरहिसाब नबुझाएको भए पनि जोशीको कामबाट प्रभावित श्री ३ को सरकारबाट उनै जोशीका जेठा छोरा शिवनारायणलाई कप्तानी दर्ता दिई बाँके मालमा हाकिम बनाई दोस्रो चरणको निर्माणको जिम्मा दिई पठाएको भनेर सनत रेग्मीले पुस्तकका लेखेका छन्। शिव नारायणले तत्कालिन समयमा नानीबाबु सुब्बाको नामले प्रसिद्धि कमाएका थिए। उनले वि.सं. १९४२ मा भारतका विस्कोहरबाट व्यापारीहरु झिकाएर विस्कोहरियन टोल र एकलैनी बजार बसाएको, विस्कोहरियन टोलमा हनुमान मन्दिर निर्माण गराएका थिए।
हालको त्रिभुवन चोक तत्कालिन समयमा चोकबजारको नामले चर्चामा थियो । हाल त्रिभुवनको सालिक रहेको स्थानमा एउटा दुईतले घर निर्माण गरिएको थियो। त्यो घरको माथिल्लो तलालाई भन्सार कार्यालय बनाइएको थियो । जयसपुरबाट बाँकी बजार र त्यसको विकास हुँदै बनेको नेपालगञ्ज बजार व्यापार गर्न आउनेहरूलाई त्रिभुवन चोक र आसपासकै घरहरू उपलब्ध गराउन थालियो। त्यसकारण त्यो चोक नेपालगञ्ज नगरको केन्द्रको रुपमा विकास भयो।
जंगबहादुरबाट विशेष अधिकार लिएर नेपालगञ्ज आएका विश्वासपात्र सिद्धिमानले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई राजश्व ठेक्का दिएका थिए। बाँकेलाई दुई प्रगन्ना, चार टप्पा र केहि मौजाहरुमा विभाजित गरेको इतिहास भेटिन्छ। बाँके जिल्लाको स्थानीय प्रशासन र जनसहभागिताका लागि चौधरी, जमिनदार र पटवारी नियुक्त गर्ने व्यवस्थाको सुरुवात जंगबहादुरकै पालाबाट सुरुवात भएको हो। भारतबाट समेत मानिस तथा व्यापारीहरु झिकाएर पद र मौजा दिएर बस्ती विकास गरेको सनत रेग्मीले लेखेका छन्।
बाँकी गाउँ तुलसीपुर स्टेटको ८ किल्लामध्ये एक थियो। तर त्यसको संरचनालाई परिवर्तन गरेर सिद्धिमानले सुब्बा, डिट्ठा, विचारी, मुखियाहरुको प्रबन्ध गरेको, पठनपाठन सुरुवात गरेको र जिल्लाको सुरक्षाको लागि एक पल्टन सैनिकको व्यवस्था गरेको पनि इतिहासमा भेटिन्छ। सन् १८६१ मा नेपालगञ्ज आएका जंगबहादुर सिद्धिमानको कामबाट प्रभावित भएर एउटा गाउँको नाम सिद्धिपुर नै राखिएको थियो। तर त्यो सिद्धिपुर गाउँ कुन हो भन्ने बारेमा कसैलाई जानकारी छैन।
(जंगबहादुरपछिका राणा प्रधानमन्त्रीले नेपालगञ्जको विकासमा दिएको योगदानबारे अर्को शृंखलामा चर्चा गरिनेछ।)
गुल्जार चोकमा कैद छायाहरु
नेपालगञ्ज प्रवेश गरेपछि फराकिला सडकबाट आँखाहरु उठेर शालिकहरुको निधारमा पर्छन्। यहाँ त्यस्ता कुनै चोकहरु छैनन्, जहाँ शालिक नउभिएको होस्। तत्कालिन राजा–महाराजाहरुको शालिकदेखि नेपाली कम्युनिष्ट आन्दोलनका शिखरपुरुष पुष्पलाल, प्रजातान्त्रिक व्यवस्थाको सुत्रपात गर्ने बीपी कोइराला र गणतान्त्रिक आन्दोलनका सहिद सेतु विकको शालिकले चोकहरु सुसज्जित छन्।
यो गुल्जार सहरको जग हालेका जंगबहादुरको शालिक यहाँ पक्कै छ भन्ने तपाईंलाई लाग्न सक्छ। यदि तपाईंको त्यो अपेक्षा हो भने निराश हुनुस्। यो सहरमा जंगबहादुरबारे कहिँकतै पढ्न, हेर्न पाइँदैन। हालको त्रिभुवन चोकमा २००२ सालमा स्थापना भएको जुद्ध शममेरको कल्की सहितको अर्धकदको शालिक पनि २००७ सालको क्रान्तिमा तोडेर फालियो। अष्ठधातुबाट निर्मित शालिक उपमहानगरको गोदाममा छ।
नेपालगन्ज सहरको जिन के हो? यो कसको आदिभूमि थियो? जंगबहादुरको परिकल्पना भन्दा पहिले बाँकी गाउँमा जीवन बाँच्नेहरु को थिए? उनीहरु अहिले कहाँ छन्? विश्लेषक नरेन्द्रजंग पिटरले नेपालगञ्ज थारु जातिको आदिभूमि हो भनेर लेखेका छन्। काठमाडौंभन्दा बाहिरको दोस्रो ठूलो र भव्य नेपालगञ्ज सहरले किन आशातित विकासको मार्ग समाउन सकेन? विश्लेषण गर्नेहरुले स्वार्थको लोभ देखाएर व्यापारिक मनोवृत्तिका मानिसहरु ल्याएर बनाइएको सहर भएकाले यसले आफ्नोपनको महसुस गर्न सकेन पनि भन्दा रहेछन्।