काठमाडौं- सवारी दुर्घटनामा परेर घाइते भएका राप्रपा खोटाङका पूर्वअध्यक्ष जीवनकुमार श्रेष्ठको निधन भएको छ। हेलिकप्टरमार्फत काठमाडौं ल्याएर न्युरो अस्पतालमा भर्ना गरिएका श्रेष्ठको आइतबार बिहान निधन भएको हो।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ५८ वर्षीय श्रेष्ठको उपचारका भएको बताए। श्रेष्ठले १५ वर्षभन्दा लामो समय राप्रपा खोटाङको अध्यक्ष भएर काम गरेका थिए।
श्रेष्ठको निधनबाट नेपालको राष्ट्रवादी आन्दोलन र राप्रपालाई ठूलो क्षति भएको प्रवक्ता श्रेष्ठले निकालेको विज्ञप्तिमा उल्लेख छ। उनले राप्रपाले सशक्त, आँटिलो, विचारमा प्रतिबद्ध योद्धा गुमाएको बताएका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ लगायतका नेताहरू न्युरो अस्पताल पुगेर दिवंगत भएका जीवनकुमार श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गरेका थिए। श्रेष्ठको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ। उनको श्रीमती, दुई छोरी र एक छोरा छन्।