काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई निलम्बन गर्न संघीय मामिला तथा समान्य प्रशासन मन्त्राललाई आग्रह गरेको छ। आयोगले मुद्दा विचाराधीन अवस्थामा रहेका र कसुर ठहर भएका व्यक्तिहरु निर्वाचित भएकोले उनीहरुलाई निलम्बन गर्न आग्रह गरेको हो।
यसरी कसुर ठहर अथवा आरोप लागेर मुद्दा विचाराधिन रहेका जनप्रतिनिधिहरुमा कैलाली जिल्ला, मोहन्याल गाउँपालिका, वडा नं २ मा निर्वाचित देवीदत्त उपाध्याय, वडा नम्बर ३ मा वडाध्यक्ष नन्दराम गिरी, नुवाकोटको बिदुर नगरपालिका, वडा नम्बर ९ का हरिराम भण्डारी र अछामको पंचदेवल विनायक नगरपालिका-७ का वडाध्यक्ष सुरतबहादुर रावल रहेका छन्।
उपाध्यायले सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेकोमा आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र दफा १७ को कसुरमा २०७९ वैशाख २ गते विशेष अदालतमा आरोपपत्र दायर भएको थियो।
त्यसैगरी नन्दराम गिरीले सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र दफा १७ को कसुरमा २०७९ वैशाख २ गते विशेष अदालतमा आरोपपत्र दायर भएको थियो।
त्यस्तै हरिराम बिदुर-९ मा रहेको सुलक्षण माध्यमिक विद्यालयका प्रध्यानाध्यापक हुँदा विद्यालयको रकम हिनामिना गरी भ्रष्टाचार गरेको कसुरमा विशेष अदालतमा मुद्दा दायर भएको थियो।
अछामका रावलले पंचदेवल विनायक- ७ को कालीदेवी माध्यमिक विद्यालयको प्राथमिक तहका शिक्षक रहँदा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सेवामा बहाल रहेको भन्दै २०७६ वैशाख ५ मा मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको थियो।