काठमाडौं- पञ्जावमा गोली हानी हत्या गरिएका भारतीय गायक सिद्धू मुसेवालाको हत्यारा खोज्न दिल्ली प्रहरीको एक टोली काठमाडौं आएको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार घटनामा संलग्न केही सुटरको पहिचान भइसकेको र उनीहरु हत्यापछि नेपाल भागेको आशंका गरिएकाले दिल्ली प्रहरी नेपाल आएको हो।
‘सिद्धुको हत्यापछि दिल्ली प्रहरीको एक टोली नेपाल आएको हामीलाई पनि जानकारी छ। उनीहरु हामीसँग पनि को–अर्डिनेसनमा छन्। तर, हत्यारा यतै लुकेको छ भन्ने कन्फर्म भइसकेको अवस्था छैन,’ नेपाल प्रहरीका एक उच्च अधिकारीले नेपाल समयसँग पुष्टि गरे।
आइतबार साँझ पञ्जाबको मनसा जिल्लास्थित जवाहरेक गाउँमा एएन–९४ रुसी एसल्ट राइफल प्रहार गरी २८ वर्षीय गायक मुसेवाला हत्या भएको थियो।
वास्तविक नाम शुभदीप सिंह सिद्धू भए पनि उनी भारतमा सिद्धू मुसेवाला नामले परिचित थिए। भारतीय सञ्चारमाध्यमका अनुसार उनको शरीरमा ३० राउन्ड गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। गोली प्रहारबाट घाइते भएपछि अस्पताल लाँदालाँदै उनको मृत्यू भएको थियो।
गत डिसेम्बरमा मानसा क्षेत्रबाट उनी विधानसभाको निर्वाचनमा लडेका थिए। कांग्रेस आईबाट उम्मेदवारी दिएका उनी आम आदमी पार्टीका उम्मेदवारसँग पराजित भए।
‘सड्डा चलता है धक्का’, ‘डँलरा वाङ्गु नी नाम साड्डा चलदा है’ उनका चर्चित पञ्जावी गीत हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनको हत्याको जिम्मा कन्नडामा रहेको लरेन्स बिस्नोइका ग्याङस्टर लक्की अर्थात् गोल्डी बराडले लिएका छन्। यतिबेला भारतीय प्रहरीले महत्वका साथ यो घटनाको अनुसन्धान गरिरहेको छ।