काठमाडौं– सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनको लागि ठूला ल्याण्डफिल्ड साइटको विकल्पमा साना व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताएकी छन्।
शुक्रबार सहरी विकास मन्त्रालयमा बञ्चरेडाँडावासीहरुसँग भएको छलफलमा मन्त्री झाँक्रीले यस्तो बताएकी हुन्। उनले ठूला ल्याण्डफिल्ड साइटहरु बन्न समय लाग्ने र बन्न पनि नसकेको भन्दै त्यसको विकल्पको रुपमा स–साना फोहोर, ढल व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताएकी हुन्। उनले आजबाट काठमाडौं उपत्यकाको फोहोर उठान सम्बन्धित निकायहरुलाई अनुरोध गरिन्।
शुक्रवार बिहान सिसडोलवासीसँग सहरी विकासमन्त्री, प्रधानमन्त्री कार्यालयका सचिव लगायत अन्य मन्त्रालयका सचिव, काठमाडौं, ललितपुर महानगरका मेयर ककनी गाउँपालिकाका अध्यक्ष, धुनिबेसी नगरपालिकाका प्रमुख र सम्बन्धित जिल्लाका जनप्रतिनिधिहरु सहितको वार्ता टोलीले फोहोर उठाउने सहमति गरेको छ। छलफलमा बोल्दै मन्त्री झाँक्रीले तत्कालको समस्या समाधान गर्न सम्झौता गर्ने र त्यसपछि फर्किएर नजाने प्रवृत्तिका कारण यो समस्या सिर्जना भएको बताइन्।
उनले सबै पक्षसँग बसेर छलफल गरिएकोले अब फाहोर नउठ्ने कुरा नरहेको तर सरकारले बञ्चरेडाँडा र सिसडोलवासीको माग पूरा गरेर मात्रै अघि बढ्ने विश्वास दिलाइन्। मन्त्री झाँक्रीले यसअघि धेरै सम्झौता र कागज गरिसकेको उल्लेख गर्दै अब कागजभन्दा पनि काममा विश्वास गर्न आग्रह गरिन्। उनले सिसडोलमा गरेको गल्ती बञ्चरे डाँडामा नदोहोर्याउने भन्दै फागुन २६ को कार्यदिशाअनुसार नै फोहोर व्यवस्थापन गर्ने बताइन्।
काठमाडौंको फोहोर व्यवस्थापनका लागि स्थानीयवासीसँग सरकारले शुक्रवार राति १८ बुँदे सहमति गरेको थियो। स्थानीय वासीले विभिन्न माग राख्दै बञ्चरे डाँडामा फोहोर विसर्जन गर्न नदिँदा केही हप्ता यता काठमाडौंको फोहोर सडकमै थियो।