काठमाडौं– तारा एयरले पोखरा–जोमसोम उडान एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ।
गत आइतबार उक्त रुटमा जहाज दुर्घटना भएपछि कम्पनीले एक साता उडान रोकेको हो। आइतबार पोखराबाट जोमसोम उडेको तारा एयरको नाइनएन एईटी ट्विनअटर जहाज दुर्घटना हुँदा चालक दलका ३ जनासहित २२ जनाको ज्यान गएको थियो।
त्यसैगरी आज बिहीबार हुने तारा एयरका सबै उडान रद्द भएका छन्। काठमाडौंबाट हुने ५ वटा र नेपालगन्जबाट हुने ५ वटा उडान रद्द गरिएको कम्पनीले जनाएको छ।