सोमबार, असार ८, २०८३

प्रचण्डले फेरि बोले धम्कीको भाषा, रामचन्द्रले दिए तत्कालै जवाफ

स्थानीय तहको निर्वाचन सकिए लगत्तै सत्तारुढ गठबन्धनमा धम्कीका स्वर सुनिन थालेका छन्। खासगरी सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसप्रति सत्ता साझेदार दलहरुले निशाना साँध्न सुरु गरेका छन्।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

काठमाडौं– स्थानीय तहको निर्वाचन सकिए लगत्तै सत्तारुढ गठबन्धनमा धम्कीका स्वर सुनिन थालेका छन्। खासगरी सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसप्रति सत्ता साझेदार दलहरुले निशाना साँध्न सुरु गरेका छन्। 

National life

स्थानीय निर्वाचनमा सत्तारुढ पाँच दलले तालमेल गरेका थिए। चुनावी तालमेल र परिणामप्रति सत्ता साझेदार केही दल असन्तुष्ट देखिँदै आएका छन्। नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी चुनावी परिणामप्रति उति खुसी देखिँदैनन्। तर चुनावी तालमेल सफल भएको दाबी गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  बुधबार नेपाली कांग्रेसप्रति निशाना साँधेका छन्। 

निर्वाचन लगत्तै बाम गठबन्धनको गाइँगुइँ सुरु भइसकेको छ। राजनीतिक बजारमा सुनिन थालेको हल्लालाई बल पुग्ने गरी प्रचण्डले कांग्रेसलाई धम्की दिएका छन्। पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले कांग्रेसलाई अहंकार र दम्भ नगर्न चेतावनी दिए। प्रचण्डले एमालेको जस्तै दम्भ र अहंकार बढाएको खण्डमा ठेगान लगाइदिने चेतावनी कांग्रेसलाई दिएका थिए। 

‘हिजो एमालेसँग हामीले गठबन्धन र पार्टी एउटै बनाउँदा राम्रो उद्देश्य राखेका थियौं। तर, एमालेमा अति धेरै अहंकार र दम्भ आयो। त्यसकारण म कांग्रेसका नेता र पार्टीलाई भन्न चाहन्छु– अहंकार र दम्भले कसैको पनि हित गर्दैन। जनता र राष्ट्रको त हित नै गर्दैन। अहिले कांग्रेसमा पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ। हामीले प्रधानमन्त्री बनायौं। मिहिनेत गरेरै बनाएको हो। देउवा नै प्रधानमन्त्री भइराख्नुस् भन्ने छ। हामीलाई अरू केही छैन,’  प्रचण्डले भने, ‘तर हामी चिन्तित छौं। कांग्रेसमा पनि एमालेमा जस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन, स्थानीयमा पनि धेरै ठाउँमा ठेगान लगाइयो। अब संघ र प्रदेशमा पनि ठेगान लगाउने भन्यो भने भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआओस्।’

कतिपयले प्रचण्डको यो भाषालाई आगामी राजनीतिक कोर्सको पूर्वसंकेतका रुपमा समेत अर्थ्याएका छन्। ०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेससँग तालमेल गरेका प्रचण्ड प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेसँग मिलेका थिए– त्यो पनि कांग्रेससँग संयुक्त सरकार चलाइरहकै बखत। नेपाली राजनीतिमा अस्थिर नेताको छवि बनाएका प्रचण्डले २०७४ सालको पुनरावृति गराउन सक्ने आशंका विश्लेषकहरुले गरेका छन्। त्यसो त स्थानीय तह निर्वाचनको नतिजाले एमालेलाई झस्काइदिएको छ। त्यसकारण आगामी दुईवटा चुनावमा एमाले खुम्चिन चाहँदैन। एमाले नेताहरुले तत्काल बाम गठबन्धनको सम्भावना नरहेको बताउँदै आएका छन्। तर, अध्यक्ष केपी शर्मा ओलीले बेलाबखत वर्तमान गठबन्धन आफूहरुले चाहेका दिन भत्कने बताउँदै आएका छन्।

Shivam cement

राजनीतिक विश्लेषक डा. विष्णु दाहालले प्रचण्डले बुधबार दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै भनेका छन्, ‘ठेगान लगाउने प्रतिस्पर्धाको पहिलो राउन्डको सफलतापछि अब दोस्रो राउन्डको खेल तालिका  छिटै सार्वजनिक हुँदैछ। प्रतीक्षा गर्नु होला!’ तर, कतिपयले भने कांग्रेससँग बार्गेनिङ पावर बढाउन प्रचण्डले धम्कीको भाषा प्रयोग गरेको टिप्पणी गरेका छन्। सत्तारुढ गठबन्धन आगामी कात्तिक अन्तिम वा मंसिर पहिलो साता प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउने तयारीमा छ। त्यसकारण प्रचण्डले अहिलेदेखि नै कांग्रेसलाई धम्कीको भाषा प्रयोग गरेर भागवण्डामा बार्गेनिङ पावर बढाउने रणनीति लिएका हुन सक्छन्।  

प्रचण्डको धम्कीमा कांग्रेसको जवाफ 

कांग्रेसभित्र सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवापछि गठबन्धनको सबैभन्दा बढी वकालत गर्ने नेतामा पर्छन्, रामचन्द्र पौडेल। स्थानीय तहको निर्वाचनमा तालमेलबारे पार्टीमा दुईथरी धारणा व्यक्त हुँदा पौडेल तालमेलको पक्षमा उभिएका थिए। निर्वाचनपछि पनि उनले अहिलेको गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्ने बताउँदै आएका थिए। वर्तमान गठबन्धन निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेका पौडेल प्रचण्डले चेतावनी दिएपछि चुप बस्न सकेनन्।

उनले सामाजिक सञ्जाल मार्फत प्रचण्डलाई तत्कालै जवाफ फर्काएका छन्। उनले देश र जनता बचाउने काम गरिरहेको कांग्रेसले हार व्यहोर्न तयार रहेको बताएका छन्। उनले इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश बचाउने काम गरेको बताउँदै कांग्रेस हार व्यहोर्न तयार रहेको बताएका हुन्। ‘इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ। त्यसैले हामी हार व्यहोर्न तयार छौं। तर राष्ट्र, जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं,’ पौडेलले भनेका छन्।

प्रकाशित: Jun 01, 2022| 17:55 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...