काठमाडौं- 'एउटी केटीलाई अर्को केटीको माझमा उभ्याएर गरिने प्रतिस्पर्धा नै राम्रो होइन,' सन् २००८ मा मिस टिनको उपाधि जितेकी समृद्धि राईले 'सौन्दर्य प्रतियोगिता : सशक्तीकरण कि वस्तुकरण' बहस कार्यक्रममा आफ्नो अनुभव सुनाइन्, 'ओहो त्यो केटी पो 'क्युट' थिई, यो केटी कसरी भई!'
राईले मिस प्रतियोगितामा भाग लिँदाका दिनमा युवतीहरूलाई गरिने मूल्याङ्कन प्रवृत्तिबारे मन खोलेरै सुनाइन्। 'बाल्यकालमा गाउँमा कुनै पनि युवतीले मिस प्रतियोगितामा भाग लिने सोच्दैनन्। न त त्यस किसिमको जीवनशैली नै हुन्छ। घरको काम र पढाइमा मात्रै ध्यान हुन्छ किशोर उमेरसम्म,' सहरमा सुन्दरी प्रतियोगीताका नाममा युवतीको शारीरिक संरचनाको नापतौल गरिरहेकोप्रति गुनासो गरिन्, 'एउटी केटी हाइट, उमेर, अनुहार, फिगर, हिँडाइ, बोलाइबाट सुन्दरी कसरी हुन सक्छे? जब कि उसको बौद्धिकता, उसको सोच, उसको मौलिकता भएर पनि सुन्दर हुन सक्दिन?' चीनको झिन्ताङमा सम्पन्न मिस टुरिजम क्विन एसियाको पहिलो संस्करणमा नेपालका तर्फबाट प्रतिनिधित्व गरेकी राईले मिस पर्सनालिटीको उपाधि पनि जितकी थिइन्।
राईले आफ्नो अनुभव सुनाईसकेपछि मञ्चमा देखिए चलचित्र निर्देशक मनोज पण्डित, कलाकार लक्ष्मी बर्देवा, डाक्टर अरूणा उप्रेती, डाक्टर मीना पौडेल र सहजीकरणका लागि मिना पोखरेल। उनीहरुले आफ्ना कुरा सुनाए।
महिला र सौन्दर्य प्रतियोगितालाई हेर्ने दृष्टिकोण सुनाने पालो डा अरूणा उप्रेतीको आयो। '१५ रूपैयाँको लिपिस्टिक र २० रूपैयाँको क्रिम लगाएर किशोरीलाई छिनभरका लागि राम्री बनाउन हौस्याउने सौन्दर्य प्रतियोगिता व्यापार हो, जहाँ किशोरी आफू प्रयोग भएको थाहा पाउँदैनन्,' उनले भनिन्।
डाक्टर अरूणाले निर्देशक मनोज पण्डितद्वारा निर्देशित चलचित्र 'छाया'को उदाहारण दिँदै बाल यौनहिंसा बढ्नुमा कस्तो शिक्षा दिइरहेको छौं भन्नेमाथि प्रश्न गरिन्। 'शिक्षाको सौन्दर्यभन्दा पनि आवरण सौन्दर्य खोज्न थालियो। बजारले यसलाई व्यावसायिक बनाइदियो। सुन्दरताको मापन गरिदियो। यस्तो रोक्नका लागि राजनीतिक, सामाजिक दृष्टिकोणबाट बहस हुन जरुरी छ,' उनले भनिन्।
सौन्दर्य प्रतियोगिता सही हो या होइन भन्ने अहिले चौतर्फी बहसको विषय बनेको छ। सौन्दर्य प्रतियोगिताको नाममा हुने यौन दुर्व्यवहारमा परेका युवती बोल्न पनि थालेका छन्। सौन्दर्य प्रतियोगितामा हुने अपारदर्शिताका कारण पनि महिला हिंसा बढेको नकार्न सकिँदैन। यस्ता प्रतियोगितासँग राज्य व्यवस्था मौन छ।
सौन्दर्य प्रतियोगिता जितेका सुन्दरी तथा नजितेकाहरूले समाजप्रतिको दायित्व कसरी निर्वाह गरिरहेका छन् भन्ने विषयलाई हेरिनुपर्ने बताएकी समाजशास्त्री डा मीना पौडेल प्रश्न गर्छिन्- प्रायोजकले मुनाफा कमाउनका लागि गरिने सौन्दर्य प्रतियोगिताबाट हामीले कस्तो संस्कृति निर्माण गर्दैछौं? हिजोको सुन्दरी आजको सडक छाप हुने सुन्दरीको सामाजिक दायित्व के हो?, डा मीनाले प्रश्न गर्दै भनिन्, 'अहिले त विभिन्न विज्ञापन प्रायोजकले सौन्दर्य प्रतियोगिताका लागि पाठशाला नै खोलेका छन् रे। जहाँ के खाने, के लाउने, के गर्ने, के बोल्ने, जस्ता सौन्दर्य प्रतियोगिताको नामको जीवनशैलीले युवतीहरू कुपोषित हुन पुगेको पनि सुनेको छु। यस्ता प्रतियोगिताविरुद्ध खुला मञ्चमा बहस हुनुपर्छ,' डाक्टर मीनाले भनिन्।
सौन्दर्य प्रतियोगिता सही हो या होइन भन्ने अहिले चौतर्फी बहसको विषय बनेको छ। सौन्दर्य प्रतियोगिताको नाममा हुने यौन दुर्व्यवहारमा परेका युवती बोल्न पनि थालेका छन्। सौन्दर्य प्रतियोगितामा हुने अपारदर्शिताका कारण पनि महिला हिंसा बढेको नकार्न सकिँदैन। यस्ता प्रतियोगितासँग राज्य व्यवस्था मौन छ।
'बाल्यकालमा तँ कस्तो काली छेस्? कस्तो ठुस्स परेर मुख बिगारेकी? कस्तो टोलाएकी? हाँस्न पनि जान्दिनस्? कालीकाली भएपनि तँ राम्री चाहिँ छस् है? क्रिम लगाउने गर? यस्ता विषयले आफ्नै दिदीबहिनीले बाल्यकालमा जिस्काएको अनुभव सुनाइन् कलाकार लक्ष्मी बर्देवाले। राम्री बन्न बाध्य पार्ने समाजप्रति उनले सामाजिक मनोविज्ञानको विषयमा आफ्नो अनुभव जोडिन्, 'राम्री बन्नुपर्छ। तर प्रतियोगी भएर सौन्दर्य प्रतियोगितामा भाग लिनैपर्छ भन्ने होइन। सौन्दर्यको मापन गर्ने यस्ता प्रतियोगिता पनि हुनु राम्रो होइन।'
दश वर्ष अगाडि पनि सौन्दर्य प्रतियोगिताविरुद्ध आवाज उठाइएको थियो। अहिले पनि उठाउँदैछौं। यस्ता बहस निरन्तर हुन सकेमा सौन्दर्य प्रतियोगीताको नाममा हुने विकृति कम हुने बताउँछिन् बर्देवा। सौन्दर्य प्रतियोगिताबाट फाइदा लिने पितृसत्तात्मक समाजले नै हो।
निर्देशक मनोज पण्डितले पुरुषले सबैभन्दा बढी हिंसा गर्ने बताए। बाल यौनहिंसाको विरुद्ध 'छाया'जस्तो चलचित्र बनाएर जनचेतना जगाएका पण्डितले भने, 'महिला मात्रै होइन, अब पुरुषले नारी सौन्दर्य प्रतियोगिताविरुद्ध आवाज उठाउनु पर्यो। राज्यको पनि यसमा ध्यान जाओस्।'
कार्यक्रम वैज्ञानिक समाजवादी महिला संघले आयोजना गरेको थियो।