काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन सरकारसँग माग गरेका छन्।
महामन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउने दिनमा झनै चुनौती थपिने भन्दै त्यसको नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न पनि प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षण गराए। पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन माग गर्दै संसदमा पेस गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले कुनै मन्त्रालयलाई यो समस्या पन्छाएर नबस्न पनि प्रधानमन्त्री देउवासँग उनले आग्रह गरे।
महामन्त्री थापाले पेट्रोलियम पदार्थमा देखिएको समस्या समाधानका लागि तत्काल पेट्रोलियम पदार्थ ऐन ल्याउन पनि सरकारलाई सचेत गराए। उनले सरकारले १० वर्षभित्र डिजेल, पेट्रोल र एलपी ग्याँसमुक्त देश बनाउने गरी काम गर्न आजैबाट सुरु गर्नुपर्ने थापाको भनाइ छ।
नभए यसले मुलुकलाई झनै मारमा पर्ने महामन्त्री थापाको भनाई थियो। ‘कोभिड र त्यसपश्चात् रुस–युक्रेन युद्धका कारणले गर्दा अन्तर्राष्ट्रिय बजारमा जसरी मूल्य आकासिएको छ। सप्लाई जसरी अवरुद्ध भएको छ। यसले आउने दिन झनै चुनौतीपूर्ण हुने संकेत गरिरहेको छ,' उनले भने, 'यसको आधारमा भारतले अब जस्तो निर्णय गर्छ, त्यसले हाम्रो बजारलाई थप प्रभावित पार्छ। त्यसैले यसलाई हलुका रूपमा नलिन आग्रह गर्दछु।'
पेट्रोलियम पदार्थको खपत कम गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ छ। 'हाम्रो स्टोरेज ६ महिनाको होइन, ८/१० दिनको मात्रै छ। हामीले स्टोरेज क्यापासिटी बढाउनै पर्छ। कच्चा तेल ल्याएर रिफाइन गर्ने विकल्पबारे पनि सोचौं,' उनले भने। यसका साथै उनले पेट्रोलियम ऐन आवश्यक रहेको औँल्याए।
'पेट्रोलियम ऐन लिएर आयौ भने हामीलाई यसले बाटो देखाउँछ। मेरो अन्तिम कुरा भनेको नेपाललाई पेट्रोल, डिजेल, एलपी ग्याँस मुक्त देश बनाउन आजैबाट महत्त्वाकाङ्क्षी योजनाका साथ १० वर्षभित्रमा निमिट्यान्न पार्ने भनेर लाग्यौ भने बाँच्छौ हामी,' उनले भने। महामन्त्री थापाले पेट्रोलियम पदार्थको स्टोरेज क्यापासिटी बढाउने काममा पनि ध्यान दिन सरकारको ध्यानाकर्षण गराउन चाहेको बताए।