काठमाडौं- अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फिलन आज चारदिने औपचारिक भ्रमणका लागि नेपाल आउँदै छन्। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको गृहकार्य भइरहेका बेला चार्ल्स नेपाल आउन लागेका हुन्।
सैनिक प्रवक्ता नारायण सिलवालले अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्रका प्रमुख जनरल फिलनको सद्भावना भ्रमण रहेको बताएका छन्। फिलन बिहीबार बेलुकी आफ्नै विमानमा काठमाडौं उत्रने छन्। शुक्रबार उनले शैनिक मुख्यालय जंगी अड्डा भ्रमण गर्ने कार्यक्रम छ।
शुक्रबार उनलाई सैनिक मुख्यालयमा नेपाली सेनाको एक टुकडीले सम्मान गर्नेछ। त्यसपछि प्रधानसेनापति शर्मा र जनरल फिलनबीच भेटवार्ता गर्ने कार्यसूची रहेको छ। शुक्रबार बेलुकी प्रधानसेनापति शर्माले जनरल फिलनको सम्मानमा रात्रिभोज गर्दै छन्।
जनरल फिलनले शनिबार माउन्टेन फ्लाइट गर्ने छन्। उनी सगरमाथा आधार शिविर जाने छन्। सोही क्रममा उनले एभरेष्ट भ्यु होटेलमा बिहानी खाना खानेछन्। उनले आइतबार नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालको भ्रमण गरेर त्यही बिहान खाना खाने छन्।
त्यसपछि उनी शिवपुरीस्थित सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा जाने छन्। यसबीचमा जनरल फिलनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री देउवालाई भेट्ने छन्। भ्रमणमा नयाँ एजेन्डा केही नरहेको र औपचारिक भ्रमण मात्रै रहेको सैनिक मुख्यालयले जनाएको छ।
नेपाल-अमेरिका कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठको अवसरमा दुई मुलुकबीचका उच्च अधिकारीबीच भेटवार्ता हुने भएको हो। प्रधानसेनापति शर्मा आसारमा अमेरिका जाँदैछन्। प्रधानमन्त्री देउवाले पनि असारमै अमेरिका भ्रमण गर्ने बताइए पनि मिति तय हुन सकेको छैन।
उनले नेपाल भ्रमण आउनुअघि मंगलबार भारतीय सेनाका प्रमुख मनोज पाण्डेसँग पनि द्विपक्षीय रक्षा सहकार्यका विषयमा छलफल गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनले भारतीय सेना प्रमुखसँगको कुराकानीमा चीनले हिमालय सीमा क्षेत्रमा 'अस्थिरता र जबरजस्ती' व्यवहार देखाएको बताएका थिए।
एमसीसी बहस तीव्र बनेको र एमसीसी पारित भइसकेपछि नेपालमा अमेरिकी उच्चस्तरीय भ्रमण बाक्लिँदै गएको छ। यसअघि जेठ पहिलो साता अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मामिलाका लागि अमेरिकी विशेष संयोजक उज्रा जियाले नेपाल भ्रमण गरेकी थिइन्। तीन दिने भारत भ्रमण सकेर जियाले जेठ ६-८ सम्म नेपाल भ्रमण गरेकी थिइन्। उनले नेपालमा रहँदा तिब्बती शरणार्थीसँग पनि भेट गरेकी थिइन्।
नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गरेसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ मनाउन जुटेको सयमा जियाको उच्चस्तरीय भ्रमण बढ्नु स्वभाविक भएको बताएका छन्।
यसअघि वैशाखको ९ देखि ११ सम्म सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा ५ सदस्यीय सांसदहरूको टोलीले नेपालको भ्रमण गरेको थियो। वैशाख ६ देखि ८ सम्म दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङले नेपालको भ्रमण गरेकी थिइन्। त्यसअघि नेपालले फागुन १५ मा एमसीसी अनुमोदन गर्नु अघि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेश मन्त्री डोनाल्ड लुले नेपालको भ्रमण गरेका थिए।