सोमबार, वैशाख २४, २०८१

उपत्यकाका अस्पतालमा बिरामी बढ्न थालेपछि विज्ञले भने- फोहोर व्यवस्थापन नभए हैजा फैलिनसक्छ

उपत्यकामा फोहोर थुप्रिन थालेपछि उपत्यकाका केही अस्पतालहरुमा बिरामीको संख्या बढ्न थालेको छ। विगतका वर्षहरुमा पनि वर्षातको समयमा अस्पतलामा बिरामीहरु बढ्ने समय हो भए पनि पछिल्लो दुई सातादेखि उपत्यकामा फोहोर थुप्रिन थालेपछि त्यसको असर हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन्।
 |  बिहीबार, जेठ २६, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- उपत्यकामा फोहोर थुप्रिन थालेपछि उपत्यकाका केही अस्पतालहरुमा बिरामीको संख्या बढ्न थालेको छ। विगतका वर्षहरुमा पनि वर्षातको समयमा अस्पतलामा बिरामीहरु बढ्ने समय हो भए पनि  पछिल्लो दुई सातादेखि उपत्यकामा फोहोर थुप्रिन थालेपछि त्यसको असर हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन्। 

triton college

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो समय दैनिक १० जनाभन्दा बढी झाडापखालाका बिरामीहरु पुग्‍न थालेका छन्। अस्पताल पुग्नेहरुमध्ये अधिकांश झाडापखालाका बिरामी छन् भने सर्पले टोकेर अस्पताल पुग्नेको संख्या पनि बढीरहेको छ। अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार मनसुन सुरु हुनु अगावै अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। शुक्रराज अस्पतलाको जेठ २४ गतेसम्मको तथ्यांक अनुसार १२९ जना झाडापखालाका बिरामी अस्पताल आइपुगेका छन्। बुधबारमात्रै अस्पताल पुगेका झाडापखालका बिरामीमध्ये २५ प्रतिशतभन्दा बढी झाडापखालाका बिरामीहरु भर्ना भएका छन्। 

अस्पतलाका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार गत वर्षको तुलनामा यस वर्ष प्रि मनसुनमा नै अस्पतालमा बिरामीहरु बढ्न थालेका छन्। पुन भन्छन्, ‘गर्मी समयमा बिरामी बढ्ने आँकलन सँधै नै हुन्थ्यो तर यस वर्ष चाँडै नै अस्पतलामा बिरामीको संख्या बढेको छ। तर यो भन्दा बढी समुदायमा बिरामीहरु हुन सक्छन्। बिरामीहरु आफैँले औषधिको प्रयोग गरेर घरमै बसेको हुनसक्ने अनुमान छ।’

दुई सातादेखि उपत्यकामा फोहोर नउठेकाले पनि त्यसले असर पर्न थालेको उनको आँकलन छ। अस्पतालमा सामान्यदेखि सिकिस्त बिरामीहरु पुगेका छन्। पुनका अनुसार मनसुन सुरु भइसकेको छ,अब झनै फोहोर व्यवस्थापन भएन भने फोहोर पानीमा मिसीने र जसले गर्दा हैजासमेत फैलन सक्ने सम्भावना छ। 

उता पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि बिरामीको संख्या बढ्न थालेको छ। अस्पतलाका बेडहरु बिरामीले भरिएका छन्। अस्पताल पुग्‍ने बिरामीहरु पेट दुख्‍नेलगायतका समस्या लिएर पुगेका छन्। अस्पतालका निर्देशक रवि शाक्यका अनुसार पेट दुख्‍ने, टाउको दुख्‍ने, रुघाखोकी लगायतका बिरामी आउनेक्रम बढ्दो छ। उनले भने, 'अस्पतलामा बेडहरु भरिएका छन्, झाडापखाला नै फैलियो भनेर भन्‍ने अवस्था छैन तर बिरामीको लक्षण हेर्दा पक्कै पनि दुषित पानी तथा खानेकुराका कारण समस्या देखिएको भन्‍न सकिन्छ।'

corrent noodles
Metro Mart

उनका अनुसार झाडापखालाका बिरामी नै बढेको भन्‍ने अवस्था भने देखिएको छैन। गर्मी मौसममा झाडापखला, टाइफाइड, रुघाखोकी, पेटसम्बन्धी अन्य रोग बढे्को देखिएको छ। तर फोहोर व्यवस्थापन नभएमा उपत्यकामा झाडापखाला फैलन सक्ने उनी बताउँछन्। 

फोहोर व्यवस्थापन नहुँदा सरुवा रोग फैलिने क्रम तीव्र भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख चुमनलाल दासले बताए। चिकित्सकका अनुसार लामो समयसम्म फोहोर थुप्रिँदा विभिन्‍न रोग लाग्‍नसक्छ। फोहोरबाट झाडापखाला, हैजा, जुका, पेट दुखाइ, करेला, छालासम्बन्धी रोगका देखिने चिकित्सकहरु बताउँछन्। 

जनस्वास्थ्यविद्का अनुसार पनि उपत्यकाको फोहोरका कारण बिरामीको संख्या बढेको बताउँछन्। जनस्वास्थ्यविद् बाबुराम मरासिनी पनि लामो समयदेखि उपत्यकाको फोहोर व्यवस्थापन नहुँदा फोहोरका कारण पनि बिरामीको संख्या बढेको हो। एकातिर गर्मीको मौसममा यसैपनि अस्पतलामा चाप बढ्छ अर्कोतर्फ मनसुन सुरु हुनु र फोहोरका कारण बिरामी बढ्न थालेको उनको भनाइ छ। फोहोर व्यवस्थापन गर्न नसकेमा हैजा फैलन सक्ने उनी बताउँछन्। 

उता त्रिवि शिक्षण अस्पतलामा पनि बिरामीको संख्या बढेको देखिएको अस्पतलाका सूचना अधिकारी रामविक्रम अधिकारी बताउँछन्। चिकित्सकका अनुसार गर्मी मौसम र फोहोर दुवैका कारण अस्पतलामा बिरामीको चाप बढ्न थालेको हो। वर्षायाम सुरु भएकाले अझै जोखिम बढ्ने चिकित्सकहरु बताउँछन्। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख चुमनलाल दास पनि गर्मी समयमा झाडापखालका बिरामीको संख्या स्वभाविक रुपमा बढ्ने बताउँछन्। उनी भन्छन्,  ‘स्वभाविक रुपमा पनि गर्मी समय र वर्षायाममा झाडापखालका बिरामीको संख्या बढ्छ। यो समयमा उपत्यकामा फोहोर व्यवस्थापन हुन नसक्दा हैजा फैलन सक्छ कि भन्‍ने डर देखिएको छ।’ गर्मी मौसममा झाडापखाला मलेरिया, कालाजार, डेंगु, हैजा लगाएतका समस्या देखिने उनले बताए। 


प्रकाशित: Jun 09, 2022| 19:47 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्