बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कुखुरा र बंगुर पालेर पढ्दैछन् भूकम्पप्रभावित विद्यार्थी

कुखुरा र बंगुर पालेर पढ्दैछन् भूकम्पप्रभावित विद्यार्थी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- नुवाकोटका भूकम्पप्रभावित विवेक अधिकारी सुर्खेत बड्डीचौरमा रहेका जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत छन् । आइएसी एजी तेस्रो वर्षमा अध्ययरत उनी पढाइसँगसँगै कुखुरा पालन पनि गर्छन् । 

कुखुरा पालनले गर्दा विवेकलाई घरबाट पढाई खर्च माग्नु परेको छैन । 'पाँच जनाको समूहमा कुखुरा पालन गरेका छौँ,' विवेक भन्छन् 'कुखुरा पालनबाटै पढाई खर्च पुगेको छ ।' विवेकसँगै काठमाडौंका राजन धमला पनि सोही विद्यालयमा पढ्छन् र कुखुरा पालन गर्दछन् । 'पढाइ खर्चको कुनै चिन्ता छैन ।' राजन भन्छन् 'कहिले काँही त बचेको पैसा घरमा पनि पढाउँछु ।'

त्यस्तै नुवाकोट शिवपुरी गाउँपालिकाका अविन तामाङ जनज्योतिमै अध्ययनरत छन् । आइएक्सी तेस्रो वर्षमा अध्ययनर उनले विद्यालय नजिकै बंगुर पालन गरेका छन् । 'बंगुर पालनबाट राम्रै आम्दानी भएको छ,' अविन भन्छन् 'सधै त हुँदैन कहिले काँही ३०/४० हजार रुपैयाँ घरमा समेत पढाउने गरेको छु ।' आफूले पालेका बंगुर नजिकैको बड्डीचौर बजारमा लिर बिक्री गर्दै खाएको अविन बताउँछन् ।

विवेक, राजन र अविन मात्रै होइन, जनज्योतिमा २०७२ सालमा आएको भुकम्पबाट प्रभावित ११ जिल्लाका विद्यार्थीहरु जनज्योतिमा कमाउँदै र पढ्दै आएका छन् । विद्यालयका प्राधानाध्यापक नायारण सिग्देलले दिएको जानकारी अनुसार भूकम्प प्रभावित सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, काठमाडौं, भक्तपुर लगायत ११ जिल्लाका ३७ जना विद्यार्थी सुर्खेतमा बसेर पढिरहेका छन् । 

यहाँ आएका उनीहरुले कसैले कुखुरा, कसैले बंगुर पालन, त कसैले तरकारी खेति र माछा पालन गरेर पढिरहेका छन् । यसरी कुखुरा, बंगुर र माछा पालन व्यवसायबाट उनीहरुले बढ्ने र कमाउने दुबै काम सँगसँगै गर्दै आएका छन् । तर भूकम्प पीडित उनीहरु विचल्लीमा परेर सुर्खेत आएका भने होइन । न त आर्थिक अवस्था कमजोर भएर कुखुरा र बंगुर पालन गरेका हुन् । उनीहरुले सैद्दान्तिक नभई व्यवहारिक शिक्षाका लागि यो व्यवसाय गरिरहेका छन् । 

सीटीइभीटीइले बड्डीचौरमा रहेको जनज्योतिमा माध्यमिक विद्यालयमा छात्तबृत्तिमा बढ्ने व्यवस्था गरिदिएपछि उनीहरु सुर्खेत आएका हुन् । विद्यालयले भूकम्प पीडितमात्रै नभई आइक्सी एजीमा अध्ययन गर्ने जो सुकै विद्यार्थीले कुनै न कुनै पेशा गर्नेपर्ने नियमनै बनाएको छ । त्यहाँ अध्ययनरत जो सुकै विद्यार्थीले पढाईमा लाग्ने खर्चभन्दा दुई गुणा बढी कमाउने पर्ने विद्यालयले नियम नै बनाएको छ । जसले गर्दा विद्यार्थीहरुले पढाईसँगसँगै कमाई पर्ने गर्दै आएका छन् ।

विद्यार्थीका लागि ६० रोपनी जग्गा

जनज्योति विद्यालयले आइएक्सी एजीमा अध्ययनरत विद्यार्थीहरुको लागि ६० रोपनी जग्गा प्रयोगमा ल्याएको छ । जसका लागि ३५ रोपनी जग्गा विद्यालयले भाडामा लिएको छ ।  ५ रोपनी विद्यालयको आफ्नै जग्गा छ । 

६० रोपनी जग्गामा विद्यार्थीहरुले विभिन्न कृषि पेशाहरु गरिरहेका छन् । जग्गामा विद्यार्थीहरुले कुखुरा, माछा, बंगुर, तरकारी,  धान र खुर्सानी खेती गर्दै आएका छन् । त्यही मध्येकी एक हुन तिला थापा ।

त्रिपुरा सुन्दरी गाउँपालिका डोल्पाकी तिलाले विद्यालयले उपलब्ध गराएको जग्गामा तरकारी खेती गर्छिन । 'तरकारी खेतिले पढ्नेमात्रै होइन, घरको खर्च पनि धानेकी छु ।' तिलाले भनिन् 'बुवा हुनुहुदैन पढाई सकेपछि यही तरकारी खेती गरेर भाइबहिनीलाई पढाउने हो ।' उनले थपिन् 'आमा विद्यालयको कार्यालय सहयोगी हुनुहुन्छ, सकेपछि भाइबहिनीलाई सुर्खेतमै पढाउन ल्याउँछु ।' व्यवसायीक तरकारी खेती गरेर जीवन निर्वाह गर्ने तिलाको अठोट छ ।

स्वामीकाध गाउँपालिका बाजुराका नरेश रोकायले पनि कृषिबाटै आत्मा निर्भर बन्ने योजना बनाएका छन् । आएक्सी एजी दोस्रो वर्षमा अध्ययनर रोकायले विद्यालयकै जग्गामा बायो प्रविधिबाट खुर्सानी खेती गरेका छन् । 

नरेशसँगै मुगुका गोविन्दजंग मल्लले पनि खुर्सानी खेती गरेका छन् । एउटै कक्षामा पढ्ने नरेश, गोविन्द र दैलेखका मिलन सिजापति सहितको सामूहिक रुपमा खुर्सानी खेती गरका छन् । 'केही समय पहिले च्याउ खेती गरेका थियो ।' सिजापतिले भने 'अहिले खुर्सानी खेती गरेका छौँ ।' उनले थपे 'बराहताल गाउँपालिकाले हामीलाई ३० हजार सहयोग गरेको छ ।' अनुसन्धान सहितको च्याउ, खुर्सानी खेती गर्दै आएको बताउने उनीहरुले आधुनिक प्रविधिबाट खेती गर्न सके कोही पनि विदेश जानु नपर्ने बताउँछन् ।

विद्यार्थीहरुले कक्षामा पढेको कुरा व्यवहारमा लागु गर्दा प्रभावकारी सिकाई हुने तर्क गर्छन् । कामले पढाइलाई असर परेको छैन भन्ने प्रश्नमा विद्यार्थी गोविन्द मल्ल भन्छन् 'हामीले जे पढ्छौ, त्यही काम गरेका छौ, कामले असर होइन, सहयोग गरेको छ ।' उनले भने 'हामी विभिन्न अनुसन्धान प्रविधिबाट कृषि खेती गर्छौँ, जसले गर्दा हामीलाई गाउँपालिका पनि सहयोग गरेको छ ।' नयाँ नयाँ प्रविधिको प्रयोगले उत्पादन र स्वास्थ्य दुबैमा फाइदा पुग्ने उनको बुझाई छ । 

'चाहना भए बहाना बनाउनु पर्दैन,' विद्यालयका प्रधानाध्यापक नारायण सिग्देल भन्छन् 'शिक्षकले र विद्यार्थीले दुबैले आफ्नो कत्र्तव्य पुरा गर्ने हो भने पढाई र गराई दुइटै सिक्न्छि ।' सरकारी विद्यालयमा आइक्सी एजी अध्ययन गराउने जनज्योति सुर्खेतको नमूना विद्यालय हो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।