काठमाडौं– विश्व वातावरण दिवसको अवसर पारेर आइतबार नेपाल मानव धर्म सेवा समितिले वृक्षरोपण कार्यक्रम गरेको छ। समितिले काठमाडौंको गौशालास्थित भण्डारखाल क्षेत्र र शिवपुरीबाबा समाधी स्थल वरपर वृक्षरोपण गरेको हो।
नेपाल मानव धर्म सेवा समिति बागमति प्रदेश प्रमुख लता बाईजी, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा तथा काठमाडांैं महानगरपालिका वडा नं ८ का अध्यक्ष आशामान संगतले संयुक्त रुपमा वृक्षरोपण गरी कार्यक्रमको उद्घाटन गरेका थिए।
समितिले झण्डै डेढ सय बिरुवा रोपेको छ। पृथ्वी सबैको साझा हो, यसलाई सबै मिलेर जोगाउनुपर्छ भन्ने भावनाका साथ वृक्षरोपण गरिएको प्रमुख वाईजीले बताइन्। वातावरण सफा राख्न हामी सबैले अरुको मुख नताकी आफ्नो तर्फबाट नै प्रयास गर्नुपर्नेमा उनले जोड दिएकी थिइन्।
त्यस्तै नवनिर्वाचित वडाध्यक्षले वृक्षरोपण जस्तो महान काममा आफूपनि सरिक हुन पाउँदा खुसी लागेको र यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने बताए। नेपाल मानव धर्म सेवा समितिले आध्यात्मिक चेतना जगाउने कार्यक्रमका साथै विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।