काठमाडौं- टेलिभिजन पत्रकार थिए, सौरभ ढकाल । 'ग्रेट हिमालयन ट्रेल'को एक सय २० दिने यात्रामा निस्किए । १७ सय किलोमिटरको त्यही यात्रा थियो, जसले उनको पत्रकारिताको करिअरलाई विश्राम दिएर नयाँ शैलीको व्यापारी बनाइदियो ।
नयाँ शैली अर्थात् गाउँको तरकारी, फलफूल अनलाइनमार्फत् शहरका चुलोमा पुर्याउने । यात्राका क्रममा उनले देखे, महाभारत पर्वत शृंखलाका बस्तीमा चर्को गरिबी छ र केही गर्ने अवसर पनि त्यहीं छ ।
काठमाडौं फर्केको केही समयपछि नै उनले साथीहरूसँग 'स्टोरी टेलिङ'को 'आइडिया' बताए । र, उनीहरूले 'स्टोरी साइकल'को स्थापना गरे । सोही संस्थाको कार्यक्रम लिएर जुम्लाको सिँजा उपत्यका पुगेका थिए । त्यहाँका किसानहरूले त गाउँको उत्पादन संकलन गर्न थाले, काठमाडौंको बजारमा पुर्याउन ।
अनि शुरु भयो, ग्रिन ग्रोथ अभियान । ग्रिन ग्रोथ अर्थात् गाउँका ताजा अन्न, तरकारी र फलफूल शहर ल्याएर बिक्री गर्ने अभियान । जुम्ला र मुस्ताङमा फलेका स्याउ मात्र होइन, त्यतैका मार्सी चामल, सिमी, ओखर, फापर, चिनो, गहत र भटमास विस्तारै काठमाडौंको बजारमा भित्र्याए ।
इलामको नौनी, सर्लाहीको करियाकामत जातको चामल, सिन्धुलीको जुनार, ओखलढुंगाको लुक्ला सिमी, गाउँमा फलेका गोलभेंडा, काँक्रो, गाँजर, लौका, फर्सी, भान्टा, घिरौंला, हरियो भटमास, आलु, प्याज, अदुवा र लसुन । यी सबैका पक्का व्यापारी बन्ने क्रममा छन्, ढकाल ।
शहरी उपभोक्ताको मन जित्दै किसानका खेतबारीमा फलेका अन्न, फलफूल र तरकारी
उनको साप्ताहिक डालोमा मेवा, केरा, आलु बखाडा, खरबुजा, कटहर, आँप, लिची, स्ट्रबेरी, अम्बा, अंगुर, खुर्सानी, च्याउ, एभोकाडो पाइन्छ, आजकाल । अनलाइनमा किसानलाई अर्डर गर्छन्, अनलाइनबाटै उपभोक्ताको अर्डर लिन्छन् । सार्वजनिक सवारी साधनबाट ल्याउँछन् र मोटरसाइकलमा घर-घर पुर्याइदिन्छन् ।
संकलित सामान सातामा तीन दिन घर-घरमा पुर्याउँछन् । ग्रिन ग्रोथको अनलाइन पोर्टल र फेसबुक पेजबाट ग्राहकले अर्डर गर्छन् । किसानको उत्पादन उपभोक्तासम्म पुर्याउने अभियानको नारा छ, फार्म टु होम ।
गाउँघरमा अझै गोबर मलको प्रयोग व्यापक छ, रासायनिक मल कमै प्रयोग हुन्छ । शहरका उपभोक्ताले बजारमा सुनेजस्तो अर्गानिक उत्पादन खान पाएका छैनन् । ग्रिन ग्रोथको अभियान अर्गानिक कृषि उपज उपभोक्ताको घरमा पुर्याउने नै हो ।

'हामीले क्लबजस्तो बनाएर प्रविधिको प्रयोगमार्फत् स्वच्छ खानेकुरा उपभोक्ताको पहुँचमा पुर्याउन खोजेका हौं,' ढकाल भन्छन् ।
अहिले गाउँघरको उत्पादन बढीमा सदरमुकामका उपभोक्तासम्म पुग्छ या गाउँकै हाट बजारसम्म । किसानले ठूलो बजारमा आफ्नो उत्पादन पुर्याउन पाएका छैनन् ।
सन् २०१६ देखि एक लाख रुपैयाँ लगानीमा शुरु भएको ग्रिन ग्रोथ अभियान अहिले उपत्यकाका चार सय ५० घरसम्म विस्तार भएको छ । तर, यसमा नौ वटा फार्म हाउस जोडिएका छन् । ती हुन्, काभे्रको पातले अर्गानिक फार्म, सिन्धुलीको हिमालयन फार्म, इलामको माङलुङ टी स्टेट, मुस्ताङको एप्पल फार्म, महोत्तरीको लक्ष्मनिया अर्गानिक फार्म र जुम्लाको सिँजा भ्याली ग्रुप ।
शहरका सीमित उपभोक्तामा केन्द्रित व्यवसाय विस्तार गर्दै जाने सोचमा छन्, ढकाल । सानो संख्यामा सही, उपभोक्ताले गाउँको ताजा खानेकुरा पाएका छन् । र, त्यसवापत शहरबाट गाउँमा रकम पुगेको छ ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४