काठमाडौं- काठमाडौं जोरपाटीको सर्वनाम शिक्षालयमा होस्टेल वार्डेनले छात्राहरुलाई यौन दुर्व्यवहार गरेको आरोपपछि वार्डेन रामजी बस्नेतले फरार भएका छन्।
छात्राहरुले वार्डेनले यौन दुर्व्यवहारको गरेको भन्दै अभिभावकलाई जानकारी गराएपछि शनिबार अभिभावकहरु होस्टल पुगेका थिए। उनीहरुले होस्टलमा नाराबाजी गर्नुका साथै घटनाको अनुसन्धान र दोषीलाई कारबाहीको माग गरेका हुन्।
घटनाबारे जानकारी लिन खोज्दा प्रधानाध्यापक दुर्गानाथ शिवाकोटीले दुर्व्यवहार गरेको भन्दै अभिभावक आक्रोशित भए। महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले आरोपित होस्टल वार्डेन फरार रहेको र शिक्षालयका प्राधानाध्यापक शिवाकोटी र उनकी पत्नीलाई पक्राउ गरेको बताएका छन्।
उनलाई घटनाको विषयमा सोधपुछ गर्नका लागि नियन्त्रणमा लिएको जानकारी दिएका छन्। उनले भने, 'विद्यार्थीहरुले घटनाबारे जेठ १९ गते नै प्रधानाध्यापकलाई जानकारी गराएको भए पनि केही एक्सन नलिएपछि आफैं आउनु परेको भन्ने अभिभावकको गुनासोपछि सोधपुछका लागि नियन्त्रणमा लिएका हौं।'
यौन दुर्व्यवहारको विषयमा जाहेरी दिन अभिभावकहरु पनि प्रहरी वृत्त बौद्धमा पुगेका छन्।