काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्योपचार गर्न कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका छन्।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेहरूलाई तत्काल अस्पताल पुर्याएर उपचारको व्यवस्था गर्न निर्देशन दिएका हुन्।
त्यस्तै उनले घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ता तथा युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीलाई घाइतेहरूको यथाशक्य उपचारको व्यवस्था गर्न आग्रह गरेका छन्।
भीम अस्पतालका अध्यक्ष न्यौपानेले बस दुर्घटनामा घाइते भएकाहरूलाई प्राथमिकतामा राखेर उपचारको व्यवस्था गर्न गृहमन्त्री खाँणले आग्रह गरेको जानकारी दिए।
‘यात्रुवाहक बस दुर्घटनामा परेर घाइते भएकाहरूलाई प्राथमिकतामा राखेर उपचारको व्यवस्था गर्न गृहमन्त्रीले भन्नुभएको छ,’ अध्यक्ष न्यौपानेले भने, ‘अस्पतालको क्षमताअनुसार हामीले उपचार गरिरहेका छौं।'