काठमाडौं- अब परपुरुष वा परस्त्रीसँग यौन सम्पर्क राखेमा स्वत: सम्बन्धविच्छेद हुने भएको छ।
भदौ १ देखि लाग" हुन लागेको मुलुकी अपराध संहिता ऐनमा यस्तो व्यवस्था गरिएको छ। पत्नीले परपुरुषसँग वा पतिले परस्त्रीसँग यौन सम्बन्ध राखे पति-पत्नीबीच सम्बन्धविच्छेद गर्न सकिने बाटोलार्इ यसले सहज बनाएको छ।
यसअघिको मुलुकी ऐनमा पत्नीले परपुरुषसँग सम्बन्ध राखेमा पतिले सम्बन्धविच्छेद गर्दा लामो प्रकृया पूरा गर्नुपर्ने व्यवस्था थियो। पतिले यौन सम्बन्ध राखेमा सम्बन्धविच्छेद गर्ने व्यवस्था थिएन। तर, नयाँ अपराध संहितामा पतिले परस्त्रीसँग यौन सम्पर्क राखे पत्नीले पतिको मन्जुरीबिना नै सम्बन्धविच्छेद गर्न सक्ने व्यवस्था गरेको छ।
अधिवक्ता शान्तिराम खतिवडाले सम्बन्धविच्छेदको नयाँ व्यवस्थाले महिला र पुरुषलाई बराबरी अधिकार दिएको बताए। उनले यसअघिको मुलुकी ऐनमा लोग्नेले सम्बन्धविच्छेदका लागि सम्बन्धित गाविस र नगरपालिकाको सिफारिस अनिवार्य गरेकामा अहिले त्यस्तो नभएको बताए। खतिवडाले भने, ‘अब महिला र पुरुष जो भए पनि सम्बन्धविच्छेदका लागि सोझै अदालत जान सक्छन्।'
अपराध संहिताको दफा ९४ को 'घ' मा भनिएको छ, ‘पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पतिले पत्नीको मन्जुरीबिना नै सम्बन्धविच्छेद गर्न सक्छ।'
यस्तै, पत्नीले पतिलाई खान लाउन नदिएमा वा घरबाट निकालिदिएमा पनि पतिले पत्नीको मन्जुरीबिना नै सम्बन्धविच्छेद गर्न सक्ने व्यवस्था गरिएको छ। पत्नीले पतिलाई अंगभंग गरी अन्य ठूलो शारीरिक र मानसिक याताना दिएमा पनि सम्बन्धविच्छेद गर्न सक्ने व्यवस्था गरेको छ।
दफा ९५ को 'घ' मा पत्नीले पतिको मन्जुरीबिना सम्बन्धविच्छेद गर्न सक्ने व्यवस्था गरेको छ। त्यस्तै, पतिले अर्को बिहे गरेमा, अन्य महिलासँग यौन सम्बन्ध राखेमा वा पतिले पत्नीसँग जबर्जस्ती करणी गरेमा समेत पत्नीले पतिसँग सम्बन्धविच्छेद गर्नसक्ने प्रावधान देवानी कानूनमा गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४