विराटनगर- विराटनगर महानगरपालिकाको शनिबार सम्पन्न कार्यपालिका निर्वाचनमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको छ।
९७ मतदाता सदस्य मध्ये ५० मत रहेको काँग्रेस–जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्र उम्मेद्वारहरु निर्वाचित भएका छन्।
कार्यपालिकामा अल्पसंख्यकतर्फ एमालेका दिपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र स्वतन्त्र सन्जिब साह ५२ मत ल्याएर विजयी भएका छन्। अल्पसंख्यकमा काँग्रेस उम्मेदवार प्रेम राठी ४०, जसपाका ववितादेवी साह ४५ र जसपाकै विमलादेवी पोद्धार ४१ मत प्राप्त गरेका छन्।
महिलातर्फ सबै एमाले उम्मेद्वार विजयी भएका छन्। एमालेका सन्तलीदेवी विश्वास ५५, कमला श्रेष्ठ ५५, ताराकुमारी राय ५३, सरिता घिमिरे नेपाल ५३ र खुश्बु विश्वकर्मा ५२ मत ल्याएर विजयी भएका छन्। काँग्रेसका पराजित उम्मेद्वारहरु अन्जु दाहाल गौतमले ४०, गायत्री थापाले ३९, रुपा देउजाले ४०, विनितासिंह ठकुरीले ४० र जसपाकी चुलियादेवि साहले ४० मत पाएका छन्।
महानगरमा एमालेले उपप्रमुख सहित ४३ र काँग्रेसले प्रमुख सहित ४० जनप्रतिनिधि जितेको थियो। यस्तै जसपाले १०, स्वतन्त्र ३ र राप्रपाको १ जना निर्वाचित भएका थिए। विराटनगर महानगर कार्यपालिकामा एमालेको बहुमत पुगेको छ।
काँग्रेस–जसपा गठबन्धनसँग ५० मत थियो भने एमालेले स्वतन्त्रसँग गठबन्धन गर्दा ४६ मत मात्रै थियो। तर, जसपा र काँग्रेसका केही जनप्रतिनिधिले एमाले उम्मेद्वारलाई मत दिँदा काँग्रेस र जसपाका सबै उम्मेदवार पराजित भए। यसअघि बुढीगंगा र कटहरीमा पनि कांग्रेसका जनप्रतिनिधिले अन्तरघात गरेका थिए।