काठमाडौं- नेपाल सरकारको योजनाअनुसार नेपाली सेनाले सञ्चालन गरेको ‘सफा हिमाल अभियान’अन्तर्गत विभिन्न हिमाल क्षेत्रबाट यस वर्ष झन्डै ३४ टन फोहर निकालिएको छ। तीनवर्षे अभियानमा यो पटक (सन् २०२२ मा) सबैभन्दा बढी फोहर सङ्कलन गरिएको हो। यसअघि सन् २०१९ मा १० टन र सन् २०२१ मा २७.६ टन फोहर निकालिएको थियो।
प्रकृति तथा पर्यावरणको संरक्षण र जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्ने उद्देश्यले गत चैत २२ गते यस वर्षको सफा हिमाल अभियान सञ्चालन गरिएको थियो। विश्व वातावरण दिवसका अवसरमा आज अभियान टोलीले प्रधानसेनापति प्रभुराम शर्मासमक्ष झन्डा फिर्ता गरी अभियानको समापन भएको घोषणा गरिएको थियो।
हिमाली क्षेत्रमा देखिएको फोहरले नेपालको पहिचान धमिल्याउने जोखिम बढ्दो छ। बहुपक्षीय महत्व बोकेको नेपालको हिमशृङ्खलालाई भविष्यसम्म जोगाउन सन् २०१९ देखि नेपाली सेनाले उक्त साहसिक अभियान थालेको हो। त्यस अभियानमा नेपाली सेनाले विभिन्न सरकारी तथा गैरसरकारी तथा निजी क्षेत्रसँग समन्वय र सहकार्य गरेको छ।
यस वर्ष सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमाल क्षेत्रमा अभियान चलाइएको थियो। ती हिमाली क्षेत्रबाट कुहिने फोहर सात हजार २२७ किलो र नकुहिने २६ हजार ६५० किलो गरी कूल ३३ हजार ८७७ किलो (३३.८ टन) फोहर सङ्कलन गरिएको नेपाली सेनाले जनाएको छ। टोलीले कञ्चनजङ्घा हिमालबाट दुई मानव अस्थिपञ्जरसमेत सङ्कलन गरेको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक तथा सफा हिमाल अभियानका निर्देशक हिमांशु खड्काले नेपाली सेनाका ३० र शेर्पा सहयोगी ४८ गरी ७८ जनाको सहभागितामा अभियान चलाइएको जानकारी दिए। सङ्कलित फोहमध्ये कुहिने फोहरलाई तत्तत् स्थानीय तहमा हस्तान्तरण गरिएको छ भने नकुहिने केही फोहरलाई पुनः प्रशोधनका लागि सम्बन्धित संस्थालाई हस्तान्तरण गरिएको र केही हस्तान्तरण गर्न बाँकी रहेको उहाँले जानकारी दिए।
अभियानको नेतृत्व गर्नुभएका सेनानी किशोर अधिकारीले प्रदूषण नियन्त्रण, जलवायु परिवर्तनका असर न्यूनीकरण, पर्यटन प्रवद्र्धन र भावी पुस्ताका लागि हिमाल संरक्षण गर्न अभियान सञ्चालन गरिएको जानकारी दिए। समारोहमा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले हिमाल संरक्षणका लागि नेपाली सेनाको छुट्टै गुल्म वा गणको आवश्यकता महसुस भएको बताए।
सन् २०१९ मा सर्वाेच्च शिखर सगरमाथाको उचाइ मापनको नेतृत्व गरेका नापी अधिकृत खिमलाल गौतमले नेपालका हिमाल जोगाउन यो अभियान महत्वपूर्ण रहेको बताए। उनले वातावरणलाई प्राकृतिक रुपमा सफा राख्न हिमालको ठूलो भूमिका हुने उल्लेख गर्दै प्राकृतिक हिमाललाई अप्राकृतिक नबनाउन आग्रह गरेका छन्।
मानिसको दिगो जीवनका लागि स्वच्छ हिमालको खाँचो रहेको औँल्याउँदै उहाँले बढ्दो क्रममा रहेको हिउँ पग्लने अवस्थालाई रोक्नुपर्ने आश्यकता औँल्याए। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले नेपाली सेनाको अभियानको प्रशंसा गर्दै हिमाल संरक्षणका लागि प्रभावकारी नियमनको खाँचो रहेको उल्लेख गए।