काठमाडौं- अबिरल वर्षाले आँबुखैरेनी मुग्लिन सडक खण्ड भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
तनहुँको आँबुखैरेनी खैरेनी गाउँपालिका-४ मर्स्याङ्दी जलविद्युत केन्द्रको ड्याम नजिक राजमार्गको तलबाट पहिरो खसेकोले दुईतर्फी यातायात अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
सडकबाट तल मर्स्याङ्दी नदीको खोंचमा कार खसेको देखिएको घटनास्थलमा रहेका तनहुँ प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
एउटा कारको हुट देखिएको र मानवीय क्षति पनि भएको आशंका गरिएको तनहुँ प्रहरीले जनाएको छ। भासिएको स्थान भीर र नदीको बहाव ठूलो भएकोले उद्धारमा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ।
गोताखोर, उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोलीलाई त्यहाँ परिचालन गरिएको प्रहरीले जनाएको छ।