काठमाडौं- मुस्ताङ, कपिलवस्तु र गोरखामा गरी तीन जना मृत फेला परेका छन्।
मुस्ताङको थासाङ गाउँपालिका-४ तल्लो घाँसा बस्ने ७० वर्षीया सुकदेवी सोही ठाउँस्थित थाप्लाङखोला जंगलमा आइतबार मृत अवस्थामा फेला परेकी छन्। सल्लाको दियालो खोज्न भनी शनिबार उक्त जंगलमा गएकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा मृत फेला परेकी प्रहरीले जनाएको छ।
कपिलवस्तु, बिजयनगर गाउँपालिका-१ सुरईखोलामा सोही गाउँपालिका थरौली बस्ने ४४ वर्षीय जोक बहादुर खानगह शनिबार मृत अवस्थामा फेला परेका छन्।
शनिबार घरबाट माछा मार्न भनी खोलामा गएकोमा उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा खोलामा उनको शव फेला परेको हो।
गोरखा, पालुङटार नगरपालिका-७ कुनाखेतस्थित मर्स्याङ्दी नदीको किनारमा परिचय खुल्न नसकेका अन्दाजी ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्। प्रहरीले सबै घटनाका बारेमा अनुसन्धान थालिरहेको जनाएको छ।