काठमाडौं– काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। उनले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग भेटेका हुन्।
भेटका क्रममा शाहले महानगरको काममा सहयोग गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए। जवाफमा देउवाले सरकारले पूर्ण रुपमा सहयोग गर्ने बचन दिएको बताइएको छ। शाहले निर्वाचनमा चमत्कार गरेको भन्दै देउवाले खुसी व्यक्त गर्नुका साथै बधाई पनि दिएका थिए।
‘तपाईंले चमत्कार गर्नुभयो, म खुशी छु। ५ वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ। मलाई २४ सै घण्टा सम्झन सक्नु हुनेछ,’ देउवाले भनेका थिए, ‘महानगरको कार्यपालिकामा पनि कांग्रेसको बहुमत छ। विकासको काममा सहयोग हुनेछ। फोहोर व्यवस्थापनको लागि जे–जे उपाय छ, अपनाउनुहोला। केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सहयोग हुनेछ।’
