घटना १: एक २२ वर्षीया युवती एनजीओमा काम गर्थिन्। उनलाई एनजीओमा लेखापालले सधैँ राति ढिलोसम्म काम लगाउँथे। त्यही बहानामा उनलाई असहज हुने गरी छोइरहन्थे। यत्तिकैमा एक पटक ती लेखापालले उनलाई विदेशमा कन्फेरेन्सका लागि लिएर गए। होटलमा बसेको बेला राति लेखापाल उनको कोठासम्म आए। पहिले अफिसमा जस्तै नराम्रो व्यवहार देखाउन थाले।
युवती डराइन्। काँप्दै-काँप्दै भए पनि भनिन्, ‘म यहाँ बस्दिनँ सर, मलाई टिकट काटिदिनु, म घर फर्किन्छु।’ तर, ती लेखापालले ‘सतिसावित्री बन्न नखोज्’ भन्दै उनलाई उल्टै पिट्न थाले। त्यसपछि उनीमाथि त्यहीँ जाइलागे। जबरजस्ती करणी गरे।
३ दिनको लागि कन्फेरेन्समा सहभागी हुन उनीहरु त्यहाँ गएका थिए। पहिलो दिन नै बलात्कारको सिकार बनेकी युवती एकदमै डराएकी थिइन्। दोस्रो दिन उनले ढोका बन्द गरेर चाँडै सुतिन्।
लेखापालले ढोका ढक्ढकाउँदा पनि खोलिनन्। लामो समयसम्म बाहिर बसेर ढोकामा हान्ने र धम्काउने गर्दा पनि ढोका नखोलेपछि उ आफ्नो कोठामा फर्कियो।
त्यसपछि कन्फेरेन्सको दोश्रो दिन पूरै डर र तनावमा बित्यो।। तेस्रो दिनचाहीँ आफू असुरक्षित भएको भन्दै अर्कै देशबाट आएकी युवतीसँग गएर सुतिन्।
नेपाल फर्कदाचाहीँ प्लेनमा उनी लेखापाल सँगैको सिटमा बसेर फर्किनु पर्यो। त्यहाँ पनि गुप्ताङ्गमा हात लाने, चलाउने जस्तो काम उनले गरिरहे। हात हटाए पनि उनले आफ्नो हर्कत छाडेनन्। बस्दा असहज भएपछि उनी समय-समयमा उठ्थिन्, तर एयर होस्टेजले ‘उठ्न नमिल्ने’ भन्दै बस्न अनुरोध गरिहाल्थिन्।
घरमा पुगेपछि तीन दिनसम्म उनी घरमा बसिन्। अफिस जान उनको हिम्मत भएन। आफूमाथी कन्फेरेन्समा जाँदा भएको अपराध कसैलाई सुनाउन सकिनन्। अफिसबाट उनलाई लगातार फोन आइरह्यो।
अब के गर्ने, कसरी आफूमाथि भएको अपराधको सामना गर्ने, उनले सोच्नै सकिनन्। यत्तिकैमा उनलाई एकजना साथीले मनोविद्लाई भेट्न सुझाव दिइन्।
त्यसपछि उनले मनोविद् डा. गंगा पाठकलाई भेटिन्। डा. पाठकले उनलाई आफूमाथि भएको हिंसा बाहिर ल्याउन सल्लाह दिइन्। सल्लाह अनुसार उनले मिटिङ नै राखेर सबैको अगाडि आफूलाई भएको घटना सुनाइन् पनि।
तर ती लेखापालले त्यो मिटिङमा अपराध स्वीकार गरेनन्।। ‘यो सबै बनावटी कुरा हो, मैले केही गलत गरेको छैन’ भन्दै अड्डी कसिरहे। अफिसको सिनियर स्टाफ भएकाले उपस्थित अरु सबैले पनि उनैलाई पत्याए, उनैलाई साथ दिए।
पीडित युवती एक्लै भइन्। उनलाई न्याय दिनुपर्ने पक्षमा कोही पनि उभिएनन्। बरु उल्टै पीडितलाई ‘तिमीलाई काम गर्ने मन छैन भने नगर’ भन्दै धम्क्याइयो। त्यसपछि पीडित आफैँले हार मानेर काम छोड्न बाध्य भइन्।
घटना २: एउटी बालिका एक दिन ट्युसन पढ्न जाँदा दुर्व्यवहारमा परिन्। उनले आफ्नो परिवारलाई शिक्षकबाट पिडित भएको कुरा हिम्मत गरेर सुनाइन् तर कसैले पत्याएन। उल्टै साथ पाउनुको सट्टा परिवारबाट गाली पाइन्।
परिवारले उनलाई प्रश्न गरे, ‘अरु पनि ट्युसन पढ्न गएका थिए, उनीहरुलाई चाँही किन टिचरले केही गरेनन्? तैले केही गल्ती नगरी तलाईमात्रै टिचरले किन गलत गर्छन् होला?’ सबै दोष दुर्व्यवहार भोग्ने छोरीकै थाप्लोमाथि थोपरियो। आफूले न्याय नपाएकाले उनी अब कसैलाई पनि विश्वास गर्न नसक्ने अवस्थामा पुगेकी छन्।
घटना ३ : सानोछँदा आफ्नै अंकलले उनलाई ‘छोरीलाई म नुहाइदिन्छु’ भन्दै बाथरुममा लिएर जान्थे। त्यसपछि निवस्त्र पार्थे। आफू पनि निवस्त्र हुन्थे। उनकै अगाडि नुहाउन थाल्थे। अनि उनलाई पनि नुहाइदिने बहाना शरिरका अङ्गहरुमा जथाभावी छोइरहन्थे।
उनलाई असहज महशुस हुन्थ्यो। तैपनि ‘यो अंकलको माया र केयर होला’ भन्ने बुझ्थिन्। आफूमाथि के भइरहेको छ, ठम्याउन सक्थिनन्। तर उमेर बढ्दै जाँदा उनलाई यही पुरानो घटनाले सताउन थाल्यो।
ठूली भएपछि अङ्कलको व्यवहार गलत थियो भन्ने थाहा पाइन्। तर परिवारलाई भन्न सकिनन्। तैपनि पुरानो त्यो घटनाले उनलाई आज पनि हरेक दिन डरलाग्दो सपना बनेर तर्साइ रहेको हुन्छ।
घटना ४: आफ्नै दाजुले घरमा कोही नभएको मौकामा एक किशोरीलाई दुर्व्यवहार गर्थे। उनले आमालाई ‘म दाईसित बस्दिनँ, मलाई एक्लै नछाड्नु’ भन्थिन्। तर आमाले ‘दाईसित नबसे साथिको घरमा जान्छेस् त?’ भन्दै उल्टै गाली गर्थिन्।
त्यहीकारण उनले आमालाई दाईले गर्ने व्यवहारबारे कहिल्यै भन्न सकिनन्। लामो समयसम्म मनमा कुरा राख्दा पीडा झन् बढेपछि अहिले उनी पनि माथिका अरु पीडितझैं मनोपरामर्श लिन मनोविद्को शरणमा पुगेकी छिन्।
घटना ५: एक कलेज पढ्ने किशोरी तीनजनाबाट यौन दुर्व्यवहारमा परिन्। कलेजकै तीनजना केटाको समूहले नै पालैपालो उनलाई दुर्व्यवहार गर्थे। १६ वर्षकी ब्रिटिस कलेज पढ्ने सोझी, मिलनसार र मायालु स्वभावकी उनी आफूसँगै पढ्ने साथीहरुबाटै पटक-पटक यौन दुर्व्यवहारमा परिन्। तर कसैलाई भन्न सकिनन्। त्यही पीडाले अहिले उनी थेरापीको लागी मनोविद्कहाँ धाइरहेकी छिन्।
त्यसपछि पीडा भुल्नको लागि उनीहरु जे पनि गर्न सक्ने अवस्थामा पुग्छन्,’ उनले भनिन्, ‘एउटा दुर्व्यवहारको घटनाले पीडितको व्यक्तित्व नै परिवर्तन हुन्छ। पछि उनीहरु छाडा र अमर्यादित शब्द बोल्ने, एउटै कुरा देहोर्याइरहने पनि हुनसक्छन्। समाजका कुनै नियम उनीहरुलाई बाधक बन्दैन र मनलाई शान्त पार्न जे गर्न पनि तयार बन्छन्। यस्ता थुप्रै केस अहिले मकहाँ आइरहेका छन्।’
०००
माथिका यी पाँचवटै घटनाका पीडित यतिखेर मनोविद् डा. गंगा पाठकको शरणमा परामर्श लिन पुगेका छन्। यौन हिंसाका कस्ता-कस्ता पीडितहरु आफूमाथि भएको हिंसा र दुर्व्यवहार बाहिर ल्याउन नसकेर मनोविद्को शरणमा पुग्न बाध्य छन् भन्नेबारे डा.पाठकसँग हामीले जान्न खोज्यौं। त्यही क्रममा उनले सुनाएका केही प्रतिनिधि घटना हुन्।
उनले सञ्चालन गरेको नेशनल इन्सिच्युट अफ साइन्सको–एजुकेशनल काउन्सेलिङमा पछिल्लो समय थुप्रै पीडित युवतीहरु परामर्शका लागि आइरहेको उनले खुलाइन्।
‘उनीहरु कलिलो उमेरमै यौन दुर्व्यवहारको सिकार भएका छन्। तर आफ्नो मन भित्रको पीडा बाहिर ल्याउन नसक्दा भित्रभित्रै गहिरो चोट सहन बाध्य छन्,’ उनले भनिन्।‘दुर्व्यवहारमा परेपछि पीडितहरुमा कस्ता कस्ता समस्या देखिन्छन्,’ हामीले जान्न खोज्यौं।
‘पिडितमा दुर्व्यवहारपछि रातभरि निदाउन नसक्ने, डरलाग्दो सपना देख्ने, एकोहोरिने, समयसमयमा झस्कने, जतिबेला पनि पुरानो घटना सम्झेर डराउने, सजाय दिन नसकेकोमा आफैंलाई दोष दिने, कसैलाई पनि विश्वास गर्न नसक्ने जस्ता मनोवैज्ञाानिक समस्या देखिने गर्छन्,’ उनले प्रष्ट पारिन्।
कोही त छिटो रिसाउने र आफ्नो कुरा अरु सित सेयर गर्न नरुचाउने पनि हुन्छन्। तर मनभित्रै कुरा लुकाएर राख्दा मानसिक सन्तुलनमा समेत समस्या पर्ने मनोविद् डा.पाठक बताउँछिन्। ‘त्यसपछि पीडा भुल्नको लागि उनीहरु जे पनि गर्न सक्ने अवस्थामा पुग्छन्,’ उनले भनिन्, ‘एउटा दुर्व्यवहारको घटनाले पीडितको व्यक्तित्व नै परिवर्तन हुन्छ। पछि उनीहरु छाडा र अमर्यादित शब्द बोल्ने, एउटै कुरा देहोर्याइरहने पनि हुनसक्छन्। समाजका कुनै नियम उनीहरुलाई बाधक बन्दैन र मनलाई शान्त पार्न जे गर्न पनि तयार बन्छन्। यस्ता थुप्रै केस अहिले मकहाँ आइरहेका छन्।’
डा. पाठकका अनुसार धेरैजसो ‘सर्भाइभर’हरु आफैलाई पिडा दिँदा बढी आनन्दित महसुस गर्न थालेका हुन्छन्। ‘हिंसा सहनुको दोष आफैलाई मानेर आफ्नै शरीरलाई चोट पुर्याउँछन्, उनीहरु। तपाईंलाई एउटा उदाहरण दिऊँ, परामर्शको लागि आएको एउटी पीडित युवतीले त घरमा अरुले देख्छन् भनेर कसैले नदेख्ने गरी अङ्ग समेत काटेकी थिइन्। म आफैँ त्यो सुनेर झस्किएको थिएँ,’ मनोविद् डा. पाठकले सम्झिइन्।
दुर्व्यवहार भएको घटनासँगै पीडितको मनमा पुरानो कुराको चोट पनि बढ्दै जाने रहेछ। मनोविद्का अनुसार पूर्ण रुपमा मानसिक सन्तुलन गुमाउने र पीडा सहन नसकेर आत्महत्या गर्ने पीडितहरु यहाँ धेरै नै छन्।
०००
कतिपय यौन हिंसा भोगेको पीडितहरु लामो समयपछि त्यो घटनाबारे बोल्ने हिम्मत गर्छन्। जस्तो कि, हालैमात्र एक सौन्दर्य प्रतियोगीले ८ वर्षअघि आफूलाई सौन्दर्य प्रतियोगिताका सञ्चालकले गरेको बलात्कारको घटनाको फेहरिस्त सुनाउन सकिन्। त्यसपछि आरोपी अहिले अनुसन्धानका लागि प्रहरी हिरासतमा पनि छन्।
र, यहीबेला एकथरी मान्छेहरु यस्ता पनि भेटिए, जसले उल्टै पीडितलाई दोषी देखाइरहेका छन्। उनीहरु उल्टै प्रश्न गरिरहेका छन्, ‘त्यतिबेलाको घटना यतिबेला किन भनेको? त्यतिबेलै किन भन्न नसकेको?’
'पीडितहरु तत्काल बोल्न नसक्नुमा पनि हाम्रै समाजको दोष देख्छिन्,' मनोविद् डा.पाठक भन्छिन्, ‘हाम्रो समाजमा बोल्नलाई हिम्मतले मात्रै पुग्दैन, यहाँ त बोलिसकेपछि पनि हजारौँ प्रश्न झेल्नपर्ने हुन्छ, अनेक लाञ्छना सहनुपर्ने हुन्छ। त्यहीकारण पनि बोल्न डराइरहेका छन् पीडितहरु।’
समाजले पीडकको पक्ष लिँदा र पीडितलाई प्रश्न गर्दा त्यसले दुर्व्यवहारलाई झन् प्रश्रय मिलिरहेको उनी बताउँछन्। ‘समाजको डरले पीडकलाई सजाय दिन नसक्ने भएपछि हामीकहाँ पीडितहरु परामर्श लिन आउँछन्, ’ उनले भनिन्, ‘अधिकांश त्यस्ता पीडितहरुमा पीडकलाई सजाय दिनुभन्दा पनि बदला लिने भावना जागेको हुन्छ। तर परिवारलाई आफू यौन दुर्व्यवहारमा परेको समेत भन्न उनीहरु सक्दैनन्।’
कपडा र बोली हेरेर केटीको चरित्र निर्धारण हुन्छ, यहाँ। र, कोही दुर्व्यवहारको सिकार भयो भने यही कारण देखाउँदै उल्टै उसैमाथि दोष थोपारिन्छ।
हामी यस्तो समाजमा जन्मिएका छौं, जहाँ छोराले इज्जत कमाउन राम्रो काम गरेर सबैको विश्वास जित्नुपर्ने हुन्छ तर छोरी जन्मिँदै घरको इज्जत भएर जन्मिन्छे। महिलाको शरीर नै समाजको नजरमा उसको इज्जत हुन्छ। त्यहीकारण पनि पीडितले परिवारलाई हिंसामा परेको कुरा सुनाउँदा पनि त्यसलाई ढाकछोप गर्ने गरेको मनोविद् डा.पाठकले देखेकी छिन्।
‘हाम्रो समाज र परीवार सधैँ पीडितमाथि नै औला ठड्याउँछ,’ उनले भनिन्, ‘तँ माथि नै किन यस्तो दुर्व्यवहार भयो, अरु पनि त केटीहरु छन्। आफूले नै संकेत नदिइ कसरी कोही तेरो नजिक जाने हिम्मत गर्छ? जस्ता प्रश्न गर्छन्। यस्ता प्रश्नको बीचमा पीडितले ढिलो हिंसाको बारेमा भन्यो भनेर प्रश्न गर्नु मुर्खता हो।’
मनोविद् डा.पाठक समाजको यस्तो व्यवहारले पीडितहरु खुलेर बोल्न नसक्दा जीवनभर रोगी भएर बाँच्नुपरेको बताउँछिन्। ‘बलात्कार र यौन दुर्व्यवहारको पीडा एकातिर त हुन्छ नै, पीडककै पक्षमा समाज लाग्नाले झन् गहिरो पीडा थपिइन्छ,’ उनले भनिन्, ‘पीडितको आत्मसम्मान घटेर जान्छ र मानसिक र भावनात्मक स्वास्थ्यमा समस्या हुन्छ। मिडियामा मलाई शोषण भयो भन्न सक्नु भनेको धेरै हिम्मत हुनु हो। उनीहरुले जस्तै सबैले आफूमाथि भएको हिंसा भन्न सक्ने हो भने पीडकले फेरि कसैलाई हिंसा गर्नु अघि एकपटक सोच्न बाध्य हुनेछ।’
०००
पछिल्लो समयमा बालिका र किशोरीमाथि यौन दुर्व्यवहार र बलात्कार भएका खबरहरु एकपछि अर्को गर्दै सामाजिक सञ्जालमा आइरहेका छन्। एक जना पीडितले आफ्नो कुरा बाहिर ल्याएर सबैको साथ र सहयोग पाएको देख्दा अन्य पीडितले पनि आफ्ना कुराहरु बाहिर ल्याउने हिम्मत गर्न थालेका छन्।
परीवारबाटै सुरक्षित महसुस गर्न सकिने अवस्था छैन। बालिकाहरु विद्यालय र अन्य सुरक्षित मानिएका स्थानबाटै शोषणमा परेका छन्। शिक्षकहरुले बलात्कार गरेको, आफ्नै बुबा, काका, दाईबाट बलात्कार भएका घटनाहरु पनि बाहिर आउन थालेको छन्। ‘यस्तो बेला यदि पीडकले सजाय पायो भने त्यसले थप अरु पीडितप्रति न्यायको आशा पलाउँछ। उनीहरु पनि आफूमाथि भएको यौन हिंसा बाहिर ल्याउन हिम्मत गर्छन्,’ मनोविद् डा. पाठकले भनिन्।
पीडितमैत्री वातावरण निर्माणमा मिडियाको भूमिका पनि अहम् हुने उनको बुझाई छ। तर, हालै उनले एक सञ्चारकर्मीबाट तितो अनुभव भोगिन्। बलात्कार र यौन दुर्व्यवहारको घटना लगातार बाहिर आइरहेकै क्रममा ती सञ्चारकर्मीले फोन गर्ने बित्तिकै उनलाई पहिलो प्रश्न सोधे- ‘एकाएक बलात्कारको घटना बाहिर आउनुको कारण के हो- यो मिडिया स्मार्ट भएको हो कि रेपिस्ट?’
‘त्यसपछि मैले जवाफ नदिई फोन राखिदिएँ,’ डा. पाठकले सुनाइन्, ‘जनतालाई सचेत बनाउने जिम्मेवारी लिएका सञ्चारकर्मीकै त सोच्ने तरिका तल्लोस्तरको छ भने अरुलाई के कुरामा सचेत बनाउँछन्। साँच्चै भन्नुपर्दा यौन हिंसालाई खबरदारी गर्ने कुरामा मिडियापनि फितलो रुपमा नै प्रस्तुत भइरहेको छ।’
‘कार्यस्थलमै असुरक्षित’
पछिल्लो समय कार्यस्थलमै असुरक्षित महसुस गरेर हिंसा भोगेका महिलाहरु बढिरहेका छन्। अफिसमा सिनियरहरुले विभिन्न प्रलोभन देखाउँदै यौन हिंसा भएका धेरै महिला आफूकहाँ मनोपरामर्शको लागि आउने गरेको डा. पाठकले सुनाइन्।
‘कतिपय पीडितले आफूलाई के-के भयो भन्न यहाँ आएर पनि भन्न सक्दैनन्,’ उनले भनिन्, ‘यहाँ आएर रुन्छन्, शरीर काँपिरहेको हुन्छ, अनि मलाई यस्तो भयो भन्दै आफ्नो मनको पीडा बुझाउन खोज्छन्। खासमा हामीले पीडितको कुरा सुनिदिनुपर्छ। आफ्नो कुरा कसैले ध्यान दिएर सुन्यो र बुझ्न खोज्यो भने पनि उनीहरुलाई धेरै राहत मिल्छ।’
मनोपरामर्श लिन जाने कतिपय यौन दुर्व्यवहार भोगेको एक हप्तामै जान्छन्, कोही १० वर्षपछि गएको अनुभव पनि छ, डा. पाठकसँग।
०००
भनिन्छ, हाम्रो पितृसत्तात्मक सोच र संस्कारले नै महिलामाथिको शोषणलाई टेवा पुर्याइरहेको छ। बच्चादेखिको हुर्काइले नै उसलाई कस्तो मान्छे बनाउने भन्ने कुरा निर्धारण गर्छ। घरमा छोरीलाई आमाले गलत मान्छेबाट बच्नु भनेर सिकाउँछिन्। तर, को मान्छेले कहाँ कसरी गलत गर्छन्, त्यो बालिकालाई सिकाइएको हुँदैन।
कपडा र बोली हेरेर केटीको चरित्र निर्धारण हुन्छ, यहाँ। र, कोही दुर्व्यवहारको सिकार भयो भने यही कारण देखाउँदै उल्टै उसैमाथि दोष थोपारिन्छ। ‘हामी छोरीलाई संस्कारी हुनुपर्छ भनेर त सिकाउँछौ तर छोरालाई सिकाउँदैनौं,’ मनोविद पाठकले भन्छन्, ‘खासमा छोरालाई पनि महिलाको सम्मान र सुरक्षा गर्न सानैदेखि सिकाउनु पर्छ। छोरी मान्छेलाई अप्ठेरो हुनेगरी वा असहज लाग्ने गरी अनुमनिबिना छुनु हुँदैन भनेर घर र विद्यालयबाटै सिकाउनुपर्छ। अनि, महिलाहरुले पनि आफूमाथि भएको दुर्व्यवहार र त्यो घटनाले आफूलाई परेको नराम्रो प्रभावका बारेमा परिवारलाई सुनाउन पर्छ। त्यसपछि आफ्नो आमा, दिदी, श्रीमती, छोरी दुर्व्यवहारको सिकार भएको थाहा पाएपछि पक्कै ती घरका पुरुषहरु अरु महिलामाथि नराम्रो व्यवहार गर्नुअघि एकपटक सोच्छन्।’