काठमाडौं- नेपाल प्रहरीका ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। सोमबारको मन्त्रिपरिषद्को बैठकले डीआईजीबाट बढुवा गरी एआईजी बनाएका ५ जनालाई प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले बुधबार प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
बढुवा भएका एआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरु नवीन कार्ययोजनाका साथ अगाडि बढ्न निर्देशन दिए।
प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले आफ्नो बुद्धि, विवेकले भ्याएसम्म प्रहरी संगठन, देश र नागरिकको सेवामा उच्च मनोबल, नयाँ जोश जाँगर र ईमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे।