बिहीबार, वैशाख २०, २०८१

नयाँ राजनीतिक समीकरणको खोजीमा नेकपा एस

त्यसो त निर्वाचनअघि तालमेल गर्दा नै अपमान भएको निष्कर्षमा सो पार्टीका नेताहरु पुगेका थिए। उनीहरुको त्यही निष्कर्षमा थप बल परिणामले पुर्‍याइदिएको छ।
 |  मंगलबार, जेठ २४, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

मंगलबार, जेठ २४, २०७९

काठमाडौं– स्थानीय तहको निर्वाचन परिणामले पैदा गरेको निराशाका कारण असन्तुष्ट बनेको नेकपा (एकीकृत समाजवादी) नयाँ राजनीतिक समीकरणको खोजीमा देखिएको छ। पाँच दलीय गठबन्धनको जगमा चुनावमा होमिँदा अपेक्षित परिणाम आउन नसकेकाले नयाँ समीकरणबारे सोच्ने अवस्थामा पार्टी पुगेको हो।

triton college

त्यसो त निर्वाचनअघि तालमेल गर्दा नै अपमान भएको निष्कर्षमा सो पार्टीका नेताहरु पुगेका थिए। उनीहरुको त्यही निष्कर्षमा थप बल परिणामले पुर्‍याइदिएको छ। भागवण्डाको हिसाब मिलानमै गडबडी देखेको समाजवादी मतपरिणाम आएपछि सत्ता गठबन्धनप्रति असन्तुष्ट मात्रै छैन, राजनीतिक विरक्तिमा समेत रुमलिएको देखिन्छ। फलस्वरुप चुनावी समीकरण फेर्नेसम्मको बहस पार्टीभित्र चल्न थालेको छ। 

अध्यक्ष माधवकुमार नेपालनिकट एक नेताका अनुसार पार्टीभित्र आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा रणनीति फेरेर अघि बढ्नुपर्ने बहस सुरु भएको छ। र, त्यसका लागि केही एमाले नेताहरुसँग छलफल भएको ती नेता बताउँछन्। एमाले अध्यक्ष केपी शर्मा ओली सच्चिएको र लचिलो भएको अवस्थामा एमालेसँगै तालमेल गरेर जानुपर्ने बहस समाजवादीमा सुरु भएको छ। 

‘अबको चुनावमा मिलेर जाऔँ भनेर एमालेका केही नेताहरु छलफलमा आउनुभएको छ। यदि ओली सच्चिएको अवस्थामा हामीले पनि अरु दलसँग भन्दा एमालेसँगै सहकार्य गर्दा फाइदा पुग्ने देखेका छौं,’ ती नेताले भने, ‘एमाले हामीले वर्षौं दुःख गरेको पार्टी हो। आफैंले रगत, पसिना बगाएको पार्टीसँग मिलेर काम गर्ने इच्छा त हुन्छ नै! तर, त्यसको पहिलो शर्त भनेको ओली सच्चिनुपर्छ भन्ने हो। यदि उहाँ सच्चिनुभयो भने एमालेसँग सहकार्य गर्न गाह्रो छैन।’ 

यद्यपि ओलीको कार्यशैलीमा परिवर्तन नदेखिकाले आशावादी भइहाल्ने अवस्थामा भने समाजवादी छैन। ओली प्रवृत्ति सुध्रने छाँट नदेखिएकाले यसै भन्ने अवस्था नरहेको ती नेताले सुनाए। पार्टीका सम्मानित नेता झलनाथ खनाल खुलेरै बाम गठबन्धनको पक्षमा वकालत गरिरहेका छन्। तर, नेपाल र उनी निकट नेताहरुले भने अहिलेको गठबन्धनप्रति असन्तुष्टि पोखिरहे पनि नयाँ समीकरणमा जाने विषयमा मुख खोलेका छैनन्। 

corrent noodles
Metro Mart

चुनाव अघिदेखिकै असन्तुष्टि

माधव नेपाल अहिलेको गठबन्धनलाई लिएर सुरुदेखि नै असन्तुष्ट देखिन्थे। चुनावको पूर्वसन्ध्यामा उनले सिट बाँडफाँडको विषयलाई लिएर असन्तुष्टि हरेकजसो भाषणमा जाहेर गर्ने गरेका थिए। खासमा २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेका ठाउँमा आफ्नो पार्टीको पहिलो हक लाग्ने उनको दाबी थियो। तर, गठबन्धनमा आवद्ध अन्य दल उनको तर्कमा सहमत भएनन्। एमालेले जितेका तहमा उनकै तर्कअनुसार पहिलो हक स्थापित नभएपछि उनले असन्तुष्टि पोख्दै आएका थिए। महानगरपालिका र उपमहानगरपालिकाको बागवण्डामा नेपालको असन्तुष्टि थिएन। तर, नगरपालिका र गाउँपालिकामा भने समाजवादीलाई हेपिएको उनको गुनासो थियो।

‘विभिन्न जिल्लाको रिपोर्टहरू सुन्दा त्यति आशावादी र उत्साही हुने स्थिति छैन। हामीले भनेका थियौं, देशैभर हाम्रो पार्टीको सञ्जाल छ, संगठन छ। त्यसो हुनाले देशैभर हाम्रो पार्टीले न्यूनतम रुपमा पनि हाम्रो उपस्थिति हुनैपर्छ,’ नेपालले चुनावअघि भनेका थिए।

यसरी चुनावअघिबाटै गठबन्धनप्रति असन्तुष्ट रहेका नेपाल चुनावपछि गठबन्धनप्रति थप आक्रामक सुनिन थालेका छन्। गत जेठ ३ गते २९औं मदन–आश्रित स्मृति दिवसको अवसरमा बोल्दै गठबन्धनले धोका दिएको आरोप लगाएका थिए उनले। स्थानीय तहको निर्वाचनमा सोचेजस्तो परिणाम आउन नसक्नुमा गठबन्धन दलले नै सहयोग नगरेको उनको भनाइ थियो। ‘कतिपय स्थानमा राम्रै अवस्था पनि छ, तर कतिपय ठाउँमा अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौं। गठबन्धनका घटकहरूले हामीसँग सहकार्य चाहेनन्,’ नेपालको चुनावी विश्लेषण छ।

चुनावी समीक्षा गर्न बसेको सचिवालय बैठकले पनि स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनले धोका दिएको निष्कर्ष निकालेको छ। समाजवादीले समग्र चुनावी समीक्षाका लागि सूचना संकलन गर्न नेताहरुलाई प्रदेशगत जिम्मेवारी समेत दिएको छ। 

त्यसो त निर्वाचनअघि तालमेल गर्दा नै अपमान भएको निष्कर्षमा सो पार्टीका नेताहरु पुगेका थिए। उनीहरुको त्यही निष्कर्षमा थप बल परिणामले पुर्‍याइदिएको छ।

त्यस्तै, मुस्लिम इत्तेहाद संगठन नेपालले हालै गरेको कायक्रममा अध्यक्ष नेपालले कांग्रेसले धोका दिएको आरोप लगाएका थिए। कांग्रेसका नेता–कार्यकर्ताले तालमेलअनुसार इमान्दारितापूर्वक भोट नखसालेका कारण आफ्नो पार्टी पराजित भएको उनको भनाइ थियो। 

७५३ मध्ये ३२९ वटा स्थानीय तह जितेर नेपाली कांग्रेस पहिलो दल बन्दा समाजवादीले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकासहित २० स्थानमा जित हात पारेको छ। कांग्रेसले प्रमुख–अध्यक्ष र समाजवादीले उपप्रमुख–उपाध्यक्ष पाएका स्थानको मतपरिणाम केलाउने हो भने पनि नतिजा समाजवादीका लागि निराशाजनक नै छ। 

त्यस्तै, नेकपा एसकै संस्थापक निर्णयहरुमै असन्तुष्ट देखिइरहने पार्टीका नेता झलनाथ खनालले पनि अहिलेको गठबन्धनसँग अघि बढ्न नहुने टिप्पणी निरन्तर गरिरहेका छन्। ‘गठबन्धन हामीसँग भन्ने, भोट चाहिँ कांग्रेसले एमालेलाई हाल्ने गरेको देखियो। कांग्रेससँग तालमेल गर्न एकदम कठिन रहेछ,’ खनालले भनेका थिए। 

खनाल तिनै नेता हुन्, जसले ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी अनुमोदन गर्ने सत्ता गठबन्धन र एकीकृत समाजवादीको संस्थागत निर्णयमै आपत्ति जनाएका थिए। त्यसपछि उनी निरन्तर पार्टीभित्रका प्रतिपक्षजस्ता देखिएका छन्। यद्यपि, चुनावी परिणामलाई लिएर भने नेकपा एसभित्र एकमत देखिन्छ। नेताहरुले गठबन्धनबाट धोका पाएको आवाज बोलिरहेका छन्। सबै पक्षले नयाँ समीकरण चाहेको नेपाल निकट नेताहरुले नै स्वीकार गरिसकेका छन्। 

गठबन्धनप्रति पेचिलो सुनिएका माधव नेपाल यसबीचमा केही नरम पनि हुन नथालेका हैनन्। १९ जेठमा सुर्खेत पुगेका अध्यक्ष नेपालले प्रधानमन्त्रीकै अफर आए पनि गठबन्धनकै पक्षमा उभिने बताएका थिए। वाम गठबन्धन र एमालेसँग एकीकरणको चर्चा चले पनि तत्काल यो दुवै सम्भावना नरहेको स्पष्टोक्ति नेपालले दिएका थिए।

मन्त्री फेरबदलले किचलो

गत आइतबार समाजवादीले मन्त्री फेरवदल गर्ने निर्णय लिएको थियो। सरकारमा सहभागी हुँदा नै ६ महिनामा मन्त्री परिवर्तन गर्ने सहमति भएको दाबी सहित समाजवादीले मन्त्री फेरवदल गर्ने निर्णय लिएको थियो। तर, सोमबारसम्म आइपुग्दा समाजवादीको निर्णय निष्कृय बन्न पुग्यो। समाजवादीको मन्त्री फेरबदल गर्ने निर्णयलाई गठबन्धनका अन्य दलले अस्वीकार गरिदिए, जुन माधव नेपालका लागि मात्रै होइन समाजवादी पार्टीकै लागि एक प्रकारको धक्का हो। हाम्रो प्रणालीमा मन्त्री चयन र फेरबदलमा पार्टीका निर्णयमा निर्भर रहन्छ।

तर, समाजवादीको पछिल्लो निर्णयको हकमा भने यस्तो भएन। समाजवादीले मौजुदा मन्त्रिपरिषद्मा रहेका सबै मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो। तर, प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्री परिवर्तन गर्न तयार देखिएनन्। समाजवादीको निर्णयलाई धक्का पुग्ने कुरामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहायक कारकका रुपमा देखिएका छन्। 

मन्त्री फेरवदल प्रकरण समाजवादीभित्र द्वन्द्वमा परिणत भइसकेको छ। यो प्रकरणपछि नेपाल फेरि गठबन्धनबाट चिढिन थालेको नेकपा एसका एक केन्द्रीय सदस्यले बताए। ‘पार्टीको निर्णयलाई प्रधानमन्त्रीले मान्दिनँ भनेपछि नेताहरु फेरि केही चिढिनुभएको छ। यही फेरोमा एमालेका संस्थापन इतर नेताहरु पार्टी नेताहरुसँग छलफलमा आएका छन्,’ ती नेताले भने, ‘संसदीय चुनावमा एमाले र एकीकृत समाजवादी एक भएर जानुपर्छ भन्ने खालका कुरा पनि आएका छन्। तर, ओली नसच्चिएको अवस्थामा यो सम्भव छैन। केही लचक भएको अवस्थामा भने कांग्रेसभन्दा वाम घटकसँगै तालमेल गर्नु ठिक हुने बुझाइ हाम्रो नेताहरुको छ।’

नेताहरु घनश्याम भुसाल, योगेश भट्टराईहरु निरन्तर छलफलमा आइरहेको नेकपा एसका एक नेताले बताए। संसदीय चुनावमा एमाले र एकीकृत समाजवादी एक भएर जानुपर्ने भन्दै एमालेका नेताहरु सम्पर्कमा आइरहेको ती नेताको दाबी छ।

‘अबको चुनावमा मिलेर जाऔँ भनेर एमालेका केही नेताहरु सम्पर्क, छलफलमा आइरहनुभएको छ। यदि केपी ओली सच्चिएको अवस्थामा हामीले पनि एमालेसँगै सहकार्य गर्न चाहेका छौं। तर, ओलीको प्रवृत्तिलाई सुध्रिएको छाँट नपाएकोले यसै गर्ने भनेर भन्न सकिँदैन,’ ती नेताले नेपाल समयसँग भने।

प्रकाशित: Jun 07, 2022| 17:47 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...