काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नुवाकोटको सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन्।
शुक्रबार बिहान उपमेयर सुनिता डंगोलसहित सिसडोल पुगेका शाहले स्थानीयसँग यस्तो प्रतिबद्धता गरेका हुन्। काठमाडौंको फोहोर बिसर्जन भइरहेको स्थान सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि शाहले केमिकल हालेर एक हप्ताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताए।
त्यसका लागि आफूले विज्ञसँग आवश्यक छलफल गरेको उनले सुनाए। मेयर शाहले ३ महिनाभित्र मल र ग्यास दुवै निकाल्न सुरू गरेर त्यहाँको फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे। ‘एक हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ। त्यसपछि मल र ग्यास पनि बनाइन्छ। त्यसका लागि ३ महिना लाग्छ। केमिकल हालिसकेपछि एक हप्ताभित्र गन्ध हट्छ। सड्ने र नसड्ने फोहोर छुट्टयाउने। त्यसबाट मल र ग्यास निकाल्ने हो। सड्ने र नसड्ने फोहोर छुट्टयाउन काठमाडौं महानगरपालिकाले घरघरमा जनचेतना फैल्याउने काम गर्नेछ,’ उनले भने।
त्यस अवसरमा उनले तत्कालका लागि भने काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयसँग आग्रह गरे। स्थानीयको सबै समस्या समाधान हुने र फोहोर विसर्जन गर्न अवरोध गर्न नहुने उनको भनाइ थियो। स्थानीयले भने आफूहरूको माग सम्बोधन नगरेसम्म काठमाडौंको फोहोर विसर्जन गर्न दिन नसकिने अडान राखेका छन्।