काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् ।
कसैले नेपालका अस्पतालहरुको दयनीय अवस्थालाई मुख्य समाचार बनाएका छन् भने कसैले देशभर मलको अभाव भएको विषयलाई प्राथमिकतामा पारेका छन् ।
आजको कान्तिपुर दैनिकले नेपालका अस्पतालहरु सुविधासम्पन्न नभएकै कारण विरामीले सास्ती भोग्ने गरेको विषयलाई मुख्य समाचार बनाएको छ । देशभित्र असुविधा, बाहिर उपचार शीर्षकमा खबर लेखेको छ ।
नेपालका जिल्ला अस्पतालहरुमा प्रसूति सेवा समेत नपाइने अवस्था बन्दै गएपछि स्वास्थ्य उपचारका लागि नेपालीहरु दिल्ली पुग्ने गरेको कान्तिपुरले उल्लेख गरेको छ । उसका अनुसार दिल्लीका महँगा अस्पतालमा उपचार गराउने बिरामीमध्ये कम्तिमा एक चौथाइ नेपाली रहेका छन् ।
अन्नपूर्ण पोस्टले भने देशैभरि मलको अभाव भएको विषयलाई मुख्य समाचार बनाएको छ । देशभर ४ लाख बोरा युरियाको माग भएपनि हाल कृषि सामाग्री केन्द्रसंग जम्मा ५० हजार बोरा मात्रै मल रहेको छ । ५० जिल्लामा त युरिया मल नै नभएको अन्नपूर्णले लेखेको छ । उसका अनुसार हाल २ हजार टन डिपीए मल चाहिने अवस्था छ तर सरकारसंग जम्मा १ हजार टन मात्रै छ ।
नागरिक दैनिकले भने बाँकेको सिक्टा सिँचाइ आयोजनामा भएको अनियमिततालाई फलोअप गरेको छ । उसले आयोजनाको प्रमुख नै गैरजिम्मेवार हुँदा मूल नहरमा गुणस्तरहीन काम भएको उल्लेख गरेको छ ।
यस्तै सरकार विल्पवप्रति कडा शीर्षकको खबरलाई पनि नागरिकले महत्वकासाथ प्रकाशित गरेको छ । गृहमन्त्री रामबहादुर थापा वादलले शान्ति सुरक्षामा असर पर्ने काम गर्नेर्ला जहाँ भेट्यो पक्राउ गर्नु भनि निर्देशन दिएका छन् ।
नयाँ पत्रिका दैनिकले भने छोरीलाई जन्मनै निषेध शीर्षकमा कभर स्टोरी छापेको छ । पहिलो सन्तान छोरी जन्मिए दोस्रोपटक लिंग पहिचान गरेर गर्भपतन गर्ने प्रवृतिले छोरीको जन्म नै घटेको नयाँ पत्रिकाले लेखेको छ । उसले गतवर्ष मात्रै ३ लाख २३ हजार महिलाले गर्भपतन गराएको खुलासा गरेको छ ।
यस्तै कर बढाउन र खर्च गर्न हतार नगर्न स्थानीय तहलाई अर्थमन्त्रीले सुझाव दिएको विषलाई आजको कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । उसले गुणस्तरहीन हेल्मेटको बिगबिगी भएको पनि खबर प्रकाशित गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४