म्याग्दी- मानवीय अतिक्रमण र लापरबाहीका कारण हिमाली जिल्ला म्याग्दीमा वातावरणीय सङ्कटका असर देखिन थालेका छन्। विकास भनेकै सडक निर्माण हो भन्ने प्रवृत्तीका कारण यहाँका ग्रामीण क्षेत्रमा वातावरणीय क्षति हुनेक्रम बढ्दै गएको छ। विकासका नाउँमा डोजर, स्काभेटरलगायत मेसिनहरू गाउँतिर उक्लिएपछि ग्रामीण क्षेत्रको वातावरण खलबलिएको छ भने प्राकृतिक सम्पदा र मौलिक ग्रामीण जीवन पद्धतिमाथि असर परेको छ।
ग्रामीण क्षेत्रको वातावरणीय सन्तुलनका आधार मानिने चौतारी एवं पोखरी मासिएपछि स्वच्छ हावापानी दुर्लभ बन्दै गएको छ। गाउँघरका पाटीपौवा र चौतारा विस्थापित भएका छन्। गाउँबस्तीका पारिस्थितीक प्रणालीमा जोखिम थपिँदै गएका छन्। चौतारी र पाटी पौवाहरू मासिँदै जाँदा ग्रामीण जीवनको गर्विलो इतिहास हराउँदै गएको छ।
अर्जुन मावि भकुण्डको शिक्षक रघुनाथ शर्मा भन्छन्, 'अब थकाइ लाग्दा सुस्ताउने चौतारा पनि भेटिदैनन्। सडक विस्तारसँगै चौतारा विस्थापित भए।' वर्षभरि धान फल्ने खेतमा पानी लाग्ने कुलो डोजर लगाएर सडक बनाएकै कारण मासिएको गुनासो गर्दै उनले खेतीयोग्य जमिन बाँझोमा परिणत हुन थालेको बताए।
विकासका नाममा जथाभावी सडक निर्माण गर्दा गाउँघर नै कुरूप भएको मङ्गला गाउँपालिका–१ का हरिकृष्ण पौडेल बताउछन्। उनी भन्छन्, 'पहिराको जोखिमसमेत बढाएको छ। सडक खन्दा अगाडि मन्दिर, विद्यालय, खानेपानीको मुहान होस् वा कुलो केही वास्ता गरिँदैन।' पौडेलले पानीको स्रोत कुवाँ, पँधेरा, मठमन्दिर, पाटीपौवा, चौतारा र कुलो मासेर बनाइने सडक विकास हो वा विनाश स्थानीयले छुट्याउन नसकेको दुःखेसो गरे।
वातावरणीय प्रभाव मूल्याङ्कन नगरिकन जथाभावी डोजर (स्काभेटर) चालकले प्राविधिक रेखदेख बिना सडक खन्दा गाउँ नै कुरुप बनेको र पहिरोको जोखिममा रहेको वातावरण संरक्षणकर्मी चन्द्रमणि सापकोटा बताउछन्। उनी भन्छन्, 'यसरी जथाभावी सडक खन्ने क्रम नरोकिए थप सङ्कट निम्तिदै जाने र प्राकृतिक स्रोतको विनाश अझ बढ्नेछ।' सरकारले सडक बनाउनुपूर्व वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य गर्नुपर्ने प्रावधान राखे पनि त्यसको बेवास्ता गरी आफूखुशी सडक बनाउँदा बस्ती थप जोखिममा पर्ने गरेको उनको भनाइ छ।
वन जङ्गलका छेउछाउमा र हरिया डाँडामा बस्ती विस्तार हुने क्रम बढ्दै गएपछि त्यहाँ बस्ने जनावर र चराहरूको अस्तित्व पनि सङ्कटमा पर्दै गएको सरोकारवाला बताउँछन्। यसरी जङ्गल फडानी गरेर बस्ती बसाउँदै गर्दा वातावरणीय चुनौती र प्राकृतिक विपत्तिको बारेमा सोच्न आवश्यक रहेको वातावरण संरक्षणकर्मी सापकोटाले बताए। उनका अनुसार वातावरणीय अतिक्रमण र प्रदूषणका कारण जङ्गली जनावर, पक्षी र जलचरहरू पनि लोप हुँदै गएको पाइएको छ।
त्यसैगरी बजारबाट निस्कने फोहर, कलकारखाना र घरबाट निस्केका ढलहरू कालीगण्डकी र म्याग्दी नदीमा मिसाइँदै नदीको जलचक्र प्रणाली नै खलबलिनुका साथै जलचरहरू नासिँदै गएका छन् भने पवित्र नदीहरू प्रदूषित बन्दै गएका छन्। बजार क्षेत्रमा यातायात र कलकारखानाबाट निस्कने धुँवा अनि धुलोको कारण बालबालिका र वृद्धवृद्धाहरूको दैनिकी असहज बन्दै गएको गुनासा सुनिन थालेका छन्।