विराटनगर- मोरङको रतुवामाईमा मोटरसाइकल दुर्घटनामा परेर आइतबार साँझ एक युवकको मृत्यु भएको छ। रतुवामाई नगरपालिका-१ हटिया डाँडास्थित आमबारी-कुटुमगञ्ज सडकखण्डमा दुर्घटना हुँदा सुनवर्षी नगरपालिका-९ का अन्दाजी २५ वर्षीय राजकुमार शर्माको मृत्यु भएको हो।
उनले चलाएको मे४प ४५५१ नम्बरको मोटरसाइकल उत्तरबाट दक्षिणतर्फ जानेक्रममा आफैँ अनियन्त्रित भएर साँझ ५:२० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटना हुँदा टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन्। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भारतीय नागरिक अन्दाजी २२ वर्षीय किसन कुमजार कामत घाइते भएको प्रहरीले जनाएको छ।
भारत अररिया कुसाकट्टा घर भएका कामतको रंगेली अस्पतालमै उपचार भइरहेको छ। प्रहरीका अनुसार दुर्घटनामा परेर मृत्यु भएका मोटरसाइकल चालकको साथमा आवश्यक कागजपत्र फेला परेको छैन।