काठमाडौं- बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गरेका स्थानीयमाथि बल प्रयोग गरेर फोहोरका गाडी पठाइएको छ। स्थानीयले आफूहरूका माग पूरा नभएको भन्दै आन्दोलन गरेपछि बल प्रयोग गरी फोहोर विसर्जन गर्न थालिएको हो।
स्थानीयहरुले पूरा हुन नसक्ने माग राखेकाले बल प्रयोग गरेरै भएपनि फोहोर विसर्जनको काम गरिने सहरी विकास मन्त्रालयले बताएको छ।
'स्थानीयका अधिकांश मागका विषयमा सहमति भइसकेको छ। आज बिहानदेखि आएका माग पूरा गर्न सकिने प्रकृतिका छैनन्,' सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भनिन्, 'फोहोर फाल्ने काममा स्थानीयले अवरोध गर्नुहुन्न। यदि त्यस्तो भयो भने प्रहरी स्कर्टिङ गरेर भएपनि हामी फोहोर व्यवस्थापनको काम अघि बढाउँछौँ।'
स्थानीयले अवरोध गरेपछि प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले नियन्त्रणमा लिएको स्थानीय बादल गजुरेलले जानकारी दिए। प्रहरी र सशस्त्र प्रहरी मिलेर बल प्रयोग गरी स्थानीयलाई नियन्त्रणमा लिने काम भइरहेको छ।