सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • बर्दिया घटना : छानबिन समिति गठन, संसद्‍मा गृहमन्त्रीको ध्यानाकर्षण

Siddartha premir insuranceSiddartha premir insurance

बर्दिया घटना : छानबिन समिति गठन, संसद्‍मा गृहमन्त्रीको ध्यानाकर्षण

बर्दियामा सोमबार भएको घटनाका वियषमा छानबिन गर्न गृह मन्त्रालयले सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ।
 |  मंगलबार, जेठ २४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

काठमाडौं– बर्दियामा सोमबार भएको घटनाका वियषमा छानबिन गर्न गृह मन्त्रालयले सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। 

triton college

समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक (सहसचिव) बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य छन्।

भएको के थियो?

बर्दियामा बाघको आक्रमणपछि उत्पन्न तनावग्रस्त भीडमा प्रहरीले गोली चलाउँदा एक महिलाको मृत्यु भएपछि तनाव झन् थपिएको छ। प्रहरीले चलाएको गोली लागेर स्थानीय नबिना थारुको मृत्यु भएको हो। गोली लागेर घाइते भएकी थारुको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो।

बर्दियाको मधुवन नगरपालिका–२ सोनाहामा सामेबार बिहान ९ बजेतिर सोही ठाउँकी ४१ की अस्मिता थारु बाघको आक्रमणमा परेकी थिइन्। आफ्नो घरदेखि अन्दाजी १०० मिटर दक्षिणतर्फ खेतबारीमा खनजोत गरी रुखको छहारीमा बसेको अवस्थामा सोनाहा फाटा जंगलबाट आएको बाघले थारुलाई आक्रमण गरेको थियो। आक्रमणबाट उनी घाइते भएकी थिइन्।

Metro Mart
vianet

थारुको कम्मरभन्दा मुनिको भाग, दाहिने हात र तिघ्रामा कोतरिएको थियो। त्यसपछि उनलाई उपचारको लागि नेपालगञ्ज पठाइएको थियो। 

बाघको आक्रमणले घाइते बनाएको विषयलाई लिएर सोमबार नै दिउँसो सवा १ बजेदेखि मधुवन नगरपालिका–३ ओराली बजारमा चमेली गौरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कालुराम थारुको नेतृत्वमा बाघ आक्रमणलाई नियन्त्रण गरिनुपर्ने, तारजालीको व्यवस्था हुनुपर्ने जस्ता माग राखी आन्दोलन गर्दै हुलाकी सडक अवरुद्ध पारिएको थियो।

दिउँसो पौने ४ बजे बर्दिया राष्ट्रिय निकुञ्जबाट रेन्जरसहित १० जनाको टोली एवम् सुरक्षाकर्मीसहित बाघ नियन्त्रणको लागि घटनास्थलमा खटिएको थियो। सुरक्षाकर्मीले राजमार्ग खुलाउनका लागि आवश्यक समन्वय गरिरहेका बेला बेलुका सवा ६ बजेतिर भीड आक्रोशित भई सुरक्षाकर्मीमाथि नै आक्रमणमा उत्रिएको प्रहरीको दाबी छ।

त्यसपछि प्रहरीले १ राउण्ड गोली र १९ राउण्ड अश्रु ग्यास चलाएको थियो। प्रहरीले फायर खोलेपछि आक्रोशित भीडले अस्थायी प्रहरी बिट ओराली बजारमा राखिएका नेपाल प्रहरीको ३ वटा मोटरसाइकलमा आगजनी गरेको थियो। प्रहरी बिट तोडफोड तथा बिटमा कार्यरत प्रहरीका लत्ताकपडा समेत सडकमा ल्याई आगो लगाइएको थियो।

प्रदर्शनका क्रममा नेपाल प्रहरीतर्फ १४ जना घाइते भएका छन्। सशस्त्र प्रहरी बलतर्फ २ जना घाइते भएका बर्दिया प्रहरीले जनाएको छ।

आज पनि प्रदर्शन जारी

ओराली बजार आज पनि बिहानैदेखि तनावग्रस्त छ। घटनालाई लिएर स्थानीयले हुलाकी सडक अन्तर्गत ओराली बजार—गुलरिया र राजापुर सडक खण्डमा टायर बालेर अवरोध जारी राखेका छन्। 

मधुवन नगरपालिकामा घटनालाई लिएर जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरीका डीआईजी, प्रजिअलगायतको सर्वपक्षीय बैठक बसेको छ। बैठकमा राजनीतिक दलका प्रतिनिधि पनि सहभागी छन्। प्रहरीले गोली चलाउनु नपर्ने अवस्थामा मानिसलाई ताकेर हानेको, प्रदर्शनकारीले प्रजिअ, वनका प्रमुखलाई ओराली बजारमा छलफलका लागि बोलाउँदा नआएपछि जबरजस्ती बल प्रयोग गरिएको भन्दै दलका प्रतिनिधिले आक्रोश पोखेका छन्।

प्रहरीको गोली लागी मृत्यु भएकी चौधरीको शव अस्पतालमा राखिएको छ। समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन माग गर्दै वन्यजन्तु पीडितले प्रदर्शन गरेका हुन्। खाता जैविकमार्गमा विगत तीन वर्षयता बाघको आक्रमणमा नौ जनाको ज्यान गइसकेको छ। १३ दिनअघि पनि मधुवन नगरपालिका—२ मा बाख्रा चराउन गएकी ४९ वर्षिया कौशिका पालको बाघको आक्रमणमा मृत्यु भएको थियो। 

यस क्षेत्रमा निरन्तर बाघको आक्रमण बढेपछि स्थानीय प्रदर्शनमा उत्रेका हुन्। बाघलाई नियन्त्रणमा लिनुपर्ने र तारबार लगाउनुपर्ने माग स्थानीयको छ।

संसद्मा गृहमन्त्रीको ध्यानाकर्षण

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले बर्दिया घटनाको सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्। प्रहरीले गोली चलाउनु नपर्ने अवस्थामा गोली चलाएको र स्थानीयमाथि ज्यादती गरेको आरोप सांसदहरुको छ। 

सांसद विमला बिकले बर्दियाका नागरिक बाघ, हात्ती, चितुवा, गैंडासँगै अहिले राज्यबाट पनि आतंकित भएको बताइन्। उनले भनिन्, ‘युनिफर्म लगाएका प्रहरीबाट आतंकित भएका छन्। राज्यलाई ध्यानाकर्षण गराउन केहीबेर अवरुद्ध गर्दा जनतामाथि गोली चलाइयो। जनताले हतियार बोकेका थिएनन्, सार्वजनिक सम्पत्ति नष्ट गरेका थिएनन्। शान्तिपूर्ण प्रदर्शन गर्दा गोली चलाइयो।’

नेपाली कांग्रेसका सांसद गगन थापाले अछामको घटना विभत्स र आपराधिक भएको भन्दै दोषीलाई कडाभन्दा कारबाही हुनुपर्ने माग गरे। 

दोषी छुट्दै नछुटोस् र निर्दोष नफसोस् भन्दै उनले गृहमन्त्रीको ध्यानाकर्षण गराए। अनुसन्धान नगरी दोषी किटान नहोस् भन्ने कुरामा पनि सतर्कता अपनाउनुपर्ने उनको भनाइ थियो। 

सांसदहरू खगराज अधिकारी, भीम रावल, विमला विक, सूर्य पाठक, लालबहादुर थापा, यज्ञबहादुर बोगटीले बर्दियाको गोलीकाण्डलाई लिएर सरकारको विरोध गरेका थिए। एमाले सांसद घनश्याम खतिवडाले बर्दियामा भएको गोलीकाण्डबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरे।

सभामुख अग्निप्रसाद सापकोटाले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै गृहमन्त्री बालकृष्ण खाणलाई यसबारे जवाफ दिन समय दिएका छन्। मन्त्री खाणले सांसदहरुले उठाएका विषयमा सरकारको ध्यानार्षण भएको बताएका छन्।


मन्त्री खाणले बर्दियाको मधुवन नगरपालिका–२ सोनाहामा माथिको आदेशबिनै प्रहरीले गोली चलाएको जानकारी दिए। कसरी गोली चल्यो भनेर छानबिन गरिने उनले बताए।

उनले भने, ‘प्रजिअले गोली चलाउने आदेश दिएको छैन भन्नुभएको छैन। नागरिकको भीडमा गोली चलाउने आदेश छँदैछैन। सम्झाइबुझाइ गर्ने, सर्वपक्षीय–सर्वदलीय बैठक राखेर समस्या समाधान गर्ने हो।’

छानबिन गरेर गल्ती गर्नेलाई कारबाही हुने प्रतिबद्धता उनले जनाए। उनले भने, ‘नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व हो। गोली चलाउने आदेश कसले दियो यसबारे छानबिन हुन्छ।’

प्रकाशित: Jun 07, 2022| 12:18 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।