धनगढी- कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ बर्षीया बालिका निर्मला पन्तको घटनामा संलग्नको नजिक पुगेको प्रहरीले दाबी गरेको छ। प्रहरी बलात्कारपछि हत्या गरिएकी बालिकाको घट्नाको अनुसन्धान नजिक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज बिष्टले बताए।
‘मेडिकल र प्राविधिक अनुसन्धान वाहेक अन्य कुरामा अनुसन्धान सफलताको नजिक पुगिसेका छौँ’ विष्टले भने ‘बलात्कार सामूहिक नभएर एक जनाबाट भएको अनुसन्धानले देखाएको छ।’
उनले केहि कुरा वैज्ञानिक रुपमा पुष्टि हुन बाँकी रहेकाले सबै कुरो सार्वजनिक गर्न नसकिने बताए। अनुसन्धान भैरहेको व्यक्तिमाथि मृतकका परिवारले विश्वास गर्न नसकेको प्रहरीको भनाई छ। बिष्टले भने, 'संलग्नको पहिचान भइसकेको छ। अब हामी चाँडै समात्छौं।'
अनुसन्धान प्रभावित हुन सक्ने भएकाले सबै कुरो अहिल्यै खोल्न नसकिने भन्दै उनले संलग्न व्यक्तिलाई प्रहरीले निगरानीमा नै राखेको जानकारी दिए। प्रहरीले अनुसन्धानका क्रममा शंकास्पद थुप्रै व्यक्तिलाई पक्रिने, छोड्ने र निगरानीमा राख्ने काम गरिरहेको छ। साउन ११ गते १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको थियो।
घटनाको अनुसन्धान गर्न थुप्रै टोली कञ्चनपुरमा छन्। साउन ११ गते हराएकी भीमदत्त नगरपालिका-२ कि १३ वर्षीय निर्मला भीमदत्तनगर १८ निम्बुखेडाको उखुबारीमा एक दिनपछि मृत फेला परेकी थिइन।
उनी स्थानीय सरस्वती उच्च माविमा कक्षा ९ मा अध्ययनरत थिईन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी संयोजक रहेको टोली, त्यसैगरी प्रहरी नायव उपरीक्षक एकेन्द्र खड्काकै नेतृत्वमा घटनाको अध्ययन गर्ने अर्को टोली अनुसन्धान खटिएको छ।
प्रदेश ७ मा लामो समय अनुसन्धानमा काम गरेका व्यक्तिहरुको अनुसन्धान टोली पनि खटिएको छ। हत्याको अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोली असार १४ गते देखि नै कञ्चनपुरमा छ।
ब्युरोका डिएसपी अंगुर जिसी नेतृत्वमा तीन सदस्यीय टोली कञ्चनपुरमा सक्रिय छ। प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समूह लगायत विभिन्न दुई दर्जन भन्दा बढी टोलीले अनुसन्धान गरिरहेका छन्। कञ्चनपुरमा किशोरी हत्या प्रकरणको अनुसन्धानमा ढिलाइ भएको भन्दै सवत्र विरोध भैरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४