काठमाडौं- देशका भिन्नाभिन्नै स्थानबाट लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
रौतहट, चन्द्रपुर नगरपालिका-६ थोकरटोल बस्ने ५२ वर्षीय पनिलाल दासलाई अवैध लागूऔषध ७ किलोग्राम गाँजासहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटीएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा कोठाभित्र प्लाष्टिकको झोलामा लुकाई राखेको उक्त गाँजा बरामद गरी उनलाई पक्राउ गरेको हो।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-५ बिहानी टोलबाट १ सय ४० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित सोही नगरपालिका चिसापानी बस्ने १७ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
कर्णाली प्रदेश लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटीएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा ती किशोरलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।
कैलालीको धनगढी उपमहानगरपालिका-२ बस्ने २८ वर्षीय हेम खत्रीलाई ८ ग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। उनको घरमा लागूऔषध खैरो हेरोइनको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारेको जनाएको छ। सबै घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ।