इटहरी- स्थानीय, प्रदेश र संघीय सरकारले एउटा पनि ठूला उत्पादनमुलक परियोजनाहरू सञ्चालन नगरिरहँदा निजी क्षेत्रले उत्साह देखाएको छ।
कृषिकर्म हुने साविक हाँसपोसा, खनार, पकली र एकम्बा गाविस इटहरी उपमहानगरमा गाभिएपछि कृषि क्षेत्र उपेक्षामा परेको कृषकहरूको गुनासो थियो। गत आर्थिक वर्षमा छुट्याइएको कृषिको रकम सडकमा मात्रै खन्याएको बताउँदै स्थानीयस्तरमा आलोचना भइरहेको छ।
सरकारी बेवास्तालाई हेरेर बसेको छैन, निजी क्षेत्र। उक्त क्षेत्रले इटहरी उपमहानगरमा २३ करोड लागतका दुई ठूला कृषिजन्य परियोजना शुरु गरेको छ। यस्ता छन् ती परियोजना ः
१) २० करोडको दूध प्रशोधन केन्द्र
इटहरीको कामधेनु दुग्ध सहकारी संस्थाले २० करोडको दूध प्रशोधन केन्द्र खोल्दैछ। इटहरी-२० तरहरास्थित कामधेनु दुग्ध सहकारी संस्थाले ४२ कठ्ठामा दुग्ध प्रशोधन केन्द्र निर्माण गरिरहेको छ।
यो प्रशोधन केन्द्रले दैनिक २५ हजार लिटर दूध प्रशोधन गर्ने कामधेनु सहकारीका कार्यसमिति सदस्य लोचन पौडेल बताउँछन्। उनका अनुसार हाल इटहरी-२० स्थित प्रशोधन केन्द्रमा 'प्याकेज्ड' दूध, दही, मही, चिज, ध्यू, पनिर र खुवा बन्नेछन्। उक्त केन्द्रले आइसक्रिम, लस्सी र रसबरी बनाएर प्रदेश-१ का धरान, इटहरी र विराटनगरजस्ता ठूला शहरको माग पूर्ति गर्ने सहकारी संस्थाको लक्ष्य छ।
हाल दैनिक पाँचदेखि सात हजार लिटर दूध प्रशोधन गर्ने कामधेनु सहकारीका चार सय कृषकहरू सदस्य छन्। ५८ वटा कृषि सहकारीहरू पनि यो उद्योगसँग जोडिएका छन्। त्यसका बावजुद सातामा दुई दिन मिल्क होलिडे (दूध खरिद नगर्ने दिन) गर्न सहकारी बाध्य छ।
केही महिनाभित्रै सञ्चालनमा आउने नयाँ प्रशोधन मेसिनको जडान सकिएपछि सबै समस्या हल हुने सहकारीका व्यवस्थापक कृष्ण घिमिरे बताउँछन्। उनका अनुसार २५ हजार लिटर दूध प्रशोधन गरेर क्रमशः ५० हजार लिटर पुर्याउने र मिल्क होलिडे अन्त्य गर्दै विविध परिकारमा जोड दिइने घिमिरेको भनाइ छ।
पूर्वमा दुग्ध विकास संस्थान (डीडीसी)को प्रतिस्पर्धी बन्ने सहकारीको लक्ष्य छ। ०५७ सालमा स्थापना भएको कामधेनु दुग्ध सहकारीमा ७० जना कर्मचारी छन्। प्रशोधन विभागमा मात्रै २२ जना छन् भने सवारी साधन १२ वटा छन्। सहकारीका यी प्राविधिक क्षमतामा थप विकास गरेर प्रदेश-१ का कृषकको दूध मिल्के होलिडेबिना उपभोक्ताकोमा पुर्याउँदै डीडीसीसँग प्रतिस्पर्धा गर्ने सहकारीको लक्ष्य पूरा हुने पौडेल बताउँछन्।
मिल्के होलिडे हटाउन दूध प्रशोधन केन्द्र र विचौलियाको दबदबा अन्त्य गर्न सहुलियतपूर्ण कृषि बजार सञ्चालनको तयारीमा निजी क्षेत्र।
२) विचौलियामुक्त सस्तो कृषि बजार
तीन करोड रुपैयाँभन्दा बढी लगानीमा इटहरीमा पहिलोपटक निजी क्षेत्रबाट सहुलियत सब्जी बजार निर्माणाधीन छ। बजारमा कृषकको उत्पादन सीधै उपभोक्तामा लगेर विचौलियामुक्त बनाइने निर्माणकर्ता समावेशी नेपाल प्रालिको भनाइ छ।
उक्त सहुलियतपूर्ण बजार इटहरी-४ आइतबारेमा निर्माणाधीन छ। केही महिनाभित्रै सञ्चालनमा आउने प्रालिको भनाइ छ। प्रालिको दुई करोड र बैंकको एक करोड ऋणमा बजार निर्माण हुने प्रालिका अध्यक्ष तथा परिकल्पनाकार सुरेश भट्टराईले जानकारी दिए। मोरङ घर भएका भट्टराईका अनुसार इटहरी प्रदेश-१ को केन्द्रमा रहेकाले सहुलियतपूर्ण सब्जी बजारको प्रथम परियोजना शुभारम्भ गरिएको हो।
स्थानीय बासिन्दाको माग र कृषकको उत्साह हेरेर इटहरीका अन्य बस्तीमा पनि सहुलियतपूर्ण सब्जी बजार निर्माण गरिने भट्टराईले जानकारी दिए। 'हाम्रो यो बजारले दैनिक करिब दुई हजार ग्राहकलाई हरेक युनिटबाट सेवा दिन सक्छ,' उनी भन्छन्, 'यतिले मात्रै पुग्दैन। त्यसैले हामी अन्त पनि बजार स्थापनाको गुरुयोजना बनाइरहेका छौं।'
इटहरीमा निर्माणाधीन सब्जी बजारले विभिन्न १३ वटा स्टलबाट सबै भान्साका खाद्य वस्तु उपलब्ध गराउने भएको छ। भान्सामा चाहिने दाल, चामल, चिनीदेखि तरकारी, माछामासु र दुग्ध पदार्थ पनि एकै ठाउँमा खरिद गर्न सकिनेछ।
उक्त सब्जी बजारमा संकलित उत्पादन स्टल मात्र नभई अनलाइनबाट पनि कारोबार गर्ने कम्पनीको लक्ष्य छ। जसअनुसार बजारको एप निर्माण गर्ने र हरेक दिनको मूल्यसूची अद्यावधिक गरेर सार्वजनिक गरिनेछ। र, त्यो मूल्यसूची हेरेर उपभोक्ताले 'अर्डर' गरेपछि होम डेलिभेरी पनि गरिने कम्पनी अध्यक्ष भट्टराई बताउँछन्। इटहरी र आसपासका क्षेत्रमा होम डेलिभरी गरिने उनी बताउँछन्।
सब्जी बजारमा कृषकले बिक्री गरेको कृषि उत्पादनको ढुवानी र केही प्रतिशत स्टाफ खर्च मात्रै कटाउने भएकाले सस्तोमा सब्जी उपलब्ध हुने कम्पनीको दाबी छ। प्रांगारिक, किटनासक मल प्रयोग नभएको र अन्य साधारण गरी तीनखाले सब्जीहरू बजारमा उपलब्ध हुने कम्पनीले बताएको छ।
झापा, मोरङ, सुनसरी, धनकुटा र तेह्रथुमका कृषक समूहहरूसँग सीधा समन्वयमा सब्जी खरिद गरिने र ल्याएर सहुलियत मूल्यमा उपभोक्तामा पुर्याइने कम्पनी अध्यक्ष भट्टराई बताउँछन्। 'अहिले उपभोक्ताले सब्जीको कृषकले पाउनेभन्दा विचौलियाले खाएको मूल्यका कारण धेरै महँगो भएको हो,' भट्टराई भन्छन्, 'तर, हाम्रो बजारको उद्देश्य सामान्य ढुवानी र केही स्टाफ खर्चबाहेक थप नाफा नलिएर सहुलियतपूर्ण सब्जी बेच्ने हो।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४