काठमाडौं– काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि छुट्टै संकेत चिन्ह तयार गरेको छ। उक्त चिन्ह होटल–रेस्टुरेन्टहरुले स्वेच्छिक रुपमा आफ्नो शौचालयमा राखेर सार्वजनिक रुपमा खुला गर्न सक्नेछन्।
सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारिएको महानगरपालिकाले जनाएको छ। गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ। बीच भागमा सेतो रङमै महिला र पुरुषको चिन्ह रहेको छ। संकेत चिन्हको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ।
महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, कम्पनी, गैरसरकारी संघसंस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकले महानगरको सार्वजनिक निजी साझेदारी एकाईमा सम्पर्क राख्न सार्वजनिक आह्वान गरिसकिइको छ।
काठमाडौं महानगरपालिकामा मेयरको पदबहाली गर्नासाथ बालेन शाहले सार्वजनिक शौचालयका लागि सार्वजनिक आह्वान गरेका थिए। केही होटल–रेष्टुरेन्ट तथा अटोमोबाइल शोरुमले आफ्नो शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुला गरिसकेका पनि छन्।